Connect with us

BUSINESS

आफ्नै उद्योगले कर छलेको भन्दै संस्थापक अध्यक्षले नै दिए उजुरी

Published

on

भक्तपुर नपा २ सानो व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको शिव बाबा टेक्सटाइल प्रालि । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर औद्योगिक क्षेत्रस्थित शिव बाबा टेक्सटाइल प्रालिले सरकारलाई तिर्नुपर्ने आयकर, लाभांश कर र भ्याट छलेको भन्दै उद्योगका संस्थापक अध्यक्षले नै आन्तरिक राजस्व कार्यालय भक्तपुर र राजस्व अनुसन्धान विभागमा उजुरी दर्ता गरेका छन् ।
उद्योगका संस्थापक अध्यक्ष हरिराम कोन्डाले शिव बाबा टेक्सटाइलले आयकर, लाभांश कर र भ्याटलगायत ८० लाख ४८ हजार ३ सय ३९ रुपैयाँ छलेको भन्दै उजुरी दर्ता गरेका हुन् ।
उक्त उजुरीमा शिव बाबा टेक्सटाइलले ४९ लाख २९ हजार ५ सय ४० रुपैयाँ आयकर, ३० लाख ४३ हजार ७ सय ९९ रुपैयाँ भ्याट र ७५ हजार रुपैयाँ लाभांश कर छलेको दावी गरिएको छ ।
संस्थापक अध्यक्ष कोन्डाले सरकारलाई दिनुपर्ने आयकर, लाभांश कर तथा भ्याटसँगै उनलाई दिनुपर्ने ७५ लाख ४० हजार ७४ रुपैयाँ उद्योगले अपचलन गरेको आरोप लगाएका छन् ।
उनले आर्थिक वर्ष २०७१÷७२ मा २ लाख ४४ हजारमात्रै करअघिको मुनाफा देखाएर उद्योगले गोप्य रुपमा १७ लाख १० हजार रुपैयाँ लाभांश बाँडेको उजुरीमा उल्लेख गरेका छन् । जुन लाभांशको कर सरकारलाई नबुझाएको उजुरीकर्ता कोण्डाले जिकिर गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७२÷७३ को आर्थिक प्रतिवेदनमा २१ लाख २८ हजारको मात्रै भ्याट बिलबाट उत्पादन बिक्री भएको देखाए पनि बैंकमा ७६ लाख १ हजार रुपैयाँ उत्पादन बिक्रीबाट जम्मा भएको देखाएको सञ्चालक कोण्डाले जानकारी दिए ।
‘आर्थिक वर्ष २०७४÷७५ मा पनि आर्थिक प्रतिवेदनमा १४ लाख ८३ हजारको मात्रै भ्याट बिलबाट सामान बिक्री भएको देखाएर बैंकमा ६१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको देखिएबाट भ्याट छलेको सुस्पष्ट हुन्छ’, उनले भने, ‘आर्थिक वर्ष २०७३÷७४ मा कूल लगानी ६५ लाख ३१ हजार ८ सय १७ रुपैयाँमा ६६ लाख ७४ हजार ६ सय १ रुपैयाँ स्थिर सम्पत्ति थप्दा पनि उद्योगले कूल लगानी ६५ लाख ६३ हजार ९ सय ४५ मात्रै देखाएर आयकर छलि गरेको छ ।’
तर आन्तरिक राजस्व कार्यालय भक्तपुरमा अनुसन्धान अधिकृत फेरिँदा उक्त उजुरी छिनोफानोमा ढिलाइ भइरहेको छ । गएको दुई वर्षमा ३ जना अनुसन्धान अधिकृत फेरिँदा अनुसन्धान प्रभावित भएको हो ।
