Connect with us

BUSINESS

व्यवसायीको निर्णयले रोकिएन इँटा उत्पादन

Published

on

चाँगुनारायण नपा ९ ताथलीमा इँटा तयार गर्दै मजदुर । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । कोरोना भाइरस संक्रमण महामारीबीच नै भक्तपुरमा धमाधम काँचो इँटा उत्पादन गरिएको छ । भक्तपुरका इँटा उद्योगीहरुले यस वर्ष इँटा उत्पादन नगर्ने निर्णय गर्दागर्दै पनि यहाँ काँचो इँटा उत्पादन रोकिएन ।
भक्तपुरको भक्तपुर नपा १० वन्ती र चाँगुनारायण नपा वडा नं. ३, ५, ८ र ९ मा विभिन्न जिल्लाबाट आएका मजदुरहरुले काँचो इँटा तयार गरिरहेका छन् ।
भक्तपुरमा ६२ वटा इँटाभट्टा रहेका छन् । जसमध्ये सबैभन्दा बढी चाँगुनारायण नपामा ५० वटाभन्दा बढी इँटाभट्टा रहेका छन् । त्यसैले इँटा उद्योगी व्यवसायी र चाँगुनारायण नपाले यस वर्ष इँटाभट्टा सञ्चालन नगर्ने सहमतिसमेत गरेका थिए तर उक्त सहमतिविपरीत चाँगुनारायण नपाकै धेरै ठाउँमा अहिले इँटा तयार भइरहेको छ ।
भक्तपुरभन्दा बाहिर सिन्धुली, रामेछाप, सर्लाहीका मजदुर ल्याएर इँटा उत्पादन भइरहेको उद्योगी व्यवसायीहरु बताउँछन् । यसअघि पश्चिम नेपालको रुकुम, रोल्पा, दाङदेखिका मजदुरहरु भक्तपुरमा इँटा पार्न आउने गरेका थिए । त्यस्तै भारतबाट इँटाभट्टीमा काम गर्ने पत्थरीहरु आउँथे । यसरी भारत र नेपालकै पूर्व–पश्चिमका हजारौं व्यक्ति भक्तपुर ल्याउँदा कोरोना भाइरस संक्रमण फैलिने उच्च सम्भावना रहन्छ । त्यसैलाई दृष्टिगत गरी यहाँका इँटा उद्योगी व्यवसायीहरुले यस वर्ष इँटाभट्टा नै सञ्चालन नगर्ने निर्णय लिएका थिए तर काँचो इँटामात्रै उत्पादन गर्ने ठेकेदारहरुले उक्त निर्णयविपरीत बाहिरी जिल्लाबाट मजदुर झिकाएर अहिले धमाधम इँटा उत्पादन गरिरहेका छन् ।
भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले कोरोना भाइरस संक्रमण फैलिनसक्ने भएकाले इँटा तयार नगर्न आग्रह गर्दा पनि ती ठेकेदारहरुले नसुनेको बताए ।
उनका अनुसार एउटा इँटाभट्टामा करिब ३ सय मजदुरहरुले काम गर्छन् । जिल्लाका ६२ वटै इँटाभट्टा सञ्चालन भए भक्तपुरमा करिब २ लाख मजदुर बाहिरबाट ल्याउनुपर्ने हुन्छ ।
जिल्ला बाहिरबाट करिब २ लाख मजदुर ल्याउँदा कोरोना भाइरस संक्रमण हुनसक्ने कारण नै आफूहरुले यस वर्ष इँटाभट्टा सञ्चालन नगर्ने निर्णय गरेको उनले स्पष्ट पारे ।
‘तैपनि काँचो इँटा तयार गर्ने ठेकेदारहरुले मानेनन्’, अध्यक्ष ह्योम्बाले भने ।
उनका अनुसार यसरी तयार गरिएको काँचो इँटा काठमाडौं, ललितपुर र काभ्रेका इँटा उद्योगले किन्ने गरेका छन् ।
संघले यसवर्ष इँटाभट्टा सञ्चालन नगर्ने निर्णय गरे पनि उसकै एक सदस्य इँटाभट्टाले जिल्ला बाहिरबाट मजदुर झिकाएर काँचो इँटा उत्पादन गरिरहेको छ ।
चाँगुनारायण नपा ३ झौखेलस्थित संघकै सदस्य इँटाभट्टाले इँटा उत्पादन गरिरहेको हो । अध्यक्ष ह्योम्बाले उक्त इँटाभट्टाका सञ्चालकलाई पटकपटक इँटा उत्पादन नगर्न निर्देशन दिँदा पनि अटेरी गरेको बताए । धेरै वर्ष संघको सदस्य नबनेको उक्त इँटाभट्टा गर्त वर्षमात्रै संघमा आवद्ध भएको थियो ।
उनले यसवर्ष सञ्चालित इँटाभट्टाबाट कोरोना भाइरस संक्रमण फैलिए सोही उद्योगी व्यवसायी जिम्मेवार हुनेसमेत स्पष्ट पारे ।
त्यस्तै चाँगुनारायण नपाले उद्योगी व्यवसायीहरुसँग भएको सहमतिअनुसार नगर क्षेत्रमा कुनै पनि किसिमको इँटाभट्टा सञ्चालन नगर्न सूचना जारी गरेको थियो तर नपाको उक्त सूचनालाई वेवास्ता गर्दै चाँगुनारायण नपा क्षेत्रमै सबैभन्दा बढी इँटा उत्पादन भइरहेको छ ।
चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्रले नपाको सूचनाविपरीत इँटा उत्पादन तथा भट्टा सञ्चालन गर्नेहरुलाई कारबाही गरिने जानकारी दिए ।
नगर क्षेत्रमा इँटा उत्पादन भइरहेको जानकारी आएलगत्तै सम्बन्धित व्यवसायी तथा व्यक्तिलाई इँटा उत्पादन गर्ने कार्य नगर्न निर्देशन दिइएको उनले बताए ।
‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न यसवर्ष इँटाभट्टा सञ्चालन गर्न पाइँदैन भनेका छौं’, मेयर मिश्रले भने, ‘त्यसैले इँटा उत्पादन गर्न पाइँदैन । इँटाभट्टा चलाउन पाइँदैन ।’
तर नपाले सूचना जारी गरेको महिना दिन हुँदा पनि इँटा उत्पादन रोकिएको छैन । सुरुमा केही ठाउँमा फाट्टाफुट्ट इँटा उत्पादन भएको थियो तर त्यसलाई नरोक्दा अहिले अन्यत्रसमेत इँटा उत्पादन गरिएको उद्योगी व्यवसायीहरु बताउँछन् ।
‘नपाले इँटा उत्पादन नगर्न भनेकाले रोकियो होला भन्ने सोचेका थियौं’, मेयर मिश्रले थपे, ‘अहिलेसम्म रोकिएको छैन भने अब कानुनी कारबाहीतर्फ अघि बढ्छौं ।’
उनले इँटा उत्पादन गर्न प्रयोग भएका उपकरण तथा मेसिनलगायत जफत गरिनेसमेत बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!