Connect with us

BUSINESS

भदौ ३ देखि भक्तपुरबाट चल्ने सार्वजनिक यातायात बन्द

Published

on

भक्तपुर । भक्तपुर भई काठमाडौं र ललितपुर पुग्ने सम्पूर्ण सार्वजनिक यातायातका साधन भदौ १५ सम्म बन्द हुने भएको छ । सार्वजनिक यातायात व्यवसायीहरुले भक्तपुर जिल्लाभित्र चल्ने गाडीसमेत रोक्ने भएका हुन् ।
जिल्लाका यातायात व्यवसायीहरुको उपस्थितिमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको बैठकले बुधबारदेखि भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रमुख प्रजापतिसँग भक्तपुर मिनिबस सेवा समितिको निजी संस्था ख्वप भक्तपुर मिनिबस यातायात प्रालि र मध्य उपत्यका बस व्यवसायी संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ । संक्रमण समुदायस्तरमा फैलिन नदिन सार्वजनिक यातायातका सवारीसाधन बन्द गर्न आफूहरु सहमत भएको व्यवसायीहरुले बताएका छन् ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रालिका अध्यक्ष रामकाजी भुजूले बुधबारले भदौ १५ गतेसम्म भक्तपुर जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सम्पूर्ण गाडी बन्द हुने जानकारी दिए ।
उनले सरकारको निर्णयानुसार आफूहरुले कोरोना भाइरस संक्रमणको जोखिमबीच गाडीहरु सञ्चालनमा ल्याएको बताए ।
तर सार्वजनिक गाडीकै कारण संक्रमण फैलिने सम्भावना भएकाले सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न आफूहरु तयार भएको उनको भनाइ थियो ।
तत्कालीन भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधानले व्यवसायीहरुले घाटा हुँदाहुँदै सर्वसाधारणलाई सेवा दिन कोरोना भाइरस महामारीकै बीच गाडी सञ्चालनमा ल्याएको बताए ।
व्यवसायी, चालक र सहचालकलाई समेत जोखिममा राखेर आफूहरुमात्रै महामारीबीच गाडी चलाउने पक्षमा नरहेको भनाइ थियो ।
‘सरकारको निर्णयानुसार सार्वजनिक यातायातका साधन चलाएका हौं’, अध्यक्ष प्रधानले भने, ‘कोरोना भाइरसको महामारीबीच जोखिम मोलेर गाडी चलाउनु बुद्धिमानी होइन ।’
व्यवसायीहरुका अनुसार सरकारले सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरे पनि भक्तपुरका व्यवसायीहरुका सबै गाडी चल्न सकेका थिएनन् । भक्तपुर मिनिबसका मात्रै करिब तीनसय वटा गाडी छन् । जसमध्ये मुस्किलले एकसयवटा चल्न सकेको समितिले जनाएको छ ।
सुरुमा एकसय वटा चले पनि सरकारले जोरबिजोर नियम लागू गरेपछि घटेर ६० वटामा पुगेको प्रालि अध्यक्ष भुजूले बताए । कोरोना महामारीमा घाटा सँगसँगै संक्रमणको जोखिम मोल्नुभन्दा सार्वजनिक यातायातका साधन बन्द हुनु राम्रो भएको यातायात व्यवसायीहरु बताउँछन् ।
भक्तपुरमा ख्वप भक्तपुरसँगै मध्य उपत्यका बस व्यवसायी संघका गाडीहरु चल्छन् । यी दुइटा व्यवसायिक समूहका गाडीहरु भक्तपुर जिल्लाभित्रसँगै काठमाडौंको बागबजार एवं पुरानो बसपार्क, गोंगबु बसपार्क र कलंकी तथा ललितपुरको लगनखेल बसपार्क रुटमा चल्छन् ।
भक्तपुरमा सोमबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या एकसय ५५ जना पुगेको छ । जसमध्ये ५७ जना कोरोना भाइरसलाई जितेर घर फर्केको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!