Connect with us

SPORTS

मोक्क्षदा र आदर्श जनप्रेमी विजयी

Avatar

Published

on

आदर्श जनप्रेमी र युनाइटेडबीचको खेलमा म्यान अफ दी म्याच बन्न सफल आदर्श जनप्रेमीका निशान्त जोशी । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरमा जारी १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगितामा बिहीबार मोक्क्षदा र आदर्श जनप्रेमी स्कुलले जीत दर्ता गरेका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार मोक्क्षदाले ज्ञान निकेतनलाई ९० रनले हराएको हो ।
टस जितेर व्याटिङ रोजेको मोक्क्षदाले २० ओभरमा सात विकेटको क्षतिमा १५४ रनको योगफल तयार गरेको थियो । उसको लागि गौरव वाग्लेले अविजित रहँदै ६१ रन जोडे । उनले ६ चौका प्रहार गरे ।
त्यस्तै निश्चल वाग्लेले १९ र शिवकुमार यादवले १५ रनको योगदान दिए ।
बलिङतर्फ ज्ञान निकेतनका अनुभव कुँवर र दिग्विजय भट्टले दुईदुई विकेट लिँदा विकास रावतले एक विकेट झारे ।
जवाफी व्याटिङमा आएको ज्ञान निकेतन १३.२ ओभरमै अलआउट हुँदै ६४ रनमा समेटिएको थियो । उसको लागि श्याम मण्डलले १३, सुवास कार्की र वरुण गिरीले १०÷१० रन जोडे ।
बलिङतर्फ मोक्क्षदाका दीपेश यादव एक्लैले ६ विकेट लिए । रोहित शर्माले तीन र संयम नेपालले एक विकेट झारे । उक्त स्पर्धामा मोक्क्षदाका दीपेश यादव म्यान अफ दी म्याच घोषित भए । योसँगै दुई लिग जीत हात पारेको मोक्क्षदा दोस्रो चरणमा जाने सम्भावना बलियो भएको छ भने दुई लिग हारेको ज्ञान निकेतन लिग चरणबाटै बाहिरिने सम्भावना देखिएको छ ।
बिहीबार नै भएको अर्को खेलमा भक्तपुरको आदर्श जनप्रेमीले युनाइटेड स्कुललाई सात विकेटले हराएको छ ।
टस जितेर व्याटिङ गरेको युनाइटेडले १५.१ ओभर खेल्दा नै अलआउट भएर १०१ रन जोड्यो । उसको लागि विभूषण शाहले १८, अभिषेक शाहले १५ र आदित्यराज शाहले ११ रनको योगदान दिए ।
बलिङतर्फ आदर्श जनप्रेमीका निशान्त जोशी एक्लैले युनाइटेडका पाँच विकेट लिए । संगम सेढाईंले २ र दीक्षित कुँवरले एक विकेट झारे ।
जवाफी व्याटिङमा आएको आदर्श जनप्रेमीले १४.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा १०२ रनको लक्ष्य पार ग¥यो । उसको लागि संगम सेढाईं र निशान्त जोशीले अविजित रहँदै क्रमशः ३५ र ३३ रन जोडे । त्यस्तै सौरभ थापाले ११ रन जोडे ।
बलिङतर्फ युनाइटेडका विभूषण शाहले आदर्श जनप्रेमीको तीन विकेट लिए । उक्त स्पर्धामा आदर्श जनप्रेमीका निशान्त जोशी उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका १३ विद्यालयका १४ वटा टीमको सहभागिता रहेको छ । आयोजक सैनिकका दुई टीमले प्रतिस्पर्धा गर्दैछन् । विद्यालयस्तरमा सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले भने पचास हजार रुपैयाँ जित्नेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com