Connect with us

SPECIAL

नवदुर्गा मन्दिरमा ‘खःमेय्’ चढाउने प्रतिस्पर्धा

Avatar

Published

on

भक्तपुर नपा ९ नवदुर्गा मन्दिरमा बाँधिएको खःमेय् हेर्न पुगेका सर्वसाधारण । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा मन्दिरमा खःमेय् (राँगो) बाँधिएको छ । विजया दशमीअन्तर्गत महानवमीको दिन नवदुर्गा मन्दिरबाट खःमेय् दौडाएर जात्रा गरिन्छ । सोही जात्राको लागि आवश्यक पर्ने खःमेय् शुक्रबार नवदुर्गा मन्दिरमा बाँधिएको हो । नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।
नवदुर्गामा ल्याइएको खःमेय् मन्दिरकी नकीं कृष्णमाया बनमालाले स्वागत गर्दै पूजाआजा गरेकी थिइन् । नकीं कृष्णमायाले नै अब दसैंको नवमीसम्म उक्त खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् ।
जात्राको विधानअनुसार गाथामोगका दिन नवदुर्गा मन्दिरमा खःमेय् भित्र्याउनु खःमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके कृष्णकुमार बनमालाले जानकारी दिए । उक्त डोरी बाँधिसकेपछि उपयुक्त खःमेय्को खोजी हुने उनी बताउँछन् ।
भक्तपुर नगरपालिका ८ निवासी कृष्णमाया गाइँजूले यस वर्षको खःमेय् ब्वाकेगू जात्राको लागि खःमेय् चढाएकी हुन् । तीन छोराहरु न्हुछेराम, कृष्णहरि र कृष्णश्यामको लगानीमा माता कृष्णमायाले ९० हजार रुपैयाँ जाने खःमेय् नवदुर्गालाई चढाएकी हुन् ।
उनले चार वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गरेकी थिइन् तर नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिमा पहिल्यै अरु दाताले नाम लेखाइसकेपछि चार वर्षमा उनको पालो आएको हो ।
‘चार वर्षअघि नै नवदुर्गा भवानीलाई खःमेय् चढाउने मनोकांक्षा राखेका थियौं’, जेठा छोरा न्हुछेरामले भने, ‘खःमेय्को लागि राँगोसमेत हेरिसकेका थियौं तर पालो पाइएन ।’
उनीहरुले भक्तपुरकै चाँगुनारायण नगरपालिका ८ सुडालका कृष्ण छुलयाजूले पालेको राँगो खःमेय्का लागि चढाएका छन् । भैंसीपालक छुलयाजूले साढे तीन वर्ष खःमेय्को रेखदेख गरेका छन् । उनले यस अवधिभर राँगो सामान्य बिरामीसमेत नभएको सुनाए ।
‘उक्त राँगोलाई घाँसपराल र दानासँगै पिना, खुवा, काजु र बदाम खुवाएर पोलेको हुँ’, छुलयाजूले भने, ‘साढे तीन वर्षको अवधिमा केही नराम्रो भएन ।’
उनले पालेको उक्त राँगोलाई एक लाख आठ हजार रुपैयाँसम्म दिन व्यापारी आएका थिए तर पहिल्यै खःमेय्को लागि भनिसकेको र देउताको लागि भएकाले ९० हजार रुपैयाँ बेचेका छन् ।

२०८१ सालसम्मलाई पुग्यो खःमेय्

जात्रा व्यवस्थापन समितिका अनुसार २०८१ सालसम्मको लागि खःमेय् ब्वाकेगू जात्राको लागि खःमेय् चढाउने दाताहरु पुगेका छन् । समितिका अध्यक्ष विजेश बनमालाका अनुसार त्यसपछि पनि खःमेय् चढाउने इच्छा व्यक्त गर्ने दाताहरु धेरै आएका छन् । तर २०८१ सालसम्मको लागि दाताहरु निश्चित भएको उनले जानकारी दिए ।


उनका अनुसार २०७७ सालको लागि भक्तपुर नपा १२ का विजेन्द्र कर्माचार्य, २०७८ सालको लागि भक्तपुर नपा ३ का लक्ष्मण छुँजू र २०७९ को लागि भक्तपुर नपा १० का पदमबहादुर श्रेष्ठले खःमेय् चढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै २०८० सालको लागि भक्तपुर नपा ७ का रत्नभक्त दुमरु र २०८१ सालको लागि भक्तपुरको सूर्यविनायक निवासी विश्वराम सुवालले खःमेय् चढाउने प्रतिबद्धता जनाइसकेका छन् ।

खःमेय् : महिषासुर राक्षस

महिषासुर राक्षसको रुपमा भक्तपुरमा खःमेय् जात्रा मनाइँदै आएको छ । मध्य मल्लकालमा यस जात्राले बढी महत्व पाएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
उनहरुका अनुसार जात्राको खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्छ ।
उनका अनुसार नवदुर्गा मन्दिर भित्र्याइएको खःमेय्लाई नकींले दिनहुँ तोरीको तेल डलिदिन्छिन् । मीठोमीठो खानेकुरा खुवाइन्छ । जाँडरक्सीसमेत खुवाइन्छ । जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभावको बन्दै आओस् ।
दसैंको महानवमीको दिन जात्रा गरिँदा सयौं भक्तजनको भीड छिचोलेर खःमेय्लाई करिब दुई किलोमिटर दौडाएर भक्तपुर नपा ९ स्थित ब्रह्मायणी मन्दिर पु¥याइन्छ ।
उक्त जात्राको क्रममा खःमेय्लाई हनुमन्ते खोलाबाट ब्रह्मायणी मन्दिर लगिन्छ । यसबेला भक्तजनहरुले खःमेय्माथि खोलाको पानी छ्यापाछ्याप गर्छन् । जुन दृश्य हेर्नेलायकको हुन्छ । यस कार्यलाई खःमेय्लाई चोख्याउने भनिने संस्कृतिकर्मी धौभडेल बताउँछन् ।
‘यसको अर्थ खःमेय्लाई ब्रह्मायणी पीठ लानुअघि शुद्ध स्नान गराएर चोख्याउनु हो’, उनी भन्छन्, ‘यसरी शुद्ध स्नान गराउने बेला भक्तजनहरुबीच एकापसमा पानी छ्यापाछ्याप गर्ने चलन कम रोचक हुँदैन ।’
यसरी ब्रह्मायणी मन्दिर पु¥याइएको खःमेय्लाई मासाहुती यज्ञको आयोजना गरी बध गरिन्छ । भक्तपुर तलेजुका रकमी खड्गीहरुले खःमेय्को रगत नवदुर्गा देवगणले लाउने मुकुन्डोमा चढाउँछन् । यसरी नवदुर्गा देवगणलाई तृप्त गरेपछि बाँकी रगत माटोको भाँडोमा जम्मा गरिन्छ । यसलाई भैलकोंचा भनिन्छ । जुन भैलकोंचा नवदुर्गा द्योछेंमा लगेर राखिन्छ ।
साथै बध गरिएको खःमेय्को मासु भक्तजनले प्रसादको रुपमा लगेर आआफ्नो घरको भण्डार कोठामा राख्ने गर्छन् । उक्त मासु भण्डारकोठामा राख्दा धनधान्य हुने तथा अन्नको कहिल्यै कमी नहुने जनविश्वास रहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com