Connect with us

BUSINESS

दिउँसो ट्रक र ट्रिपर रोकेकोमा व्यवसायी आक्रोशित

Published

on

ट्रक तथा ट्रिपर सञ्चालनबारे आयोजित पत्रकार सम्मेलनमा सहभागी व्यवसायी ।

भक्तपुर । ट्रक तथा ट्रिपर आर्थिक समृद्धिको आधार भएको भन्दै व्यवसायीहरुले यसैलाई सडकमा गुड्न निषेध गर्नु अन्याय भएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र बागमती ट्रिपर व्यवसायी संघले बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले आर्थिक समृद्धि ल्याउने दावी गर्दै आएको सरकारले समृद्धिका आधारलाई भताभुंग पार्नु दुर्भाग्य भएको बताएका हुन् ।
उनीहरुले बैकल्पिक बाटोको व्यवस्था गरेर भए पनि अति आवश्यकीय निर्माण सामग्री बोक्ने ट्रक तथा ट्रिपरहरु निर्वाध सञ्चालन हुने व्यवस्था गर्नुपर्ने माग गरे ।
‘ट्रक तथा ट्रिपरले निर्माण सामग्री ढुवानी नगरे कसरी आर्थिक समृद्धि हासिल हुन्छ ?’, महासंघको ट्रक, ट्रिपर तथा हेभी इक्विपमेन्टतर्फका संयोजक नवीन प्रजापतिले भने, ‘भएको व्यवसाय र रोजगारी ठप्प पारेर कसरी आर्थिक समृद्धि हासिल हुन्छ ? के आर्थिक समृद्धि छिमेकी देशबाट आयात गर्न लागेको हो ?’
संयोजक प्रजापतिले विकल्पविना समय तोकेरमात्रै ट्रक तथा ट्रिपर चलाउने व्यवस्थाले काठमाडौं उपत्यकाका मात्रै दुई हजार पाँचसय ट्रक तथा ट्रिपर व्यवसायीसँगै चालकहरु बेरोजगार हुन पुगेको बताए ।
दिउँसो काम नहुने तर रात्रीकालमा मात्रै ट्रक तथा ट्रिपर चलाउनुपर्ने बाध्यताले व्यवसायीहरुको लागत बढिरहेको उनको गुनासो थियो ।
‘पहिले चालकलाई दिउँसोको मात्रै तलब, भत्ता र खानाखाजा दिए पुग्थ्यो’, उनले थपे, ‘अहिले रातीमात्रै काम हुन्छ । चालकहरुले रातीको पनि भत्ता र खानाखाजा माग्न थालेका छन् । भएको साधनको उपयोग छैन तर चालकलाई थप सुविधा दिनुपर्ने भएको छ ।’
उनका अनुसार पहिले एउटा गाडीबाट बढीमा तीन टीपसम्म सामान ढुवानी हुन्थ्यो । अहिले मुस्किलले एकटीप ढुवानी हुन्छ ।
जसले गर्दा बैंकमा मासिक किस्तासम्म तिर्नसक्ने अवस्था नभएको उनको भनाइ थियो । चालकहरुलाई थप सुविधा दिनुपर्ने अवस्थामा व्यवसायीहरु विस्थापित हुनुको विकल्प नभएको उनको स्पष्टोक्ति थियो ।
त्यस्तै बागमती ट्रिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले सवारीसाधनको लागि बनाइएका सडकलाई दुर्घटना भएकै कारण सवारीसाधन नै चलाउन निषेध गर्नु झन् समस्या निम्त्याउनु भएको बताए ।
नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने प्रणाली नै अवैज्ञानिक र अव्यवहारिक भएको उनको भनाइ थियो ।
‘लाइसेन्स दिने प्रणाली नै अवैज्ञानिक र अव्यवहारिक छ । जसले गर्दा दुर्घटना हुनु अस्वाभाविक होइन’, उनले थपे, ‘लाइसेन्स दिनुअघि ट्राफिक नियम, सुरक्षित गाडी हँकाइ, दुर्घटना हुने स्थिति भए कसरी आफू र अरुलाई बचाउने भन्नेबारे तालिम वा जाँच हुनुपर्छ ।’
उनले काठमाडौं उपत्यकामा रातको समयमा ट्रक तथा ट्रिपरबाट सामान ढुवानी गर्न सकिने अवस्था नभएको जिकिर गरे ।
‘राती सबै सुतिरहेको बेला ट्रक तथा ट्रिपर गएर सामान ढुवानी गर्दा उनीहरुलाई समस्या हुन्छ’, अध्यक्ष कुँवरले भने, ‘राती गाडी चलाए चालकहरुले कहिले आराम गर्ने ? घरपरिवारलाई कहिले समय दिने ?’
रातको समयमा गाडी चलाउन दिँदा सडक दुर्घटना झन् बढी हुने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले ठूला ट्रक तथा ट्रिपरको नाउँमा साना एवं मिनी ट्रक सञ्चालनमा समेत रोक लगाएकोमा आक्रोश पोखे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!