Connect with us

HEALTH

स्तन क्यान्सरबारे एकमहिने जनचेतनामूलक कार्यक्रम हुने

Avatar

Published

on

अक्टोबर महिनाभर मनाइने स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा अक्टोबर महिनाभर निःशुल्क स्तन परीक्षण हुने भएको छ । अंग्रेजी अक्टोबर महिनालाई विश्वमै स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने महिना मानिन्छ । सोहीअनुसार अस्पतालमा अक्टोबर एक महिना निःशुल्क स्तन परीक्षण हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पताल व्यवस्थापन गर्दै आएको नेपाल अर्बुदरोग निवारण संस्थाले बुधबार पत्रकार सम्मेलन गरी असोज २७ गते राजधानीमा स्तन क्यान्सर जनचेतना ¥याली गर्नेलगायतका एकमहिने कार्यक्रम रहेको बताएको हो ।
संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले असोज ३१ गते भक्तपुरको सूर्यविनायकस्थित घ्याम्पे डाँडामा गुलाबी रंगका चंगा उडाएर आकाशलाई गुलाबी बनाउने कार्यक्रम रहेको जानकारी दिए ।
‘यी दुवै कार्यक्रममा चिकित्सक एवं स्वास्थ्यकर्मी, कलाकार, गायकगायिका, समाजसेवी, जनप्रतिनिधि, क्यान्सर पीडितलगायतको उपस्थिति हुनेछ’, उनले भने ।
कार्यक्रममा वरिष्ठ गायिका तारा थापाले आफूलाई स्तन क्यान्सर भएको धेरैपछि मात्रै थाहा भएको सुनाइन् ।
‘राजधानीमै बसेका हामी शिक्षित महिलालाई स्तन क्यान्सर भएको ढिलो थाहा हुन्छ भने दुर्गमका महिलालाई कहिले जानकारी हुने होला ?’, उनले प्रश्न गरे ।
चार वर्षअघि दोस्रो चरणको स्तन क्यान्सरको उपचार गराइसकेकी उनले सुरुमा स्तनमा सानो गिर्खा आएको महसुस भएको महिनादिनपछि मात्रै परीक्षणको लागि अस्पताल पुग्न सकेको बताइन् ।
‘धेरै व्यस्तताबीच शंका लागेको महिनादिनपछि स्तन परीक्षण गराउँदा दोस्रो चरणको क्यान्सर भएको पत्ता लाग्यो’, गायिका थापाले भनिन्, ‘तर अरु महिलाको मेरोजस्तो नहोस् । शंका लाग्नेबित्तिकै क्यान्सर परीक्षण गराइहाल्नुहोस् ।’
त्यस्तै वरिष्ठ कलाकार सुनिल थापाले पनि क्यान्सरलाई उपेक्षा नगर्न आग्रह गर्दै स्तन क्यान्सरबारे छोटो चलचित्र निर्माण गर्ने जानकारी दिए ।
उनले सकेसम्म अक्टोबर महिनाभित्रै उक्त चलचित्र सार्वजनिक गर्नेसमेत बताए ।
भारतीय चलचित्र खेल्ने क्रममा मुम्बईमा रहँदा क्यान्सर उपचार गराउन आउने नेपालीले धेरै दुःख भोग्नुपरेको र आफूले सक्दो सहयोग गरेको सुनाउँदै कलाकार थापाले जनचेतना फैलाउने कार्यमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेपालमा महिलालाई हुने पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो स्थानमा छ । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर चिकित्सक डा. उत्सवमान श्रेष्ठले स्तन क्यान्सरबारे महिलाहरुमा चेतना आए पनि अझै अपुग भएको बताए ।
उनले स्तन क्यान्सरको अन्तिम चरणमा मात्रै महिलाहरु अस्पतालमा परीक्षण गर्न आउने क्रम नघटेको सुनाए ।
उनले अस्पतालमा स्तन क्यान्सरका बिरामीहरुको संख्या बढिरहेको जानकारी दिए ।
‘पहिले स्तन क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै महिलाहरु अस्पतालमा परीक्षण गर्न आउँथे’, उनले भने, ‘अहिले दोस्रो र तेस्रो चरणसम्मका बिरामी आउन थालेका छन् ।’
अर्का क्यान्सर चिकित्सक डा. रोशन प्रजापतिले जनचेतनाकै कमीले अझै क्यान्सरको सुरुको अवस्थामा आउने बिरामीहरु धेरै न्यून रहेको बताए ।
सुरुकै अवस्थामा आउँदा धेरै कम खर्चमा क्यान्सर पुनः नफर्कने गरी उपचार गर्न सकिने उनी बताउँछन् ।
‘तेस्रो र अन्तिम चरणमा उपचारमा पुग्ने महिलाहरुको संख्या घटाएर पहिलो र दोस्रो चरणमै उपचारको पहुँचमा पु¥याउन सकिए धेरै महिलाहरुलाई स्तन गुमाउनबाट बचाउन सकिन्छ’, डा. प्रजापतिले भने ।
अस्पतालका अध्यक्ष श्रेष्ठले काठमाडौं र भक्तपुरसँगै नेपाल अर्बुदरोग निवारण संस्था भएका ४४ वटा जिल्लामा समेत स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुने स्पष्ट पारे ।
सन् २०१७ मा भक्तपुर क्यान्सर अस्पतालमा तीनसय ३७ जना महिलाको स्तन क्यान्सरको उपचार गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!