Connect with us

ताजा अपडेट

शोकलाई शक्तिमा बदल्दाको परिणाम

Avatar

Published

on

सिद्धि स्मृति प्रतिष्ठानको रजत जयन्ती समारोह उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरका वरिष्ठ समाजसेवी श्यामसुन्दर धौभडेलले आजभन्दा २५ वर्ष अगाडि पाँच वर्षका छोरा गुमाए । सूर्यविनायक चोकमा भएको सडक दुर्घटनामा परेर घाइते छोरा सिद्धिसुन्दरलाई उनले बचाउन सकेनन् । उपचारको लागि काठमाडौंतर्फ लाँदै गर्दा सिद्धिसुन्दरले प्राण त्यागे ।
दुई छोरीपछि भएको एक्लो छोरा गुमाउँदा श्याम र उनकी श्रीमती रञ्जनाको अवस्था कस्तो भयो होला कल्पनासम्म गर्न सकिन्न तर छोरा बित्यो भनेर श्याम र रञ्जना शोकमा डुबेनन् । नेवारी मृत्यु संस्कारअनुसार २१ दिनपछि यो परिवारले शोकलाई शक्तिमा बदल्दै दिवंगत छोराको नाउँमा सिद्धि स्मृति स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याए ।
नेवारी मृत्युसंस्कारअनुसार ब्रतवन्ध नभइसकेका केटाको मृत्यु भए २१ दिनभित्रै सबै संस्कार सकाइन्छ । सोहीअनुसार सिद्धिसुन्दरको २१ दिने मृत्यु संस्कार सकेकै दिन स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
‘दुर्घटनामा परेर घाइते छोरालाई भक्तपुरमै उपचार गर्न सकिएको भए अहिले ३० वर्षको लक्का जवान भइसक्थे’, बुबा श्यामसुन्दरले भने, ‘तर भक्तपुरमा त्यस्तो सुविधा थिएन । त्यसैले हामीले त छोरा गुमाइसक्यो अब अरु आमाबुबाका काख नरित्तिऊन् भनेर स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएका थियौं ।’


सिद्धि स्मृति प्रतिष्ठान स्थापना गरे उक्त केन्द्र सञ्चालनमा ल्याएको उनी बताउँछन् । उनका अनुसार उक्त स्वास्थ्य केन्द्र सञ्चालनमा आएको तीनवर्षपछि सिद्धि स्मृति बाल तथा महिला अस्पतालको रुपमा विकास गरिएको थियो । सुरुमा २५ शय्याको अस्पताललाई सरकारले २०५७ सालमा ५० शय्याको स्वीकृति दिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष धौभडेलले जानकारी दिए । प्रतिष्ठानले अस्पतालसँगै अहिले बाल सुधार गृह र सिद्धि सालिग्राम वृद्धाश्रमसमेत सञ्चालन गरिरहेको छ ।
सोही केन्द्र हुँदै अस्पताल सञ्चालन गरेको प्रतिष्ठानले सोमबार रजत जयन्ती मनाएको छ ।
उक्त अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दरले एक्लो छोरा गुमाएर हजारौं छोराछोरीको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे ।
‘एक्लो छोरा गुमाए पनि हजारौं छोराछोरीको सेव ागर्न पाएका छौं । यो जतिको खुसी अरु के होला’, उनले भने, ‘तैपनि अझै गर्न धेरै बाँकी छ ।’
उपचार अभावमा आफूहरुले जस्तै अरु आमाबुबाले आफ्ना छोराछोरी गुमाउन नपरोस् भन्ने उद्देश्यले नै अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

शिक्षा स्वास्थ्य सरकारको दायित्व : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एक कार्यक्रमबीच रजत जयन्ती उद्घाटन गर्दै शिक्षा स्वास्थ्य राज्यको दायित्व हुनैपर्नेमा जोड दिए ।
स्वास्थ्य क्षेत्रमा राज्य गैरजिम्मेवार बन्दा सरकारको काम सिद्धि स्मृति प्रतिष्ठानले गर्नुपरिरहेको उनको भनाइ थियो ।
‘बालबालिकाको स्वास्थ्यको क्षेत्रमा अझै धेरै गर्न बाँकी छ’, अध्यक्ष बिजुक्छेले भने, ‘स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने काम सिद्धि स्मृति प्रतिष्ठानले गर्नु राम्रो काम हो । यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दछु ।’
भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारले शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई छोड्दा गरिब जनता उपचारविनै मर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले सरकारी वेवास्ताले भक्तपुर अस्पताल तीसौं वर्षदेखि मसानघाट बन्दै आएकोमा आक्रोश पोखे ।
‘भक्तपुर अस्पतालको स्वास्थ्य सेवा सुधार्नुप¥यो भनेर ३५ वर्षअघि नै नेमकिपाले आन्दोलन गरेको थियो’, नेमकिपामा केन्द्रीय सचिवसमेत रहेका उनले भने, ‘यसबीच सरकार धेरै परिवर्तन भए, विकास समितिमा धेरै अध्यक्ष आए गए तर अस्पताल मसानघाटको मसानघाटै छ ।’
अस्पताल विकास समितिमा अध्यक्ष हुनेहरुलाई समाएर जनताले बयान नलिएसम्म भक्तपुर अस्पताल विकास नहुने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले छोरा बितेको शोकलाई शक्तिमा बदल्दाको परिणाम सिद्धि स्मृति प्रतिष्ठान र यसअन्तर्गतका अस्पताल, बाल सुधार गृह र वृद्धाश्रम रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित ४० वर्षमाथिको जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिता र बाल चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो ।


टेबुलटेनिसको तर्फबाट भक्तपुर र समग्र नेपालकै गरिमा उँचो बनाउने नेपाल च्याम्पियन शिवसुन्दर गोथेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै अस्पताल स्थापनादेखि कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!