Connect with us

HEALTH

सकियो प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन

Published

on

प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन २०१९ को उद्घाटन समारोहका सहभागीहरु । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन २०१९ सम्पन्न भएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इण्डियन प्रत्यारोपण समाजको सहआयोजनामा यहीं बैशाख ७ र ८ गते (अप्रिल २० र २१, २०१९) दुईदिने प्रत्यारोपण सम्मेलन सकिएको हो ।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अंग प्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै आएको बताए ।
अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दोसमेत भएको उनको दावी थियो । राज्यमन्त्री यादवले मृगौला प्रत्यारोपण क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि गर्व गर्नलायक भएको बताए ।
पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले अंग प्रत्यारोपण क्षेत्रमा राज्यले गरेको लगानीअनुरुप प्रतिफल पाइएको बताए ।
सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नवीनत्तम प्रविधि, ज्ञान सीपको आदानप्रदान गर्न सम्मेलन सहयोगी हुने बताए ।
नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको भन्दै सम्मेलनले अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने उनको भनाइ थियो ।
सम्मेलनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रस्तुत कार्यपत्रअनुसार हालसम्म ६ वर्षको अवधिमा मृगौला प्रत्यारोपण ९९ प्रतिशत सफल भएको छ । साथै ६०१ जनाको मिर्गौला प्रत्यारोपण र ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै नेपालमै पहिलोपटक ४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।
कार्यक्रममा इण्डियन प्रत्यारोपण समाजका अध्यक्ष डा. सन्दीप गुलेरिया, वरिष्ठ युरालोजिष्ट प्रा.डा. राकेश वर्मा, मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठलगायतले पछिल्लो समय मृगौलाको रोग बढेको धारणा राखे ।
‘ब्रिजिङ द ग्याप’ भन्ने नारा दिइएको सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञले भाग लिएका थिए । त्यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरु, अंगदाता तथा अंग प्रत्यारोपीहरुको समेत सहभागिता रहेको थियो ।
प्रत्यारोपणसम्बन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका प्रमुख र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको थियो ।


सम्मेलनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा. निरजगोविन्द जोशी र इण्डियन अंग प्रत्यारोपण समाजका अध्यक्ष प्रा.डा. सन्दीप गुलेरियाले अध्यक्षताको भूमिका निर्वाह गरेका थिए ।
सम्मेलनको साइन्टिफिक कमिटीको अध्यक्षमा प्रा.डा. राकेशकुमार वर्मा, हस्पिटालिटी तथा लजिस्टिक कमिटीको अध्यक्षमा डा. कल्पनाकुमारी श्रेष्ठलगायत सो सम्मेलनको सदस्य सचिव डा. सुमित आचार्य तथा सहचिवमा इन्डियन अङ्ग प्रत्यारोपण समाजबाट डा. विवेक कुटे रहेका थिए ।
सम्मेलनका अन्य सदस्यहरुमा प्रा.डा. गुणकुमार श्रेष्ठ, डा. दिलीप शर्मा, प्रा.डा. गोपी अर्याल, प्रा.डा. राजीव झा, डा. दीपेशलाल गुरुवाचार्य, प्रा. डा. विश्वास प्रधान, डा. सुवासप्रसाद आचार्य, डा. यादवदेव भट्ट, डा. मोहनदेव भण्डारी, डा. सुधांशु केसी, डा. विशेष पौडेल, डा. अनिल बराल, डा. आरती राई, डा. कर्ण राजवंशी, डा. निभा श्रेष्ठ, डा. विनिता जोशी, डा. सञ्जीतकृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ लगायतका चिकित्सक रहेका थिए ।
सम्मेलनको पहिलो दिन प्रत्यारोपणसम्बन्धी विशुद्ध प्राविधिक विषयहरुमा छलफल भएको थियो । दोस्रो दिन नेपालको जिल्ला–जिल्लामा मस्तिष्क मृत्युबाट हुने अङ्गदानसम्बन्धी छलफल भएको थियो ।
कार्यक्रमको समापनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालले प्रत्यारोपण क्षेत्रमा प्रगति भइरहेकोमा खुसी व्यक्त गरे ।
उनले प्रत्यारोपण क्षेत्रलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको जानकारी गराए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!