Connect with us

BUSINESS

भक्तपुरमै गुणस्तर तथा नापतौल कार्यालय खोल्न माग

Published

on

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरद्वारा आयोजित अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्री । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरका उद्योगी व्यवसायीहरुले जिल्लामै गुणस्तर तथा नापतौल कार्यालय स्थापना गर्न माग गरेका छन् । गुणस्तर तथा नापतौलको काम लिन काठमाडौंसम्म धाउनुपर्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको भन्दै उनीहरुले भक्तपुरमै कार्यालय स्थापना गर्न माग गरेका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा यहाँका उद्योगी व्यवसायीहरुले ढकतराजु बोकेर काठमाडौंसम्म धाउनुपर्दा एकातिर उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने र अर्कोतिर सेवाग्राहीको चापले पटकपटक काठमाडांै धाउनुपर्ने बाध्यता रहेको सुनाए ।
त्यसैले भक्तपुर र यसभन्दा पूर्वी जिल्लाका उद्योगी व्यवसायीहरुको सुविधाको लागि भक्तपुरमै नापतौलको कार्यालय स्थापना गर्न उनीहरुले जोड दिए ।
जिल्लाका उद्योगी व्यवसायीहरुको गुनासो सुन्दै गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका प्रमुख मनिषकुमार दासले कार्यालयमा जनशक्ति अभाव रहेको स्पष्टीकरण दिए ।
उनले आफ्नो कार्यालयमा स्वीकृत दरबन्दी २० जना रहे पनि अहिले १७ जनाको मात्रै पूर्ति भएको बताए ।
त्यसमाथि कार्यालय क्षेत्रसमेत साँघुरो रहेको प्रमुख दासको स्पष्टोक्ति थियो ।
उक्त कार्यालयले बागमती प्रदेशमा रहेका ९ वटा जिल्ला हेर्नुपर्ने र त्यसमाथि कार्यालयले ट्याक्सी मिटर जाँच इकाईको समेत कार्य गर्दै आएको छ ।
प्रमुख दासले उद्योगी व्यवसायीहरुको मागअनुसार नापतौलको डोर जिल्लाजिल्लामा खटाउँदै आएको जानकारी दिँदै त्यहीं डोरलाई निरन्तरता दिनेतर्फ जोड दिइने बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीले विभागले एकसय ३१ वटा खाद्य उत्पादनको न्यूनत्तम गुणस्तर निर्धारण गरिएको जानकारी दिए ।
उनका अनुसार दूध तथा दुग्धजन्यतर्फ २४, तेलजन्यतर्फ १०, फलफूल तथा तरकारीजन्यतर्फ १८ र मसलाजन्य उत्पादनतर्फ २२ वटा उत्पादनको अनिवार्य न्यूनत्तम गुणस्तर निर्धारण गरिएको छ ।
चिया तथा कफीतर्फ ३, नूनतर्फ २, अन्नबाली र दलहनतर्फ २७, पानी समूहतर्फ २, गुलियो पदार्थतर्फ ३, मिठाई चकलेटतर्फ ३ मद्यमानतर्फ ५ र अन्य उत्पादनतर्फ ५ वटा उत्पादनको पनि अनिवार्य न्यूनत्तम गुणस्तर निर्धारण गरिएको उनले बताए ।
त्यस्तै पशुपंक्षीको दानातर्फ ८ वटाको अनिवार्य न्यूनत्तम गणस्तर निर्धारण गरिएको उनको भनाइ छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत खत्रीले विभागले वाइन र बियरको समेत अनिवार्य न्यूनत्तम गुणस्तर निर्धारण गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले महको नेपाल गुणस्तर कायम गर्न लागिएकोसमेत स्पष्ट पारे ।
कार्यक्रममा जिल्लाका घरेलु तथा साना उद्योगी व्यवसायीहरुले सरकारले घरेलु तथा साना एवं लघु उद्योगलाई उपेक्षा गर्दै आएको भन्दै आक्रोश पोखे ।
नेपालको कूल गार्हस्थ उत्पादनमा घरेलु तथा साना एवं लघु उद्योगले १७ प्रतिशत योगदान गर्दा पनि सरकारले यसको उत्थान र सम्बद्र्धनमा ध्यान नदिएको उनीहरुको गुनासो थियो ।
उनीहरुका अनुसार देशको कूल गार्हस्थ उत्पादनमा ठूला उद्योगले जम्मा ७ प्रतिशत योगदान दिएको छ । जबकि साना, घरेलु तथा लघु उद्योगले १७ प्रतिशत योगदान दिँदै आएको छ । अझै आधा घरेलु तथा साना एवं लघु उद्योग सरकारको तथ्यांकमा समावेश नभएको उनीहरु बताउँछन् ।
विदेशमा जस्तै नेपाल सरकारले लघु, घरेलु तथा साना उद्योगलाई सहयोग गरे यसैबाट आर्थिक विकास र पर्याप्त रोजगारी सिर्जना गर्न सकिनेमा उनीहरुले जोड दिए ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोधकुमार साहले जिल्लाका उद्योगी व्यवसायीहरुबाट माग भएबमोजिम गुणस्तर तथा नापतौल र खाद्यान्न उत्पादन र त्यसको गुणस्तरसँगै सरकारी कार्यालयहरुमा भोग्नुपर्ने सास्तीको निराकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।
उनले मुलुक संघीयतामा गएसँगै उद्योग व्यवसायको क्षेत्रमा धेरै अन्योल देखिएकाले त्यसको निराकरण गर्नसमेत जिल्लाका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरिएको बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर मझौला व्यवसायी संघ, भक्तपुर चेम्बर अफ कमर्स, ग्रिल तथा स्टिल व्यवसायी संघ, खाद्य तथा किराना व्यवसायी संघ, भक्तपुर जुजु धौ व्यवसायी संघलगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!