Connect with us

BUSINESS

लकडाउनको मारमा रेडिमेड व्यापारी

Published

on

मक्किएर पाप्रा उप्किएको जुत्ता देखाउँदै भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनमा यहाँका रेडिमेड लत्ताकपडा तथा जुत्ताका व्यापारीले अहिलेसम्म दुई करोडको नोक्सानी व्यहोरेका छन् । लकडाउनको कारण पसल खोल्न नपाउँदा मुसाले काटिएर र ढुंसीको कारण मक्किएर आफूहरुले नोक्सानी व्यहोर्नुपरेको व्यापारीहरु बताउँछन् ।
लकडाउनको कारण गएको चैत ११ गतेदेखि पसल खुलेका छैनन् । पसल खोल्न नपाउँदा तयारी लत्ताकपडा तथा जुत्ताचप्पल नासिने क्रम बढेको भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी दिए ।
उनका अनुसार पसल बन्द हुँदा भित्र हावा ओहोरदोहोर गर्न पाएको छैन । जसले चाङ लगाएर राखेका तयारी लत्ताकपडा ओसिएका छन् । ओसले ढुसी पर्दा लत्ताकपडा बेरंग हुने तथा मक्किन थालेको अध्यक्ष प्रजापतिले दुःखेसो पोखे ।
‘पसल खोल्न नपाउँदा मूसाले लत्ताकपडा काट्न थालेको छ’, उनले भने, ‘हावा छिर्न नपाउँदा ओसले ढुसी लागेर लुगाफाटा मक्किन थालेका छन् ।’
उनका अनुसार तयारी पोशाक धेरै समयसम्म चाङ लगाएर वा ओसमा राख्न मिल्दैन । जसरी लुगाफाटो मक्किएर नासिन्छ त्यसरी नै तयारी जुत्ता पनि बेरंग हुने, ओसले पाप्रा उप्किने तथा गम उप्किएर आउने अध्यक्ष प्रजापति बताउँछन् ।
मूसाले काटिएर र ढुसीले मक्किएर जिल्लाका करिब पाँचसय रेडिमेड व्यापारीले करिब दुई करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको उनले स्पष्ट पारे ।
उनका अनुसार भक्तपुरको रेडिमेड व्यापारमा करिब पाँचसय जनाको करिब दुई अर्ब बराबरको लगानी रहेको छ । जसमा लकडाउनले करिब २० प्रतिशत नोक्सानी भएको अध्यक्ष प्रजापतिले स्पष्ट पारे ।
उनले पसल राखेको घरधनीलाई बहाल, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजलगायतको हिसाब गरे लकडाउनमा अझ नोक्सानी बढ्ने संघका पूर्वअध्यक्ष राजु त्वानाबासू बताउँछन् ।
उनका अनुसार तयारी लुगाफाटोको हरेक मौसममा नयाँ डिजाइन आउँछ । त्यसैले एक सिजनमा किनेको लुगाफाटो अर्को सिजनमा बिक्री हुँदैन । त्यसैले अहिले पसलमा थुप्रिएको तयारी लुगा लकडाउनपछि बिक्री गर्न सजिलो नहुने उनको भनाइ थियो ।
‘तयारी लुगाफाटोमा प्रत्येक मौसममा नयाँ नयाँ डिजाइन आउँछ’, पूर्वअध्यक्ष त्वानावासुले भने, ‘त्यसैले अघिल्लो मौसमको लुगा अहिलेको मौसममा बिक्दैन । बिके पनि लगानीअनुसारको मोल पाइँदैन ।’
लकडाउन लम्बिए रेडिमेड व्यापारीको नोक्सानी पनि बढ्ने भएकाले व्यापारीहरुले भक्तपुर उद्योग वाणिज्य संघमार्फत जिल्ला प्रशासन कार्यालय, प्रहरी र नगरपालिकामा कम्तीमा दैनिक एकदुई घन्टा पसल खोल्ने व्यवस्था गर्न माग गरेका छन् ।
‘बिक्री गर्नेभन्दा पसलभित्र हावा ओहोरदोहोर गराउन तथा भएका तयारी पोशाक तथा जुत्ताचप्पलको सुरक्षाको लागि पसल खोल्न अनिवार्य भइसक्यो’, संघका अध्यक्ष प्रजापतिले भने, ‘व्यापारीले लकडाउन घोषणा भएपछि पसल बन्द गर्दा थुपारिएका तयारी पोशाकसम्म मिलाउन पाएका छैनन् ।’
प्रत्येक दिन नसकिए हप्तामा एकदिनमात्रै भए पनि रेडिमेड पसल खोल्ने व्यवस्था मिलाउनुपर्ने उनको माग थियो ।
उनले मानिसलाई गाँस र बास सँगसँगै कपास पनि चाहिने भएकाले कोरोना भाइरस संक्रमण नियन्त्रण हुने सुरक्षात्मक विधि अपनाउने शर्तमा रेडिमेड पसल खोल्ने व्यवस्था गर्नसमेत माग गरे ।
धेरैजसो उपभोक्ताले फोन गरेर पसलमा आउन भन्ने तर लकडाउनको कारण व्यापारीहरुले पसल खोल्ने अवस्था नभएको व्यापारी मोहनकुमार माकले सुनाए ।
‘उपभोक्ता अति जरुरी भएको भन्दै लुगाफाटो किन्न आउँछन्’, उनले भने, ‘लौ त भनेर पसल आयो, खोल्न नपाउँदै प्रहरीले बन्द गर्न लगाउँछन् ।’
रेडिमेड व्यापारीहरुले अरु उद्योग व्यवसायीहरुलाई जस्तै आफूहरुलाई पनि सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।
उनीहरुले घरबहाल, बैंक तथा वित्तीय संस्थाको ब्याज, आयकर, स्थानीय तहको व्यवसाय करलगायतका आवश्यक छुट दिइनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!