भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ दिनसम्म विभिन्न कार्यक्रम गरेर आफ्नो २४ औं स्थापना दिवस मनाउने भएको छ । २०५५ साल कार्तिक १९ गते स्थापना भएको संस्थाले बुधबार खुला रक्तदान, बिहीबार ज्येष्ठ नागरिकहरुलाई पोषण वितरण र शुक्रबार कोरोना भाइरस संक्रमण भएका संस्थाका सदस्यहरुलाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको हो ।
संस्थाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले उक्त जानकारी दिएका हुन् ।
उनले विश्वव्यापी महामारीको कारण रगत अभाव देखिएकोले संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान गर्न लागेको बताए ।
अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि संस्थाका ज्येष्ठ सदस्यहरुलाई पोषणयुक्त आहारा वितरण गरिने उनको भनाइ थियो । उनका अनुसार पोषण आहारमा च्यावनप्रास, हर्लिक्स र सुगर फ्री बिस्कुट वितरण गरिनेछ ।
त्यस्तै गएको वर्षको चैतदेखि हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका संस्थाका सदस्यहरुलाई राहतस्वरुप पानी तताउने जग, हट वाटर ब्याग र हर्लिक्स राहतस्वरुप वितरण गरिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।
उनका अनुसार संस्थाले घरघरमै गएर उक्त राहत सामग्री वितरण गर्नेछ । त्यसको लागि संक्रमित भएका शेयर सदस्यहरुलाई संस्थामा जानकारी गराउने उनले आह्वान गरे ।
पत्रकार भेटघाटमा जानकारी दिइएअनुसार हालसम्म संस्थामा ७ हजार ४ सय ६८ शेयर सदस्य पुगेका छन् । त्यस्तै एकहजार २ सय ५५ बाल बचतकर्ता पुगेका छन् । शेयर सदस्यहरुबाट ९ करोड ९४ लाख २९ हजार ५ सय रुपैयाँ रकम जम्मा भएको छ ।
त्यस्तै २ अर्ब २२ करोड ६२ लाख ७८ हजार ८ सय १६ रुपैयाँ बचत संकलन भएको संस्थाका जगन्नाथ प्रजापतिले जानकारी दिए । उनका अनुसार कार्तिक १७ गतेसम्म संस्थाको कारोबार २ अर्ब ५६ करोड ३९ लाख ६५ हजार ७ सय ५५ रुपैयाँ रहेको छ ।
संस्थाबाट २ अर्ब ७ करोड ६६ लाख १५ हजार ९६ रुपैयाँ लगानी रहेको बताइएको छ । त्यस्तै १६ करोड ७१ लाख १६ हजार ३ सय ९७ रुपैयाँ जगेडा र अन्य कोष रहेको कार्यक्रममा जानकारी दिइयो ।
संस्थाले कोरोना भाइरस संक्रमणको कारण निम्तिएको अवस्थालाई ध्यान राखेर २०७७ पुससम्म नियमित बचतमा जरिवाना छुट दिएको छ । ऋणमा ७ प्रतिशत तथा जरिवाना छुटको समेत व्यवस्था गरेको संस्थाका अध्यक्ष प्रजापतिले जानकारी दिए ।
‘लकडाउन अवधिभर भाखा नाघेको ऋणको विनाशुल्क थप चार महिना भाखा थपको व्यवस्था गरेका छौं’, उनले भने, ‘पुनर्कर्जाको पनि व्यवस्था मिलाएका छौं ।’