Connect with us

BUSINESS

उद्योग दिवसमा उद्यमीलाई सम्मान

Published

on

तेस्रो उद्योग दिवसको अवसरमा सम्मानित भक्तपुरका तीन उत्कृष्ट साना उद्यमीलगायत । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । तेस्रो राष्ट्रिय उद्योग दिवसमा आइतबार भक्तपुरका तीनजना उत्कृष्ट साना उद्यमी सम्मानित भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले घरेलु तथा साना उद्योगतर्फ उत्पादन, परम्परागत र सेवामूलक गरी तीन क्षेत्रका तीन उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुने साना उद्यमीहरुमा टाइचिन चिउरा उत्पादक वीरेन्द्र जती, परम्परागत मुकुन्डो उत्पादक सोम तामाङ र सेवामूलकतर्फ व्यटिसियन गीता गिरी रहेका छन् ।
सम्मानित जतीको भक्तपुर नगरपालिकामा लक्ष्मी चिउरा मिल सञ्चालनमा रहेको छ । उनी भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्षसमेत हुन् ।
परम्परागत मुकुन्डो बनाउने तामाङको मध्यपुर थिमी नगरपालिका मध्यपुर मास्क मेकिङ पसल छ । त्यस्तै गिरीको सूर्यविनायक नगरपालिकामा मायाज् व्युटी पार्लर रहेको छ । उनले काठमाडौंको बानेश्वर र कलंकीमा समेत व्युटीपार्लर विस्तार गरेकी छन् ।
घरेलु कार्यालयले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट उद्यमीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले आफूसँग भएको श्रमलाई सीप र सीपलाई उद्योगको रुपमा विकास गरी उत्पादनमा लाग्न आह्वान गरे ।
सबै नेपाली उत्पादनमा लागे देश आर्थिक रुपले स्वतः समृद्ध हुने उनको दावी थियो ।
प्रदेश सांसद थापाले नेपालीहरुमा कुरा ठूल्ठूला गर्ने तर खान, लाउन र पिउन भने विदेशी उत्पादन प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे ।
‘सरकारी कर्मचारीहरुको पोशाकमात्रै स्वदेशी गर्न सकिए नेपालका धेरै उद्योग फस्टाउँछन्’, उनले भने ।
कार्यालयका प्रमुख सीताराम खड्काले भक्तपुरका सबै स्थानीय तह नगरपालिका भएपछि उद्योगको लागि पूर्वाधार विकास गर्ने ठाउँ नै नभएको गुनासो गरे ।
‘मौजुदा ऐनकानुनले भक्तपुर र मध्यपुर थिमी नपा उद्योग गर्न बन्देज लगाएको छ’, उनले भने, ‘चाँगुनारायण र सूर्यविनायक नपामा पनि संधीयारबाट सहमति पाउन सकिने अवस्था छैन ।’
सम्मानितहरुमध्ये चिउरा उद्यमी वीरेन्द्र जतीले चाँगुनारायण नपामा नयाँ उद्योग स्थापना गर्न संधियारहरुको सहमति लिन जाँदा लिन नसकिएको गुनासो गरे ।
उनले उद्योग सञ्चालन गर्ने वातावरण र पूर्वाधार विकासको लागि संघीय तथा प्रदेश सरकारले स्थानीय तहहरुलाई औद्योगिक ग्रामको लागि क्षेत्र तोक्न लगाउनुपर्ने माग गरे ।
त्यस्तै महिला उद्यमी समितिकी सचिव शर्मिला शिल्पकारले सरकारले दिने तालिम लिएपछि सानो पुँजी लगानी गरे व्युटीपार्लर खोल्दा अनिवार्य भ्याटमा जानुपर्ने बाध्यताले महिलाहरु हतोत्साही हुँदै आएको गुनासो गरिन् ।
करकै कारण सीप भएका महिलाहरु उद्यम गर्न सकिने अवस्था नभएको उनको भनाइ थियो ।
कार्यक्रममा कार्यालयका अधिकृत सुवोधकुमार शाह र सूचना अधिकारी कमल निरौलाले कार्यालयमा दर्ता भएका उद्योग पुनः स्थानीय तहमा दर्ता गर्नुपर्ने कानुनसम्मत नभएको बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!