Connect with us

HEALTH

सुडालमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन बन्ने

Published

on

स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मिश्रेटारस्थित सुडाल सुडाल स्वास्थ्य चौकीको बर्थिङ सेन्टरसहितको नयाँ भवन बन्ने भएको छ । ब्रिटिस रेडक्रसको भ्याटसहित एक करोड ५६ लाख ७१ हजार एकसय ९ रुपैयाँको आर्थिक सहयोगमा उक्त भवन बन्ने भएको हो ।
उक्त भवनको आइतबार एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
उक्त भवन निर्माणको लागि चाँगुनारायण नपाले चार रोपनी पर्ती जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा आठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सांग दोर्जे निर्माण सेवा प्रालिले ठेक्का हात पारेको छ । ठेक्का सम्झौताअनुसार जून २०१९ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।
भवन भूकम्प प्रतिरोधी एवं अपांगमैत्री हुने नेपाल रेडक्रस सोसाइटी भक्तपुरका जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिए ।

एक अस्पताल र २६ स्वास्थ्य चौकी हस्तान्तरण

कार्यक्रममा रेडक्रसका केन्द्रीय अध्यक्ष थापाले भूकम्प अति प्रभावित १४ जिल्लामा मध्ये रेडक्रसले सिन्धुपाल्चोकमा १४ र काभ्रेमा १२ वटा स्वास्थ्य चौकी पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।
त्यस्तै रसुवा जिल्लामा चिकित्सकको क्वार्टरसहितको जिल्ला अस्पताल भवन निर्माण गरिसकेको उनले बताए ।
‘काठमाडौं उपत्यकाका तीन जिल्लामा भने एकएक वटा स्वास्थ्य चौकी बनाउँदैछौं’, अध्यक्ष थापाले भने, ‘काठमाडौंमा शनिबार शिलान्यास भयो । भक्तपुरमा आज गर्दैछौं । ललितपुरमा छिट्टै शिलान्यास हुँदैछ ।’
उनले रेडक्रसले भूकम्प अति प्रभावित १४ जिल्लामा सात हजार निजी आवास निर्माण गरिरहेकोसमेत जानकारी दिए । जसमध्ये ९० प्रतिशत घर बनिसकेको उनको भनाइ थियो । अध्यक्ष थापाले बाँकी १० प्रतिशत पनि सन् २०१८ भित्र पूरा गरी भूकम्प पीडितलाई हस्तान्तरण गरी सकिने दावी गरे ।
कार्यक्रममा जिसस भक्तपुरका प्रमुख गेलाल, चाँगुनारायण नपाका प्रमुख मिश्र, चाँगुनारायण नपा वडा नं ८ का अध्यक्ष परासर सापकोटा, ब्रिटिस रेडक्रसका प्रतिनिधि दीपक भट्टलगायतले सुडालमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी सञ्चालनमा आएपछि यहाँको आर्थिक विकासमा सघाउ पुग्ने बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!