Connect with us

TOURISM

लिंगोको टुप्पोमा ‘सेल्फी’ : पुरस्कार स्थानीयको झापड

Avatar

Published

on

भक्तपुर नपा वडा नं ५ स्थित योसिंखेलमा शनिबार ठड्याइएको लिंगोको टुप्पा पुगेर सेल्फी खिच्दै एक युवा । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत शनिबार ठड्याइएको लिंगोको टुप्पामा युवाहरुबीच सेल्फी लिने प्रतिस्पर्धा नै चल्यो । पहिले लिंगो ठड्याइसकेपछि डोरी चढ्ने प्रतिस्पर्धा चल्थ्यो ।
जोकोही हत्तपत्ती लिंगोको टुप्पोमा पुग्न सक्दैन तर शनिबार भक्तपुर नगरपालिका वडा नं ५ योसिंखेलमा ५५ हात लामो लिंगो ठडिनासाथ एक युवा टुप्पो पुगे । उनीसँगै दर्जनौ युवा डोरी समातेर लिंगोको टुप्पातिर हानिए तर अरुले हरेश खाए ।
टुप्पोमा पुगेका युवाले लिंगाको टाउको बनाइएका हरिबेलका हरिया हाँगाबिंगा छिमलेर जात्रालुतर्फ फाले । जात्रालु पनि भगवानको प्रसाद भन्दै उक्त हाँगाबिंगा लिन तँछाडमछाड गरिरहेका थिए ।
यत्तिकैमा पाइन्टको बकलीबाट मोबाइल झिकेर ती युवा लिंगोको टुप्पो आउने गरी सेल्फी खिच्न व्यस्त भए । उनले सेल्फी लिँदै गर्दा जात्रास्थलमा भेला भएकाले हाँसोको फोहरा छोडे ।
लिंगाको टुप्पाबाटै जात्रालुको फोटो खिचेर मोबाइल बकलीमा राखेर उनी लिंगोबाट झरे । उनी झरेकामात्रै के थिए, अर्को युवा पनि लिंगोको टुप्पोसम्मै पुगे । उनीमात्रै के कम उनले पनि सरक्क मोबाइल झिकेर क्लिक क्लिक सेल्फी हानिहाले । फेरि जात्रालुको हाँसोको फोहरा । उनले पनि लिंगोको टाउको बनाइएको हरिबेलको हरियो हाँगाबिंगा जात्रालुतर्फ फ्याँकिहाले ।

झरेपछि पुरस्कार पाए झापड

लिंगोको टुप्पोसम्म पुगेर सेल्फी हानेर पुरुषार्थ देखाएका युवाहरुले पुरस्कारस्वरुप स्थानीय जात्रालुको कुटाइ भेटे । स्थानीयले उनीहरुलाई लिंगोको टाउको बनाइको हरियो हरिबेलका हाँगाबिंगा नभाँच्न भनिरहेका थिए । लिंगो ठड्याइएकै दिन उक्त हरिबेलका हाँगाबिंगा प्रसाद नहुने भन्दै स्थानीयले उनीहरुलाई हांगाबिंगा नभाँच्न आग्रह गरेका थिए ।
तर ४५ हात लामो लिंगोको टुप्पोमा बस्ने स्थानीयको आग्रह सुन्ने कुरै थिएन । जसै ती युवा भुइँमा झरे स्थानीयले लखेटी लखेटी कुटे । धन्न अरु जात्रालुले जोगाएर भगाएर बाँचे ।
‘त्यसलाई बाँकी राख्नुहुन्न । त्यत्रो देउताको टाउकोमा गएर लिन नहुने प्रसाद भाँच्नेलाई ठीक गर्नुपर्छ’, स्थानीय जात्रालु भनिरहेका थिए ।
किन त्यसलाई प्रसाद मानिन्छ होइन भन्ने प्रश्नमा एक स्थानीयले भने, ‘आजको आजै त्यो प्रसाद हुँदैन । भोलिपल्ट लिंगो ढालिसकेपछि मात्रै त्यो प्रसाद मानिन्छ । आजै प्रसादको रुपमा लिँदा अपशकुन हुन्छ । जनतालाई राम्रो हुँदैन ।’

छोटियो लिंगो

यस वर्ष लिंगो दस हात छोटिएको छ । बिस्का जात्राको प्रचलनअनुसार लिंगो ५५ हात लामो हुनुपर्छ । तर लिंगोको लागि रुख काटेर ढाल्ने बेला टुप्पो चर्केर छोट्याउनु परेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।
जात्राको लागि दुइटा लिंगो ल्याइएका थिए तर अर्को बांगो भएकाले छोटो भए पनि सीधा रुख लिंगोको रुपमा उठाइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले जानकारी दिए ।
शनिबार वर्षान्तको ठीक ठड्याइएको उक्त लिंगो विक्रम संवत्को नयाँ वर्ष सुरु भएको पहिलो दिन ढालेपछि यसवर्षको बिस्का जात्राअन्तर्गत लिंगो जात्रा विधिवत समापन हुनेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com