Connect with us

HEALTH

प्रत्यारोपण केन्द्रलाई भक्तपुर अस्पतालको डाइलासिस मेसिन

Avatar

Published

on

भक्तपुर अस्पतालमा रहेको डाइलासिस मेसिनको कागजपत्र हस्तान्तरण गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल । तस्बिर : इन डेप्थ

एक वर्ष स्टोरमा थन्किएको मेसिन प्रयोगमा आउने

भक्तपुर । भक्तपुरकै जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालले सँगै रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई डाइलासिस मेसिन दुई थान हस्तान्तरण गरेको छ ।
करिब एक वर्षअघि इटालीस्थित हनुमान अनलुस नामक संस्थाले दिएको उक्त मेसिन चलाउन नसकिएपछि केन्द्रलाई हस्तान्तरण गरिएको हो । हनुमान अनलुसले गत वर्षको चैत ८ गते भक्तपुर अस्पताललाई उक्त मेसिन हस्तान्तरण गरेको थियो ।
जनशक्ति व्यवस्थापन नभएर एक वर्ष भक्तपुर अस्पतालको स्टोरमा थन्किएको डाइलासिस मेसिन केन्द्रलाई हस्तान्तरण गरिएसँगै सञ्चालनमा आउने पक्का भएको छ ।
भक्तपुर अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई उक्त मेसिनको कागजात हस्तान्तरण गरेका छन् । केन्द्रले बुझिलिनुअघि मेसिनको अवस्था ठीक भए नभएको अध्ययन गरेको थियो । मेसिन सञ्चालनमा ल्याउन सकिने अवस्थाको भएपछि मात्रै उक्त मेसिन बुझ्न केन्द्र तयार भएको हो ।
उक्त मेसिन बुझिलिएपछि केन्द्रमा चालू अवस्थाको डाइलासिस मेसिन ३७ पुग्ने कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुइटा मेसिन थपिएपछि डाइलासिस गराउन लाममा बस्ने बिरामीहरुले चाँडो सेवा पाउने छन् ।
हाल केन्द्रमा करिब चारसय जना मृगौला बिरामी डाइलासिस गराउने प्रतिक्षासूचीमा रहेको उनी बताउँछन् ।
‘केन्द्रमा अहिले करिब चार सय जना मृगौला बिरामी डाइलासिस गराउने प्रतिक्षासूचीमा छन्’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘दैनिक सय जनाको डाइलासिस गराउँदा पनि पालो पर्खनेहरुको सूची लामो छ ।’

विकास समिति सरकारको प्रतिनिधि : दुलाल

कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री दुलालले भक्तपुर अस्पताल जिल्ला नभई प्रदेश अस्पताल भएकाले सोहीअनुसार सेवा सुविधा प्रवाह गर्न निर्देशन दिएका छन् ।
उनले अस्पताल विकास समिति सरकारको प्रतिनिधि भएकाले त्यसलाई नजरअन्दाज नगर्न सचेत गरे ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले विकास समितिमार्फत हस्तक्षेप भएको र राजनीति गरेको गुनासो पोखेपछि मन्त्री दुलालले त्यसको ठाडै प्रतिवाद गर्दै भने, ‘अस्पताल विकास समिति राजनीतिक संस्था होइन । यो सरकारको अझ मन्त्रीको प्रतिनिधि हो । मन्त्री आउँदा हस्तक्षेप नहुने तर विकास समितिको अध्यक्ष आउँदा हस्तक्षेप हुने र राजनीति गरेको हुने हुँदैन ।’
मन्त्री दुलालले भक्तपुरका मिलन सुवाललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेर पठाइसकेका छन् ।
उनले मेसु डा. देवकोटालाई घुमाउरो ढंगले असक्षम भएको आरोप लगाउँदै टीम स्पिरिटमा काम गर्न निर्देशन दिए ।
‘मैले सुनेको छु भक्तपुर अस्पतालमा टीम स्पिरिट छैन । मेसु एक्लैले अस्पताल एकलौटी ढंगले चलाउने खोज्नुभएको छ’, मन्त्री दुलालले भने, ‘एक्लैले चलाउन खोजेर सफलता हात लाग्दैन । टीम वर्क गर्नुहोस् । टीम स्पिरिट देखाउनुहोस् ।’
उनले मेसु डा. देवकोटासँग अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीचको विवादसमेत बाहिर ल्याए । त्यस्तै एउटै सरकारी जग्गामा रहेको भक्तपुर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विवादलाई समेत मन्त्री दुलालले कोट्याए ।
‘म यो कार्यक्रममा नआऊँ जस्तो नि लागेको थियो’, उनले भने, ‘तर भक्तपुर अस्पताल र प्रत्यारोपण केन्द्रबीच मिलापत्र गराउन आवश्यक ठानेर आएँ ।’
मन्त्री दुलालले दुइटै स्वास्थ्य संस्थालाई अस्वस्थ प्रतिस्पर्धा गर्न छाडेर जनताको स्वास्थ्य उपचारमा ध्यान दिन ध्यानाकर्षण गरे ।
उनले मेसु डा. देवकोटालाई कार्य सम्पादन क्षमता बढाउनसमेत सचेत गरे । कार्य सम्पादन क्षमता बढाए अस्पताल विकास र विस्तारका योजना र बजेट व्यवस्था गर्न आफूलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।
‘अस्पतालको कार्य सम्पादन क्षमता बढाउनुहोस् । यो प्रदेश अस्पताल हो, जिल्ला अस्पताल भन्ने भ्रममा नपर्नुहोस्’, मन्त्री दुलालले थपे, ‘कार्य सम्पादन क्षमता बढेन भने कार्यक्रम र बजेटमात्रै मागेर हुँदैन । म ठेक्का लिन सक्दिनँ ।’
कार्यक्रममा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठ र भक्तपुर अस्पतालकी मेसु डा. देवकोटाले भक्तपुर अस्पताल, प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!