Connect with us

SPORTS

सैनिकद्वारा प्रधानसेनापति कप टीट्वेन्टी क्रिकेटको उपाधि रक्षा

Avatar

Published

on

विजेता सैनिक आवासीय महाविद्यालयलाई उपाधि वितरण गर्दै नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्डुल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालयले भक्तपुरमा भएको १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा बिहीबार भएको फाइनलमा जेम्स स्कुललाई चार विकेटले हराउँदै सैनिकले उपाधि रक्षा गरेको हो । आयोजक सैनिकको यो जीत लगातार १२ औं पटकको हो । १३ औं संस्करणसम्म आइपुग्दा सैनिक एकपटकमात्रै उपाधि चुम्नबाट चुकेको छ । सैनिकलाई प्रतियोगिताको पहिलो संस्करणमै डीएभीले पराजित गरेको हो । त्यसयता सैनिकलाई कुनै पनि स्कुलले हराउन सकेको छैन ।
सैनिकले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कारसमेत आफ्नै पोल्टामा पारेको छ । उपविजेता जेम्सले भने पचास हजार रुपैयाँमा चित्त बुझाउनुपरेको छ ।
त्यस्तै व्यक्तिगततर्फ विजेता सैनिकका प्रथम बुडाल म्यान अफ द सिरिज र निश्चय थापा उत्कृष्ट फिल्डर घोषित भए । जेम्सका आइस भट्टराई उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदा अथर्भ पौडेल उत्कृष्ट बलरले पुरस्कृत भए । उत्कृष्ट चारैजना खेलाडीले चारचार हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
बिहीबार फाइनलमा टस जितेको जेम्स ब्याटिङ रोज्दै पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा ९६ रनको योगफल तयार गरेको थियो । उसको लागि आइस भट्टराईले तीन चौका प्रहार गरेर ३६ रन जोडे । आश्रय कँडेल र अर्पण अधिकारीले समान १४–१४ रनको योगदान दिए ।
बलिङतर्फ सैनिकका आशीष कुँवरले तीन विकेट झारे । सुमन अधिकारी र अर्जुन तामाङले एकएक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको सैनिकले १९.४ ओभरमा चार विकेट बाँकी छँदै ९७ रनको लक्ष्य पूरा गरेको थियो । सैनिकका सुजन तामाङले तीन चौका हान्दै २८ रन बनाए । निश्चय थापाले १८ र आशीष कुँवरले १६ रनको योगदान दिए ।
बलिङतर्फ जेम्समा आइस भट्टराईले तीन र आयुष उपाध्यायले दुई विकेट लिए ।
उक्त खेलमा सैनिकका आशीष कुँवर म्यान अफ दी म्याच घोषित भए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कारसमेत पाए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टीम र खेलाडीहरुलाई नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्डुलले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com