Connect with us

HEALTH

ख्वप अस्पतालको जग शिलान्यास : तीन वर्षभित्र निर्माण पूरा गर्ने

Published

on

भक्तपुर नपाले तीन वर्षमा निर्माण सम्पन्न गर्ने ख्वप अस्पतालको भवनको डिजाइन ।

भक्तपुर । भक्तपुर नगरपालिकाको महत्वाकांक्षी ख्वप अस्पताल भवन निर्माणको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्पताल भवनको जग शिलान्यास गरेका हुन् ।
भक्तपुर नपाले तीन वर्षभित्र भवन निर्माण सम्पन्न गरी अस्पताल नै सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सुरु भए ख्वप अस्पताल स्थानीय सरकारले सञ्चालनमा ल्याएको पहिलो अस्पताल बन्ने निश्चित देखिएको छ ।
कूल एक हजार तीनसय ३९ दसमलव २५ वर्गमिटरभित्र तीनवटा ब्लकमा अस्पतालको मुख्य भवन बन्ने नक्सा तयार गरिएको छ ।
धुरीबाहेक पाँच तला हुने उक्त भवन निर्माण गर्न करिब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअनुसार पहिलो चरणमा प्लिन्थ लेभलसम्मको लागि १२ करोड ८६ लाख ६५ हजार तीनसय ३१ रुपैयाँ लाग्ने लगत इस्टिमेट गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उक्त कार्यको लागि नपाले भने १४ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । नपाले अमानतमा अस्पताल निर्माणको काम अघि बढाइरहेको छ ।
प्रमुख प्रजापतिले तीन वर्षअघि नै अस्पताल निर्माण सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको स्पष्ट पारे । पाँच वर्षे अवधिमध्ये जनप्रतिनिधिहरुको म्याद साढे तीन वर्ष बाँकी छ । वर्तमान जनप्रतिनिधिहरुको कार्यकालभित्र ख्वप अस्पताल सञ्चालनमा ल्याउने नपाको तयारी रहेको छ ।
अस्पताल भवन निर्माणलगत्तै तत्काल २५ शय्याको अस्पताल सञ्चालनमा ल्याइने नपाले जनाएको छ । भक्तपुर नपालाई दुई वर्षअघि नै तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयले २५ शय्याको अस्पताल सञ्चालन गर्ने स्वीकृति दिइसकेको छ । तर अस्पताल भवन एकसय शय्या क्षमताको बन्ने भएको छ ।
सरकारले नर्सिङ कलेज चलाएकोले ५० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने नीति ल्याएपछि भक्तपुर नपाले २०६४ सालमै अस्पताल निर्माण प्रक्रिया अघि बढाएको थियो तर सरकारी निकायमा आउने कर्मचारी तथा सरकारकै कारण अस्पताल बनाउन नसकिरहेको थियो । करिब १० वर्षको अथक प्रयासपछि २०७३ सालमा भक्तपुर नपाले २५ शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाएको हो ।
ख्वप अस्पताल भवनको नक्सा भवन तथा सहरी विकास विभागबाट गएको कार्तिक महिनामा पास भएको नपाले जनाएको छ । भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा आकस्मिक सेवासँगै, आईसीयू, शल्यक्रिया विभाग, प्रसूति सेवा विभाग, प्याथोलोजी विभागसँगै अन्तरंग सेवा सञ्चालनमा ल्याइने नपाले जनाएको छ । त्यस्तै नयाँ भवनमा एक्सरे, अल्ट्रासाउन्ड, एमआरआई सेवालगायत अत्याधुनिक सेवा सुरु गरिने भएको छ ।
नपाका अनुसार उक्त भवनमा एकसय पचास जना क्षमताको सभाकक्ष, २२ जना क्षमताको बैठक कक्षसमेत बन्नेछ । शवगृहको समेत व्यवस्था हुने भवनमा करिब ३० वटा गाडी र ५० वटा मोटरसाइकल अट्ने बेसमेन्ट पार्किङ सुविधासमेत हुनेछ ।
भक्तपुर नपाले हाल ८ शय्याको आकस्मिक तथा अवलोकन सेवासहितको जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । त्यस्तै भनपा ५ भगवतीस्थानस्थित वडा कार्यालयमा अर्को जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा सामुदायिक आँखा उपचार केन्द्रसमेत सञ्चालन हुँदै आएको छ ।
नपाद्वारा दुई ठाउँमा सञ्चालित जनस्वास्थ्य केन्द्रमा दैनिक चार सय बिरामीहरु स्वास्थ्य जाँचको लागि आउने गरेको नगर प्रमुख प्रजापतिले सुनाए ।
‘आँखा उपचार केन्द्रमा दैनिक करिब एकसय जनाले आँखा जाँच गराउँछन्’, उनले भने, ‘त्यस्तै दैनिक ५० जनाले आयुवेर्दिक सेवा लिन्छन् ।’
मेयर प्रजापतिले अस्पताल निर्माणको लागि सरकारी तहबाट हालसम्म कुनै सहयोग प्राप्त नभएको सुनाउँदै भक्तपुरका जनताकै बलमा तीन वर्षभित्र अस्पताल निर्माण सम्पन्न गर्ने उद्घोष गरे ।
उनका अनुसार नपाले अर्थ मन्त्रालय, वित्तीय आयोगलगायतमा अस्पतालको लगत इस्टिमेटसहित गुरुयोजना प्रस्तुत गरिएको छ । ‘तर अहिलेसम्म कुनै जानकारी आएको छैन’, मेयर प्रजापतिले भने, ‘अस्पताल बनाउन विदेशी सहयोग पनि छैन ।’

