Connect with us

HEALTH

७७ प्रतिशत एचआईभी संक्रमणको कारक असुरक्षित यौन सम्पर्क

Avatar

Published

on

अन्तर्राष्ट्रिय कन्डम दिवसबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्बिरहरु : ईश्वरकाजी खाइजू

काठमाडौं । नेपालमा असुरक्षित यौन सम्पर्ककै कारण ७७ प्रतिशतलाई एचआईभी सर्ने गरेको छ ।
विश्व कन्डम दिवसको अवसरमा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । विश्वभरमा फेब्रुअरी १३ तारिखमा विश्व अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउँदै आएको छ ।
सोही सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले कन्डमको प्रयोगविनै यौन सम्पर्क गर्ने गरेका कारण ७७ प्रतिशतमा एचआईभी सरेको जानकारी दिए ।
उनले कन्डमको प्रयोग बढाउन नसकिँदा एचआईभी संक्रमणलाई न्यूनीकरण गर्न नसकिएको बताए ।
‘परिवार नियोजनका साधन प्रयोग गर्ने ४३ प्रतिशतमध्ये आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेका छन्’, निर्देशक डा. पोखरेलले भने, ‘जबकि कन्डम प्रयोग गर्न, बोक्न धेरै सहज छ । यसले एचआईभी सर्नेमात्रै होइन, अनिच्छित गर्भसमेत रहँदैन ।’
उनले कन्डमको प्रयोगकै कारण सुईमार्फत लागूऔषध प्रयोगकर्ताहरुमा हुने एचआईभी संक्रमणलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिएको दावी गरे ।
‘सन् २००२ सम्म सुईमार्फत लागूऔषध प्रयोगकर्ताहरुमध्ये ६८ प्रतिशतमा एचआईभी संक्रमण हुने गरेको थियो’, निर्देशक डा. पोखरेलले भने, ‘कन्डमकै प्रयोगको कारण सन् २०१७ मा यो ८.५ प्रतिशतमा झार्न सफल भएका छौं ।’
स्वास्थ्य मन्त्रालयले आफ्ना सबैजसो स्वास्थ्यसम्बन्धी कार्यक्रममा कन्डमको प्रयोगबारे जनचेतना फैलाउँदा पनि एचआईभी संक्रमण न्यूनीकरणमा सफलता हात नलागेको उनको भनाइ थियो ।
उनले कन्डमको प्रयोगले नेपालमा मातृ मृत्युदर न्यूनीकरणमा उल्लेखनीय सुधार आएकोसमेत दावी गरे ।
त्यस्तै एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपाल राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउने तयारी भइरहेको जानकारी दिए ।


उनका अनुसार कास्की, बागलुङ, नवलपुर, पर्सा, रुपन्देही, कपिलवस्तु, बाँके, धादिङलगायतका जिल्लामा निःशुल्क एचआईभी परीक्षण हुनेछन् । यी सबै जिल्लामा हुने कार्यक्रममा निःशुल्क कन्डम वितरण हुने उनले बताए ।
त्यस्तै सेती अञ्चल अस्पताल कैलाली, डोटी जिल्ला अस्पताल डोटी, लुम्बिनी अञ्चल अस्पताल रुपन्देही, भेरी अञ्चल अस्पताल बाँके, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, र टेकु अस्पताल काठमाडौंमा समेत सरोकारवाला निकायसँग अन्तरक्रियालगायतका कार्यक्रम हुने राष्ट्रिय कार्यक्रम व्यवस्थापक ढुंगेलले जानकारी दिए ।
कार्यक्रममा एनएपीएनका अध्यक्ष राजेश दिदियाले एचआईभी संक्रमणदर नियन्त्रण गर्न कन्डमको प्रयोग अति आवश्यक भएको बताए ।


‘एचआईभी संक्रमितलाई अन्य संक्रमण रोक्न र संक्रमितबाट थप संक्रमित हुन नदिन कन्डमको प्रयोग अपरिहार्य छ’, उनले भने, ‘त्यसैले एनएपीएनले ७४ जिल्लामा समुदायमा आधारित संघसंस्थामार्फत निःशुल्क रुपमा कन्डम वितरण तथा कन्डमको महत्व र यसको सही प्रयोगबारे जनचेतना फैलाउँदै आएको छ ।’


राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेका छन् । त्यसमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरु बढी संक्रमित छन् । नेपालका वयस्क जनसंख्यामा एचआईभीको व्याप्ततादर ०.१५ प्रतिशत रहेको छ ।
त्यस्तै गत वर्ष एचआईभीकै कारण एक हजार तीन सय ६ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!