Connect with us

SPORTS

अक्षरा प्रधानसेनापति कप टीट्वेन्टी क्रिकेटको सेमिमा

Avatar

Published

on

अक्षरा र आदर्श जनप्रेमीबीचको खेलमा म्यान अफ दी म्याच बन्न सफल आदर्श जनप्रेमीका संगम सेढाईंलाई पुरस्कृत गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । अक्षरा स्कुल भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनलमा भक्तपुरको आदर्श जनप्रेमी स्कुललाई २३ रनले हराउँदै अक्षराले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
टस जितेर ब्याटिङमा ओर्लेको अक्षराले आठ विकेटको क्षतिमा पूरै ओभर खेलेर १२२ रनको योगफल तयार गरेको थियो । उसको लागि स्वप्निल कार्कीले २१, पल गुरागाईं र दक्ष बरालले अविजित रहँदै क्रमशः ११ र १२ रनको योगदान दिए ।
बलिङतर्फ आदर्श जनप्रेमीका संगम सेढार्इंले तीन विकेट झारे । त्यस्तै दिव्य कुँवरले दुई र रोहन न्यौपानेले एक विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लेको आदर्श जनप्रेमीले २० ओभरमा पाँच विकेट बाँकी छँदै ९९ रनमात्रै जोड्न सक्यो । जसले गर्दा नतिजा अक्षराको पोल्टामा परेको थियो ।
आदर्श जनप्रेमीको लागि संगम सेढाईंले ३१ रन जोडे । बलिङमा तीन विकेटसमेत लिएका उनी उक्त खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।
आदर्श जनप्रेमीका निशान्त जोशीले १७ र दिव्य कुँवरले ९ रनको योगदान दिए ।
बलिङतर्फ अक्षराका अलेक्स अधिकारीले दुई र प्रनिल कायस्थ तथा आदित्य सुवेदीले एकएक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार जेम्स र ग्यालेक्सीबीच अन्तिम क्वार्टरफाइनलको खेल हुने आयोजक सैनिक स्कुलका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए ।
यसअघि भएका दुई क्वार्टरफाइनलबाट आयोजक सैनिक र डीएभी स्कुल सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताका काठमाडौं उपत्यका र काभ्रेका १३ वटा विद्यालयको सहभागिता रहेको छ । विजेताले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । उपविजेताले भने पचास हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउने छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com