अब भक्तपुर स्वास्थ्य क्षेत्रमा पनि नमुना हुने : बिजुक्छें

अस्पताल भवन शिलान्यास गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले प्रजातन्त्र पुनःस्थापनापछि बनेका अहिलेसम्मका सरकारहरुको पक्षपातकै कारण भक्तपुर नपाले अस्पताल बनाउनुपरेको सुनाए । भक्तपुरका वासिन्दाहरुले भक्तपुर जिल्ला अस्पताललाई राम्रो बनाउन प्रत्येक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।
उनले २०४० सालतिर भक्तपुरमा झाडापखालाको महामारी हुँदा भक्तपुर अस्पतालमा बिरामीलाई उपचार गर्ने ठाउँसमेत नभएको स्मरण गरे ।
‘अस्पताल हुँदाहुँदै पनि भक्तपुरका वासिन्दाले उपचार नपाउँदै मर्नुपर्ने अवस्थाको अन्त्यको लागि ख्वप अस्पताल अवश्यम्भावी बन्यो’, अध्यक्ष बिजुक्छेले भने ।
भक्तपुर अस्पतालको दुरावस्थाले नै नेमकिपाले आशाकाजी बासुकला र जयराम बासुकला जस्ता अथक नेता गुमाउनुपरेको उनले स्मरण गरे ।
नेता बिजुक्छेले भक्तपुुरका सरकारमा जाने दलका नेता तथा कार्यकर्ताहरुकै कारण भक्तपुर अस्पताल अस्पताल बन्न नसकेको जिकिर गरे । भक्तपुर अस्पताल बन्न नदिने तत्वहरुले नै ख्वप विश्वविद्यालयमा बाधा हालेको उनको भनाइ थियो ।
‘भक्तपुर अस्पताललाई सुधार्न भक्तपुर नपाका प्रमुखलाई व्यवस्थापन समितिको अध्यक्ष बनाउन हामीले प्रस्ताव गरेका थियौं । भक्तपुर नपामा नेमकिपाले जितेकाले त्यसको विरोध हुन्छ भन्ने थाहा भएपछि पुनः जिल्ला विकास समितिका सभापतिलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव लग्यौं’, उनले भने, ‘त्यसबेलाका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री तयार भए तर भक्तपुरका तिनका नेता तथा कार्यकर्ताहरु तयार भएनन् । उनीहरुले भक्तपुर अस्पताल राम्रो भएपछि चुनावमा सधैं नेमकिपाले जित्ने भन्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पार्टी कार्यालयको साइनबोर्ड र झण्डा पनि बुझाउन ल्याउने भनी चेतावनी दिए । आफ्ना नेता तथा कार्यकर्ताले नै नमान्ने भएपछि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पछि हटे ।’
अध्यक्ष बिजुक्छेले अस्पताल सञ्चालनमा आएपछि शिक्षा क्षेत्रमा जस्तै गुणस्तरीय स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुना बन्ने विश्वास व्यक्त गरे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!