भक्तपुर । नेपाल र भारतका प्रत्यारोपण चिकित्सकहरुको संयुक्त टोलीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण गरेको छ ।
टोलीले सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोमा सफल कलेजो प्रत्यारोपण गरेको हो । महतोलाई उनका ३५ वर्षीय छोरा पंकज महतोले कलेजो दान दिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो केन्द्रमा गरिएको पाँचौं सफल कलेजो प्रत्यारोपण हो ।
महतोको कलेजो प्रत्यारोपणमा ३० जना चिकित्सक तथा नर्सहरुको टोली संलग्न रहेको केन्द्रले जनाएको छ । जसमा नेपाली टोलीको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले गरेका थिए । भारतीय चिकित्सकहरुको नेतृत्व भने नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरको कलेजो विभाग प्रमुख डा. सुवास गुप्ताले गरेका थिए । केन्द्रका अनुसार भारतको टोलीमा पाँचजना प्राविधिकहरुको सहभागिता रहेको थियो ।
नेपाली टोलीमा डा. श्रेष्ठसँगै डा. आरती राई, डा. निरज जोशी, डा. सञ्जय यादव, डा. जयन्तकुमार शाह, डा. नीभा श्रेष्ठ, डा अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोशन घिमिरे, डा. कर्ण राजवंशी, डा. रश्मित श्रेष्ठ र डा. अच्युत खनालको सहभागिता रहेको थियो ।
केन्द्रले २२ मंसिर २०७३ मा पहिलो सफल कलेजो प्रत्यारोपण गरेको थियो । कलेजो दान गर्नेहरुको संख्या नहुँदा केन्द्रमा थप कलेजो प्रत्यारोपण हुन सकिरहेको छैन । जसले गर्दा केन्द्रले अपेक्षाकृत कलेजो प्रत्यारोपण गर्न नसकिएको कार्यकारी निर्देशक डा. श्रेष्ठले सुनाए । साथै केन्द्रसँग कलेजो प्रत्यारोपणतर्फ जनशक्तिसमेत कम रहेको उनको भनाइ थियो तर अहिले केही जनशक्ति पूर्ति भएकाले कम्तीमा महिनाको एउटा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
उनले केन्द्रले हालसम्म ६ सय ८० जनाको मृगौला प्रत्यारोपण गरिसकेको जानकारी दिए । जसमा ९९ प्रतिशत सफलता प्राप्त भएको उनको भनाइ थियो ।
नेपालमा वर्सेनि करिब एक हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ । नेपालमा कलेजो प्रत्यारोपण गर्न करिब २० लाख रुपैयाँमा खर्च हुने गर्दछ । भारत तथा अन्य विकसित देशहरुमा भने कलेजो प्रत्यारोपण गर्दा एककरोडदेखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान बताइन्छ ।
एक अध्ययनका अनुसार नेपालमा करिब आठ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन् ।
‘वर्सेनि १० हजार जनामा कलेजोसम्बन्धी गम्भीर रोग लाग्ने अनुमान गरिन्छ’, उनले भने, ‘अधिक मदिरा सेवनकै कारण नेपालमा कलेजो फेल हुने गरेको छ ।’