Connect with us

HEALTH

भक्तपुर क्यान्सर अस्पतालको पहिलो न्यूरो अप्रेसन नै सफल

Published

on

अप्रेसनमार्फत टाउकोमा रहेको ट्युमर झिकिएकी बिरामीको स्वास्थ्य अवस्था बुझ्दै न्यूरो सर्जन डा. राजीव शाहलगायत । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालले स्नायु शल्यक्रिया (न्यूरो अप्रेसन) सुरु गरेको छ । न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वको टोलीले बुधबार अस्पतालकै पहिलो न्यूरो अप्रेसन गरेको हो ।
अस्पतालले ३५ वर्षीया महिलाको टाउकोको अप्रेसन गरी सर्भाइकल स्पाइनल ट्युमर निकालेको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए ।
अहिले बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन् । मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठका अनुसार बिरामी एक महिनाअघि टाउकोमा ट्युमरको पोको लिएर अस्पतालको बहिरंग सेवामा आएकी थिइन् ।
अप्रेसन गरेर करिब ३० ग्रामको ट्युमर निकाल्न सफल भएको न्यूरो सर्जन डा. शाहले जानकारी दिए । करिब चार घन्टा लगाएर अप्रेसन गरिएकी बिरामीको अवस्था सामान्य रहेको उनी बताउँछन् ।
‘न्यूरो अप्रेसन सफल भएको छ’, उनले भने, ‘बिरामीको अवस्था सामान्य छ ।’
उनका अनुसार उक्त ट्युमर निकाल्न ढिलो भएको भए बिरामीलाई पक्षघात (प्यारालाइसिस) हुनसक्थ्यो । उनको ट्युमर हातखुट्टा र मुखसँग सम्बन्धित मेरुदण्डकै स्नायुको भित्रसम्म पुगेको उनको भनाइ थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले अस्पतालमा न्युरो सर्जरी सुरु भएसँगै अस्पताल पुग्ने न्यूरोसम्बन्धी बिरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
उनका अनुसार अस्पतालमा महिनामा करिब १५ जना ब्रेन ट्युमर तथा न्यूरोका बिरामी आउँछन् ।
‘अब न्यूरोका बिरामीहरुलाई अन्यत्र रिफर गर्न नपर्ने भएको छ’, उनले भने, ‘अब न्यूरो सर्जरीलाई निरन्तरता दिन्छौं ।’
यसअघि माघ २ गते अस्पतालले नेपालमै अत्यन्त जटिल मानिने फोक्सोको क्यान्सरको सफल शल्यक्रिया गरेको छ । वरिष्ठ मुटु, फोक्सो तथा रक्तनलीसम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारीको नेतृत्वको टोलीले ६५ वर्षीय एक पुरुष बिरामीको बायाँ फोक्सो पुरै काटेर झिक्ने जस्तो जटिल शल्यक्रिया गरेको थियो । हाल उक्त बिरामीको स्वास्थ्य पनि सामान्य भई अस्पतालबाट डिस्चार्ज भइसकेको मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले जानकारी दिए ।

उनले अस्पतालमा कलेजोको क्यान्सरको उपचार एवं अप्रेसनसमेत चाँडै सुरु गर्ने तयारी गरिएको बताए । अस्पतालमा कलेजो तथा पित्तथैलीका क्यान्सरका बिरामीहरुको संख्या बढिरहेकाले उक्त सेवा चाँडै सुरु गर्ने तयारी गरिएको उनी बताउँछन् ।
उनले अस्पतालमा गैरक्यान्सरसम्बन्धी रोगको शल्यक्रियासमेत सुरु गरिएको जानकारी दिए । उनका अनुसार क्यान्सर अप्रेसनलाई बाधा नपर्ने गरी दिउँसो ३ बजेपछि हर्निया, हाइड्रोसिल, अपेन्डिसाइटिस, पित्तथैलीको पत्थरीलगायतको अप्रेसन सुरु गरिएको हो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!