Connect with us

BUSINESS

धान काट्ने मजदुर पाउनै मुस्किल

Published

on

भक्तपुर । पर्याप्त मजदुर नहुँदा भक्तपुरका धेरै किसानले समयमा धान काट्न पाएनन् । दसैंलगत्तै सबै किसानले एकैचोटी धान काट्दा पनि भएका मजदुरहरुलाई भ्याइनभ्याइ भएको हो ।
किसानहरुले धान काट्न ढिलाइ हुँदा खेतमा धान झरेको बताएका छन् । उनीहरुका अनुसार पाकिसकेको धान समयमै काट्न सकिएन । जसले गर्दा सुकेको धाना काट्ने बेला झर्ने गरेको उनीहरुको भनाइ छ ।
मजदुर अभावले आफूले योजना गरेको एक हप्तापछि मात्रै धान काट्न सकिएको सूर्यविनायक नपा ८ सिपाडोलका राजेन्द्र थापाले सुनाए । उनका अनुसार दसैंमा धान काट्न ठिक्क भएको थियो तर सबै दसैं मान्न व्यस्थत भएकाले धान काट्न ढिलाइ भयो ।
‘सबै दसैं मान्न व्यस्त भएकाले धान काट्न ढिलो भएको थियो’, उनले भने, ‘त्यसमाथि मजदुर नपाइएपछि धान काट्न अर्को एक हप्ता ढिलो भयो ।’
एक हप्ताअघि नै कामको लागि भनेका मजदुर एक हप्तापछि मात्रै आएको उनको भनाइ थियो ।
त्यस्तै चाँगुनारायण नपा ९ ताथलीका विष्णु सुवालले पनि मजदुर नपाइँदा एक हप्ता ढिलोगरी धान काट्न परेको सुनाए ।
‘सबैको एकै समय धान काटियो’, उनले भने, ‘त्यसैले भएका मजदुरहरुले सबैतिर भ्याउन सकेनन् ।’
किसानहरुले मजदुर कम भएकाले उनीहरुको ज्याला पनि महंगो भएको गुनासो गरे । गएको वर्षसम्म एकदिनको आठनौ सय रुपैयाँ ज्याला थियो । यो वर्ष एकहजार दुई सयदेखि एक हजार चारसयसम्म तिर्नुपरेको किसान थापा बताउँछन् ।
‘आफ्नै खाजा खुवाएर एकजना पुरुष मजदुरलाई एक हजार दुईसय रुपैयाँ तिर्नुप¥यो’, उनले भने, ‘गएको वर्ष नौसय माथि गएन ।’
त्यस्तै बिहान आधा दिनको समेत सातसय रुपैयाँ तिर्नुपरेको किसानहरुले सुनाए । तैपनि मजदुर पाउन मुस्किल भएको उनीहरुको भनाइ थियो ।
पहिले गाउँघरमा सबै मिलेर एकएकजनाको धान काट्न सिध्याउँदै ल्याउँथे । गाउँ नै मिलेर एकले अर्कोको काम जाने यस किसिमको पर्मको प्रचलन अहिले लोप हुँदै आएको किसानहरु बताउँछन् ।
नयाँ पुस्ता कृषिको काममा आकर्षित हुन नसक्दा पर्म जाने प्रचलन संकटमा परेको चाँगुनारायण नपा ५ छालिङका शंखबहादुर केसी बताउँछन् ।
‘पहिले हामी योजना मिलाएर आज मेरो, भोलि तेरो र पर्सि फलानाको भनेर धान काट्ने पर्ममा जान्थ्यौं’, ६३ वर्षीय केसीले भने, ‘आजभोलिका युवायुवती आफ्नै धान काट्न आउन मान्दैनन् । कहाँबाट गाउँछिमेकको पर्ममा जानू ?’
नयाँ पुस्ता शिक्षित भए पनि व्यवहारिक र असल नभएको उनको दुःखेसो थियो ।
पर्म जाने संस्कृति लोप हुँदै आएकाले पनि कृषिमा मजदुरहरुको माग बढेको किसानहरु बताउँछन् ।
भक्तपुरमा कूल एघार हजार एकसय ६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार तीन सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने तथ्यांक छ । जसबाट २५ हजार ६८ मेट्रिक टन धान उत्पादन हुने तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।
भक्तपुर देशमै बढी धान उत्पादकत्व भएको जिल्ला हो । जसअनुसार एक हेक्टर क्षेत्रफलमा ५.७६ मेट्रिक टन धान उत्पादन हुन्छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!