Connect with us

BUSINESS

पानी बेच्न छाडेर व्यवसायीहरु सडकमा

Avatar

Published

on

पटके करविरुद्ध व्यवसायीले सडकमा उतारेका पानी बोकेका गाडी ।

ईश्वरकाजी खाइजू
भक्तपुर । आफूहरुलाई जानकारी नै नदिई प्रशोधित पानीको निकासी करको नाउँमा पटके कर लिएकोविरुद्ध भक्तपुरका पानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्नो उद्योगबाट उत्पादित जारको पानी भरिएको गाडी सडकमा तेस्र्याएर पटके करको विरोध गरेका हुन् । पानीजस्तो अत्यावश्यकीय वस्तुमा पटके कर लगाउनु अन्याय भएको व्यवसायीहरुको आरोप लगाएका छन् ।
भक्तपुरको चाँगुनारायण नपाले साउन १ गतेदेखि आफ्नो नपा क्षेत्रमा सञ्चालित पानी उद्योगबाट बजारमा जाने पानीको कर उठाउने व्यवस्था गरेको थियो । उक्त पटके कर उठाउन नपाले ८० लाख एघार हजार रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो ।
आफूहरुले उक्त ठेक्का स्वीकृत नगर्न ध्यानाकर्षण गर्दा पनि चाँगुनारायण नपाले ठेकेदारलाई पानीको पटके कर उठाउन दिएपछि नेपाल बोटल खानेपानी उद्योग एसोसियसन भक्तपुरको अगुवाइमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
चाँगुनारायण नपाले शुद्धपानी रहेको एकजारको प्रतिलिटर पाँच पैसा र एकलिटर बोटलमा प्रतिबोटल दस पैसा कर उठाउने गरी ठेक्का दिएपछि पानी व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।
एसोसियसन भक्तपुरका संयोजक राम सुवालले आफूहरुले नपालाई एकमुष्ट कर तिर्ने बताउँदा पनि नपाले सडकमा ढाट राखेर कर उठाउन दिएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य भएको जानकारी दिए ।
उनले नपाले ठेक्काबाट कर उठाउने निर्णय फिर्ता नलिएसम्म आफ्नो उत्पादन बजारमा नजाने सुनाए ।
‘हामीले कर तिर्दैनौं भनेका छैनौं’, अध्यक्ष सुवालले भने, ‘तर सडकमा हाम्रा गाडी लाइन राखेर कुनै ठेकेदारलाई कर बुझाउँदैनौं ।’
पानी उद्योगहरु बन्द गर्ने नियतसाथ नगरपालिकाले कर लगाएपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ थियो । नभए पानीमा कर लगाउनुअघि व्यवसायीहरुसँग एकपटक सल्लाह गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नपालाई कर नै चाहिएको भए उद्योगलाई पत्र काटेर लाग्ने कर बुझाउन भनेको भए व्यवसायीहरु स्थानीय सरकारलाई कर तिर्न तयार रहेको बताए ।
पानी कर उठाउन सूचना निकालेपछि पटकपटक चाँगुनारायण नपामा गई ध्यानाकर्षण तथा ज्ञापनपत्र दिँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर व्यवसायीहरु आन्दोलनमा उत्रेको एसोसियसनको भनाइ रहेको छ ।
भक्तपुर जिल्लामा सबैभन्दा बढी पानी उद्योग चाँगुनारायण नपामा छन् । यहाँ १३ वटा पानी उद्योग सञ्चालनमा रहेको नेपाल बोटल पानी उद्योग एसोसियसनका केन्द्रीय अध्यक्ष सुवास भण्डारीले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका १३ वटा पानी उद्योगमा करिब ६० करोड रुपैयाँ लगानी भएको छ । त्यस्तै पाँचसय मजदुर तथा कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । भक्तपुरको पानी भक्तपुरसँगै काठमाडौं, ललितपुर र काभ्रेसम्म विक्री वितरण हुँदै आएको छ ।
निजी खानेपानी उद्योगको योगदानलाई वेवास्ता गरेर चाँगुनारायण नपाले एकतर्फी ठेक्का लगाएर पटके कर उठाउन लगाएको एसोसियसनकै विरोध रहेको केन्द्रीय अध्यक्ष भण्डारी बताउँछन् ।
‘अन्त कतै पनि प्रशोधित पानीमा पटके कर लगाइएको छैन’, उनले भने, ‘तर भक्तपुरको चाँगुनारायण नपामा कसरी कर लिइयो हामी आश्चर्यमा परेका छौं ।’
उनले सबै ठाउँमा व्यवसायीहरुले सम्बन्धित सरकारी निकाय एवं कार्यालयमा एकमुष्ट कर तिर्दै आएकोले चाँगुनारायण नपामा पनि त्यस्तो व्यवस्था नभए केन्द्रीय तहमै आन्दोलन गरिने चेतावनी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!