Connect with us

BUSINESS

कोरोना कहर : भक्तपुरको पर्यटन क्षेत्रको सवा ३ अर्ब जोखिममा

Published

on

लकडाउनले बन्द ह्याण्डिक्र्याफ्ट पसल सफा गर्दै पर्यटन व्यवसायी । तस्बिर : इन डेप्थ

भक्तपुर । विश्वव्यापी कोरोना भाइरसको महामारीको कारण नेपाल गएको चैत ९ गतेदेखि लकडाउनमा रहेको छ । लकडाउनका कारण भक्तपुरका होटल तथा रेस्टुरेन्टसँगै यहाँका क्युरियो पसल बन्द छन् । लकडाउन लम्बिँदा यहाँका पर्यटन व्यवसायीहरुको घाटा चुलिँदै आएको छ ।
लकडाउनले होटल तथा रेस्टुरेन्ट बन्द छन् तर व्यवसायीलाई आफ्ना कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिनुपर्ने बोझ रहेको छ । आर्थिक भार बढेसँगै भक्तपुरका आधा दर्जन होटल तथा गेस्ट हाउस बन्द भएका छन् ।
भक्तपुरमा मात्रै करिब ६० वटा होटल तथा गेस्टहाउस रहेका छन् । ती होटल तथा गेस्ट हाउसमा करिब ६ सय जना मजदुर तथा कर्मचारी रहेको भक्तपुर पर्यटन विकास समितिले जनाएको छ । त्यस्तै २० वटा पर्यटक लक्षित रेस्टुरेन्ट र ८५ वटा क्युरियो पसल रहेका छन् ।
समितिका अध्यक्ष रामसुन्दर भेलेले ६० वटा होटल तथा गेस्ट हाउस, २० वटा रेस्टुरेन्ट र ८५ वटा क्युरियो पसलमा करिब सवा तीन अर्ब लगानी रहेको जानकारी दिए । जुन लगानी कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण जोखिममा परेको छ ।
‘तत्काल लकडाउन खुल्ने अवस्था छैन । लकडाउन खुले पनि होटल तथा रेस्टुरेन्ट र क्युरियो पसल खुल्ने अवस्था छैन’, अध्यक्ष भेलेले भने, ‘त्यसैले भक्तपुरको पर्यटन क्षेत्रमा भएको करिब सवा तीन अर्बको लगानी जोखिममा पर्न गएको छ ।’
उनले लकडाउन खुले पनि पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा पुग्न करिब तीन वर्ष लाग्ने दावी गरे । भक्तपुरको होटल तथा गेस्टहाउसलगायत आन्तरिक पर्यटनमा आधारित नभएकाले तीन वर्ष नभई पहिलेको अवस्थामा आउन नसकिने उनले स्पष्ट पारे ।
अहिले होटल तथा रेस्टुरेन्ट बन्द भए पनि यहाँका व्यवसायीहरुले आफ्ना मजदुर तथा कर्मचारीलाई पारिश्रमिक दिन भने छोडेका छैनन् । अधिकांशले बैशाखसम्मको पूरा पारिश्रमिक दिएको यहाँका पर्यटन व्यवसायीहरुले बताएका छन् । साना व्यवसायीले मात्रै बैशाखको पारिश्रमिक दिन सकेका छैनन् ।
उल्टै साना व्यवसायीहरु विस्थापित हुने अवस्था आएको समितिका महासचिव दीपेशराज शर्मा बताउँछन् । सिंगो घर भाडामा लिएर होटल तथा गेस्ट हाउस सञ्चालन गरिरहेका व्यवसायीहरुले व्यवसाय नै बन्द गरेकोे उनको भनाइ थियो ।
‘लकडाउन लम्बिएसँगै घर भाडा लिएर होटल तथा गेस्ट हाउस सञ्चालन गर्दै आएका आधा दर्जनले व्यवसाय नै बन्द गरेको जानकारीमा आएको छ’, महासचिव शर्माले भने, ‘रेस्टुरेन्ट बन्द गर्ने व्यवसायीहरु पनि बढेका छन् ।’
समितिको तथ्यांकअनुसार भक्तपुरमा रहेका करिब ६० वटा होटलमध्ये १८ वटा होटल तथा गेस्ट हाउस घर भाडामा लिएर सञ्चालन आएका थिए । जसमध्ये आधा दर्जन होटल तथा गेस्ट हाउस लकडाउनको कारण बन्द भएको उनले सुनाए ।
यही अवस्थाले लकडाउन बढे कर्मचारी तथा मजदुरहरुलाई जेठ महिनाका पारिश्रमिक दिन आफूहरुलाई हम्मेहम्मे हुने पर्यटन व्यवसायीहरु बताउँछन् । उनीहरु बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न पनि अहिले समस्या भइरहेको बताउँछन् । अहिले लकडाउन भएकाले किस्ता र ब्याज तिर्न ढिलो भएकाले मात्रै मजदुर तथा कर्मचारीलाई पारिश्रमिक दिन सकिने अवस्था रहेको उनीहरुको भनाइ थियो ।
त्यसैले पर्यटन क्षेत्रलाई जोगाइराख्न सरकारले व्यवसायीको किस्ता तथा ब्याज मिनाहा गरिदिनुपर्ने उनीहरुको माग रहेको छ ।
‘बैंकको ऋणको म्याद पनि बढाइदिनुपर्छ’, व्यवसायीहरु भन्छन्, ‘किस्ता र ब्याजमा मात्रै सरकारले सहुलियत र अनुदान दिए थप केही वर्ष ठेग्न सकिन्छ ।’
उनीहरुले स्थानीय तहलाई दिनुपर्ने व्यवसाय कर तथा केन्द्र सरकारलाई दिनुपर्ने आयकरमा पनि छुट दिनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!