Connect with us

BUSINESS

मौलिक घरेलु उत्पादनको प्रवर्द्धन गर्न कोसेली घर

Published

on

भक्तपुरको दत्तात्रयमा सञ्चालनमा ल्याइएको कोसेली घर । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरका घरेलु तथा साना उद्योगी व्यवसायीहरुको मौलिक एवं परम्परागत उत्पादनको बजार प्रवर्द्धन कोसेली घर सञ्चालनमा ल्याइएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघले यहाँका मौलिक एवं परम्परागत घरेलु उत्पादनको एकीकृत बजार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो ।
भक्तपुर नगरपालिका ९ तचपालस्थित विश्वसम्पदा दत्तात्रय मन्दिर परिसरमा कोसेली घर सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । कोसेली घरमा भक्तपुरको परिचय बनेका एवं मौलिक उत्पादन काष्ठकला, नेपाली कागजका हस्तकला, नेवारी घरबुना कपडाका पुतली, खेलौना, हाकुपटासी, भादगाउँले कालो टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिएका छन् ।
त्यस्तै धातु तथा ढलौटका कलाकृति, चित्रकला, भोजपुरे खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेलीघरमा राखिएका छन् ।
कोसेली घरमा यहाँका मौलिक एवं परम्परागतसँगै ६० थरि स्थानीय उत्पादन राखिएको संघका अध्यक्ष वीरेन्द्र जतीले जानकारी दिए । उनले भक्तपुरका साना तथा घरेलु उद्योगी व्यवसायीहरुको बजार तथा ग्राहकसम्म सीधा पहुँच पु¥याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।
‘सिंगो घरपरिवार र एकदुई जना मजदुर राखेर व्यवसाय गर्नेहरुको पहुँच बजार र ग्राहकसम्म हुँदैन’, अध्यक्ष जतीले भने, ‘यस्ता व्यवसायीले बिचौलियाको भरमा आफ्ना उत्पादन बजार पठाउनुपर्छ जसले गर्दा लागत मूल्य पाउँदैन ।’


कोसेली घर सञ्चालनमा आएपछि यस्ता साना उद्योगी व्यवसायीले पनि बजार र ग्राहकसम्म सीधै पहुँच पाउने र उनीहरुले आफ्नो उत्पादनको लागत मूल्य पाउने संघका सचिव प्रेमकृष्ण खर्बुजा बताउँछन् ।
कोसेली घरमा पाइने उत्पादनमा विचौलिया नलाग्ने भएकाले अन्यत्र बजारमा भन्दा यहाँ पाइने उत्पादनको मूल्यसमेत सस्तो हुने उनको भनाइ थियो ।
‘कोसेली घरको लागि संघले आफ्ना सदस्य वा जिल्लाका व्यवसायीबाट उत्पादन संकलन गर्ने व्यवस्था गरेको छ’, सचिव खर्बुजाले भने, ‘हाल जिल्ला ३० भन्दा बढी घरेलु तथा साना उद्योगी व्यवसायीहरु संघको नियमि सम्पर्कमा रहेका छन् । उहाँहरुबाटै हामीले उत्पादन संकलन गर्दै आएका छौं ।’
संघका अनुसार कोसेली घर सञ्चालन गर्न प्रदेश नम्बर ३ सरकारअन्तर्गतको पर्यटन विकास आयोजनाबाट १२ लाख रुपैयाँ आर्थिक अनुदान प्राप्त भएको थियो । त्यस्तै संघको तर्फबाट थप १२ लाख रुपैयाँ खर्च गरेर कोसेली घरको व्यवस्थापन गरिएको संघका कोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिए ।
उनले कोसेली घर बाह्य पर्यटकहरुको लागि मात्रै नभई स्वदेशी एवं घरेलु उत्पादनका पारखी स्वदेशी ग्राहकलाई समेत लक्षित गरी सञ्चालन गरिएको बताए । अन्यत्रभन्दा यहाँ सस्तो मूल्यमा घरेलु तथा स्वदेशी मौलिक उत्पादन खरिद गर्न सकिने उनको भनाइ थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!