Connect with us

HEALTH

स्वास्थ्यमन्त्री र राज्यमन्त्रीद्वारा मरणोपरान्त अंगदान

Published

on

मरणोपरान्त अंगदानपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अंगदान कार्ड वितरण गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले मरणोपरान्त अंगदान गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा पारेर स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले बिहीबार भक्तपुरमा मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका हुन् ।
अंगदान गर्ने घोषणा गरेका उनीहरुलाई वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले अंगदान कार्डसमेत वितरण गरेका छन् । उक्त अवसरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले अंगदान एकले अर्कोलाई जीवन दिनुहुने भएकाले अरु दानसँग यसको तुलनै नहुने बताए ।
उनले आफू मरेर गए पनि अरु आठ जनालाई बचाउन सकिने अंगदान गर्नुको महत्वबारे देशव्यापी अभियान चलाउन आह्वान गरे ।
विश्व मृगौला दिवसको अवसर पारेर भक्तपुरमा आयोजित दसौं प्रत्यारोपण खेलकुदको उद्घाटनसमेत गरेका स्वास्थ्यमन्त्री यादवले भने, ‘मृगौलासम्बन्धी रोग लाग्नै नदिन सबै सचेत हुनुपर्छ । यसको लागि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।’
दिनानुदिन मृगौला रोगी बढिरहेको औंल्याउँदै उनले उपचारको लागि देशका मुख्य मुख्य ठाउँमा मृगौला केन्द्र र विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था गर्न सरकार लागिपरेको सुनाए ।
‘सरकारले डाइलासिस र प्रत्यारोपण निःशुल्क गरेको छ’, स्वास्थ्यमन्त्री यादवले भने, ‘सोहीअनुसार बिरामी बढेको छ तर डाइलासिस गर्ने उपकरणको कमीले बिरामीहरु लाइनमा बस्नुपर्ने बाध्यता छ ।’
स्वास्थ्य राज्यमन्त्री डा. यादवले मृगौला रोग लाग्न नदिन सन्तुलित जीवनशैली र शारीरिक व्यायाम गर्न सुझाव दिए ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उपप्रधान एवं स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले मरणोपरान्त अंगदान गरेर अरु मन्त्री, नेता तथा जनतालाई समेत अंगदान गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
उनले मरेपछि जलेर वा गाडेर नष्ट हुने अंगदान गरेर कम्तीमा अरु आठजनालाई जीवन मिल्ने भएकाले अंगदान गर्न आह्वान गरे ।
‘भोलि तपाईंका आफन्तलाई पनि अंग चाहिनसक्छ त्यसबेला कहाँ खोज्ने ?’, उनले भने, ‘तपाईंले अंगदान गरेर अरुलाई बचाए जस्तै अरुले दिएको अंगले तपाईका आफन्तले जीवन पाउनसक्छन् ।’
कार्यक्रममा वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ र अस्ट्रिेलियाली राजदूत पिटर वर्डलगायतले मृगौला उपचार र यसको कानुनमा नेपाल विश्वमै उदात्त देश भएको धारणा राखे ।
सांसदहरुले मस्तिष्क मृत्युसम्बन्धी कानुन बनाएर अंगदान तथा प्रत्यारोपणमा सहज हुने नेपाल विश्वकै उत्कृष्ट मुलुक भएको उनीहरुको भनाइ थियो ।

उक्त कार्यक्रमअघि भक्तपुरको सूर्यविनायकबाट प्रभातफेरीसमेत आयोजना गरिएको थियो । प्रभातफेरीमा केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी, मृगौला प्रत्यारोपित तथा अंगदानसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी भक्तपुर नगर परिक्रमापछि सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय खेलमैदानमा समापन गरिएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!