Connect with us

BUSINESS

डे तिशा इनको दस प्रतिशत नाफा भक्तपुर साहित्य मन्दिरलाई

Avatar

Published

on

भक्तपुर नपा १ दूधपाटीमा सञ्चालनमा ल्याइएको डे तिशा इन होटल उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर नगरपालिका २ का युवा प्रशान्त कायस्थले एक करोड १० लाख रुपैयाँ लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । भिजिट २०२० लाई लक्षित गरी कायस्थले भक्तपुर नपा १ दूधपाटीमा डे तिशा इन होटल सञ्चालनमा ल्याएका हुन् ।
उक्त होटलको बिहीबार एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् । वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थका छोरा प्रशान्तले होटल उद्घाटन कार्यक्रममा भक्तपुरका अधिकांश वरिष्ठ साहित्यकारहरुलाई समेत निम्त्याएका थिए ।
उद्घाटन कार्यक्रममा प्रशान्तले होटल सञ्चालन गरेर भएको नाफाको दस प्रतिशत रकम पिता तिलकप्रकाश अध्यक्ष रहेको भक्तपुर साहित्य मन्दिरलाई सामाजिक क्षेत्रमा काम गर्न सहयोग गर्ने घोषणासमेत गरेका थिए ।
होटल तथा रेस्टुरेन्ट सञ्चालनबाट भएको आम्दानीको दस प्रतिशत साहित्य मन्दिरलाई दिने घोषणा गरेपछि कार्यक्रमका सहभागी वरिष्ठ कलाकार श्रेष्ठ, वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंग, भाषासेवी रमापतिराज शर्मा, कवयित्री प्रतिसरा सायमीलगायतले प्रशान्तको मक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त खुसीयालीमा कवयित्री प्रतिसरा सायमी आफै अघि बढेर होटल उद्घाटन कार्यक्रम सञ्चालन गरिन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रहेका वरिष्ठ कलाकार श्रेष्ठले आफू व्यवसायिक कार्यक्रममा जाँदै नजाने व्यक्तिलाई होटल उद्घाटन गर्न बोलाउँदा सुरुमा अस्वीकार गरेको पछि साहित्य मन्दिरलाई सहयोग गर्ने जानकारी दिएपछि निम्ता स्वीकारेको जानकारी दिए ।
त्यस्तै वरिष्ठ साहित्यकार ग्वंगले होटलको नामबारे चर्चासमेत गरे । महिलाले लगाउने गहनालाई नेपालभाषामा ‘तिशा’ भनिन्छ । यसले नयाँ पुस्तालाई नेपालभाषाका शब्दबारे समेत जानकारी दिन ग्ंवगले सुनाए ।
तर होटलको नाउँ दुई अर्थमा राखिएको सञ्चालक प्रशान्तले सुनाए । उनले बुबा तिलकप्रकाशको पहिलो अक्षर ‘ति’ र आमा शारदाको पहिलो अक्षर ‘शा’ संयोजन गरेर तिशा नाम जुराएको बताए ।
‘महिलालाई लगाउने गहना र बुबाआमाको पहिलो अक्षर जोडेर आउने शब्द एउटै भएकाले तिशा नाम राखेको हुँ’, उनले भने, ‘एकातिर जन्म दिने बुबाआमाको पनि सम्मान भयो र अर्कोतिर नेवारी कलासंस्कृति र भाषाको संरक्षण पनि हुने भयो ।’
उनले होटल तयार गर्न एक करोड १० लाख रुपैयाँ लागेको जानकारी दिए । करिब दुईसय क्षमताको रेस्टुरेन्ट रहेको होटलमा हाललाई दसवटा कोठाको व्यवस्था गरिएको उनले सुनाए ।
‘करिब ४० जना क्षमताको सेमिनार हलसमेत व्यवस्था गरेका छौं’, सञ्चालक प्रशान्तले भने, ‘रेस्टुरेन्ट आउने आमाबुबाको सजिलोको लागि किड्स जोनसमेत व्यवस्था छ ।’
भक्तपुरबाट पुरानो बाटो ठिमी हुँदै काठमाडौं जाने ९ नम्बर रुटमा चल्ने बसको बसपार्कसँगै होटल सञ्चालनमा ल्याइएको छ । त्यस्तै सरकारले घोषणा गरेको भिजिट २०२० पनि आउँदै छ । पछिल्लो समय भक्तपुरमा होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । यहींबीच डे तिशा इन सञ्चालनमा आउने सकारात्मक रहेको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले बताए ।
भक्तपुर पुग्ने पर्यटकहरुको तुलनामा भक्तपुरमा होटलहरुको संख्या कम भएको उनको भनाइ थियो । उनले होटल तथा रेस्टुरेन्ट व्यवसायबाट भएको आम्दानीको दस प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने डे तिशा भक्तपुरकै पहिलो होटल भएकोसमेत जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!