साझेदार कोण्डाले २०७५ साल चैत ४ गते मुद्दा दर्ता गरेदेखि हालसम्म ३ जना अनुसन्धान अधिकृतको सरुवा भइसकेको छ । त्यस्तै मुद्दा दर्ता गरिँदाका कार्यालय प्रमुख सूर्यप्रसाद पोखरेल फेरिएर आन्तरिक राजस्व कार्यालय भक्तपुरमा नयाँ प्रमुख आइसकेका छन् । नयाँ कार्यालय प्रमुखको रुपमा गगनबहादुर विक आएकै वर्षदिन पूरा भइसकेको छ । उक्त मुद्दा अनुसन्धान गर्ने तीनजना अधिकृतहरु क्रमशः अनिमेष सुवेदी, प्रभा ढुंगाना र उत्तरकुमार रेग्मीको सरुवा भइसकेको छ । हाल उक्त मुद्दाको अनुसन्धान अधिकृत राजकुमार पोखरेलको नेतृत्वमा भइरहेको कार्यालयले जनाएको छ ।
अनुसन्धान अधिकृतले मुद्दाको सम्बन्धमा आवश्यक कागजपत्र मगाउने र पक्ष–विपक्ष दुवैसँग बयान लिने कार्य गरेका थिए । अनुसन्धान अधिकृत फेरिएसँगै हरेकपटक दोहोराईतेहेराई कागजात माग्ने र बयान लिने कार्यमात्रै हुने गरेको दुवै पक्षको गुनासो छ ।
उनीहरुले आन्तरिक राजस्व कार्यालयमात्रै धाउँदाधाउँदा आफूहरुले अरु काम नै गर्न नपाएको भन्दै आक्रोश पोखे ।
‘अनुसन्धान अधिकृत फेरिएकै कारण हामीले दोहो-याई तेहेराई कागजात र बयानमात्रै दिन जाने ? हाम्रो अरु काम छैन, हुँदैन ?’, उनीहरुको प्रश्न थियो ।
उजुरी दर्ता गर्ने हरिरामले मुद्दा टुंग्याउन ढिलाइ गर्नुमा कर्मचारीहरुको स्वार्थ रहेको हो कि भनी प्रश्नसमेत गरे । नत्र मुद्दा दर्ता भएको दुई वर्षसम्म केही प्रगति नहुनु आशंकाको विषय भएको उनको भनाइ थियो ।
उनले अप्रत्यक्ष रुपमा उद्योग सञ्चालकहरुसँग आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुको मिलेमतो भएको हो कि भनी आशंका व्यक्त गरे ।
उद्योगका अध्यक्ष हरिगोपालले भने उद्योगमाथि लगाइएको आरोप वाहियात र निराधार रहेको दावी गरे ।
आफूहरुलाई दुःख दिने नियतले उद्योगकै सञ्चालक रहेका हरिरामले मिथ्या आरोप लगाएको उनको जिकिर थियो । हरिराम उद्योग अध्यक्ष हरिगोपालका सहोदर दाजुसमेत हुन् ।
‘उद्योगले कर र भ्याट छल्यो भनी लगाएको आरोप वाहियात हो’, अध्यक्ष हरिगोपालले भने, ‘हामीलाई दुःख दिने नियतले मिथ्या आरोपमा मुद्दा दर्ता गरिएको हो ।’
उनले आन्तरिक राजस्व कार्यालयमा उद्योगको तर्फबाट सबै प्रमाण पेश गर्दा पनि मुद्दा टुंग्याउन ढिलाइ गरेकोमा आपत्ति जनाए ।
कार्यालयले मुद्दा छिन्न बिलम्ब गर्दा र कार्यालयमा पटकपटक बोलाउँदा आफूले उद्योगमा समय नै दिन नसकेको भन्दै उनले आक्रोश पोखे ।

यता आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख विकले अझै मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको र अनुसन्धान प्रक्रिया निश्चित रुपमा लामो हुने बताए ।
करदाताहरुको विवरण गोप्य राख्ने कार्यालयको नीतिअनुसार सबै कुरा भन्न नमिल्ने भन्दै उनी पन्छिए ।
‘बयान लिइरहेका छौं । ब्यालेन्स सिट भेरिफाइ गरिरहेका छौं’, प्रमुख विकले थपे, ‘नाफा लुकाएको भन्ने मुद्दा भएकाले राष्ट्र बैंकमा सबै एकाउन्ट खोजी गरी पाउन पत्राचार भएको छ ।’
उनले अनुसन्धान ५/६ महिना लम्बिने जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!