Connect with us

BUSINESS

सबै निजी क्षेत्रलाई एक ठाउँमा आउन आह्वान

Published

on

भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित बधाईज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले सबै निजी क्षेत्रको एउटै ध्येय हुनुपर्नेमा जोड दिएका छन् ।
निजी क्षेत्र विभाजित हुँदै आउँदा सरकारले समेत खेल्ने ठाउँ पाइराखेको भन्दै उनले सबै निजी क्षेत्रको एउटै ध्येय हुनुपर्ने स्पष्ट पारेका हुन् ।
महासंघको ५४ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको लागि भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाईज्ञापन कार्यक्रममा अध्यक्ष गोल्छाले उक्त कुरा बताएका हुन् ।
‘सबै निजी क्षेत्रको एउटै ध्येय र आवाज हुनुपर्छ’, उनले भने, ‘केन्द्रदेखि जिल्ला नगर संघसम्मले एउटै आवाज बोल्न सक्नुपर्छ । नत्र राज्यले फुटाएर र राज गरिरहन्छ ।’
उनले विज्ञहरुसँग बसेर महासंघको भिजन पेपर (ध्येयपत्र) बनाइरहेको जानकारी दिए । अबको सय दिनमा उक्त भिजन पेपर तयार गरी सार्वजनिक गर्ने उनले सुनाए ।
उक्त भिजन पेपरलाई सबै निजी क्षेत्रको सामूहिक र साझा बनाउन चेम्बर र निर्माण व्यवसायी महासंघसँग आफूले कुरा गरिरहेको अध्यक्ष गोल्छाले स्पष्ट पारे ।

‘सबै निजी क्षेत्रको एउटै ध्येय र आवाज हुनुपर्छ । केन्द्रदेखि जिल्ला नगर संघसम्मले एउटै आवाज बोल्न सक्नुपर्छ । नत्र राज्यले फुटाएर र राज गरिरहन्छ ।’


‘सबैको साझा भिजन पेपर बनाउन सक्यौं भने हाम्रो आवाज अझ सशक्त हुन्छ’, उनले थपे, ‘जसले गर्दा सरकारलाई हाम्रो आवाज सुन्न गम्भीर बनाउँछ ।’
अध्यक्ष गोल्छाले महासंघको निर्वाचनको क्रममा छुट्टाछुट्टै प्यानल बनाएर अघि बढे पनि निर्वाचित कार्यसमिति निजी क्षेत्रको समस्या सम्बोधन गर्न एकमत रहेको स्पष्ट पारे ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ बाट सिर्जित समस्या समाधान गर्न सबै उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
कोभिड १९ पीडित उद्योगी व्यवसायीलाई सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजे पनि ठूला उद्योगी व्यवसायीमात्रै लाभान्वित हुने देखिएको उनको भनाइ थियो ।
‘तर मौद्रिक नीतिले साना तथा मझौला उद्योगी व्यवसायीलाई राहत पुग्न सकेको छैन’, अध्यक्ष गोल्छाले भने, ‘महासंघको प्राथमिकता पनि साना तथा मझौला व्यवसायीलाई राहत उपलब्ध गराउनेतर्फ रहेको छ ।’
उनले कृषिलाई व्यवसायिक बनाउँदै साना तथा मझौला उद्योग व्यवसायमा लगानी बढाउन सकिए नेपालको आर्थिक विकासदर दुई अंकमा पु-याउन सकिने जिकिर गरे ।
यसले नेपालमा तत्काल ३ देखि ४ लाख नयाँ रोजगारीसमेत सिर्जना हुने अध्यक्ष गोल्छाको दावी थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै उद्योग व्यवसाय प्रवद्र्धन र रोजगारी अभिवृद्धि हुने स्पष्ट पारे ।
जिल्ला नगर उद्योग वाणिज्य संघतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यको द्वैध नीतिले उद्योग व्यवसाय गर्ने अवस्था जटिल रहेको सुनाए । उनले उपभोक्ता ऐन पुनर्लेखन गर्नसमेत माग गरे ।
वस्तुगत संघ तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले लगानी सुरक्षित गर्न र उद्योग व्यवसाय प्रवद्र्धन गर्न महासंघको वर्तमान नेतृत्व प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट नवनिर्वाचित महासंघका पदाधिकारीहरुलाई नेवारी परम्पराअनुसार टाउकोमा बेताली (सेतो कपडा) बेरेर अयला (रक्सी) र अन्डाको सगुन दिएर बधाई ज्ञापन गरिएको थियो ।
भक्तपुरको बाराहीस्थानस्थित होटल हेरिटेजस्थित वत्स मण्डला हलमा भएको कार्यक्रममा भक्तपुरमा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई पनि नेवारी परम्पराअनुसार नै सगुन दिएर स्वागत गरिएको थियो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, पूर्वअध्यक्ष कृष्णप्रसाद ताम्राकार र वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले नवनिर्वाचित महासंघ पदाधिकारीहरुलाई बधाईज्ञापन गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!