Connect with us

BUSINESS

तिहारमा बत्ती जाँदैन : प्रमुख रमण

Avatar

Published

on

भक्तपुर नपा १ दूधपाटीस्थित नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र ।

लक्ष्मीपूजाको दिनमात्रै भक्तपुरमा १५ मेगावाट विद्युत खपत हुने

भक्तपुर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । यमपञ्चकसमेत मानिने तिहार फूलैफूलको पर्व हा । त्यस्तै तिहार झिलिमिली बत्तीको पनि पर्व हो । तिहारको तेस्रो दिन लक्ष्मीपूजामा सबैले आआफ्नो घरघरमा झिलिमिली बत्ती बाल्ने गर्दछन् ।
नेपालमा लोडसेडिङको अन्त्यसँगै घरघरमा झिलिमिली बत्ती बाल्ने क्रम बढेको छ । त्यसैले तिहारमा विद्युतको खपतमा ह्वात्तै बढ्ने गर्दछ । अरु सामान्य दिनभन्दा तिहारमा बढी विद्युत खपत हुँदै आएको नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख राजकुमार रमणले भक्तपुरमा सामान्य दिनभन्दा तिहारमा करिब १० देखि १२ प्रतिशत बढी विद्युत खपत हुँदै आएको बताए ।
उनले तिहारमा पनि अरु दिनभन्दा लक्ष्मीपूजाको दिन बढी विद्युत खपत हुँदै आएको जानकारी दिए । वर्सेनि लक्ष्मीपूजाको दिन खपत हुने विद्युतको परिमाण बढ्दै आएको प्रमुख रमणको भनाइ थियो ।
‘२०७५ सालमा तिहारको लक्ष्मीपूजाको दिन १२.८ मेगावाट विद्युत खपत भएको थियो’, उनले भने, ‘यो बढेर २०७६ सालको लक्ष्मीपूजामा १३.६५ मेगावाट पुग्यो ।’
यस वर्षको लक्ष्मीपूजाको दिन भने १५ मेगावाटसम्म विद्युत खपट हुने अनुमान गरिएको उनले स्पष्ट पारे ।
केन्द्र प्रमुख रमणले तिहारमा काबुबाहिरको अवस्थामा बाहेक भक्तपुरमा बत्ती नजाने दावी गरे । त्यसको लागि भक्तपुर केन्द्रले आवश्यक व्यवस्था गरिसकिएको उनको भनाइ थियो ।
उनले भार थेग्न नसकिएर बत्ती गइरहेका क्षेत्रका दुई दर्जनभन्दा बढी ट्रान्स्फर्मर फेरिएको जानकारी दिए ।
‘काबुबाहिरको अवस्थामा बाहेक तिहारको बेला भक्तपुरमा मात्रै होइन देशैभर बत्ती जाँदैन’, प्रमुख रमणले भने, ‘भक्तपुरमा भार थेग्न नसकेका दुई दर्जन ट्रान्स्फर्मर फेरिएको छ । अरु समस्या पनि तिहारअघि नै समाधान गरिसकिएको छ ।’
उनले मागभन्दा बढी विद्युत रहेकाले लोडसेडिङ हुने कुनै सम्भावना नभएको जिकिर गरे ।
‘विद्युत आवश्यकताभन्दा बढी छ’, प्रमुख रमणले भने, ‘हामी बढी खपत गर्ने ग्राहकहरुको खोजी गरिरहेका छौं ।’
उनले तिहारमा विद्युत जान नदिन केन्द्रको संयोजनमा ५ वटा नोलाइट टोली २४ सै घन्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उनका अनुसार केन्द्रको संयोजनमा खरिपाटी, सूर्यविनायक, नलिञ्चोक, झौखेललगायतमा नोलाइट टोली तयारी अवस्थामा राखिएका छन् ।
नोलाइटमा फोन नउठे आफैलाई सीधै सम्पर्क गर्न प्रमुख रमणले आग्रह गरेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!