Connect with us

SPORTS

महेन्द्र बहुमुखी क्याम्पस च्याम्पियन

Avatar

Published

on

त्रिवि बीबीए फुटबल प्रतियोगिताको विजेता महेन्द्र बहुमुखी क्याम्पस टीमलाई उपाधि वितरण गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले भक्तपुरमा भएको त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनलमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयलाई टाईब्रेकरमा ५–३ गोलले पन्छाउँदै उपाधि जितेको हो ।
उपाधिसँगै महेन्द्र बहुमुखी क्याम्पसले ७५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता सैनिकले भने ३५ हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ ।
७० मिनेटको निर्धारित खेल एकएक गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमार्फत खेलको नतिजा निकालिएको हो । जसमा सैनिकबाट पहिलो पेनाल्टी प्रहार गर्न आएका करण श्रेष्ठ गोल गर्न असफल भएपछि सैनिक उपाधिबाट बञ्चित हुन परेको हो ।
सैनिकको पहिलो पेनाल्टी प्रहार रोकेका महेन्द्र बहुमुखीका गोलरक्षक रोहित न्यौपाने उत्कृष्ट गोलरक्षक बन्न सफल भए । त्यस्तै महेन्द्रकै सन्दीप गुरुङ उत्कृष्ट खेलाडी बन्दा पदमबहादुर विष्ट उत्कृष्ट मिडफिल्डर घोषित भए ।
सैनिकका नवीन थापा उत्कृष्ट डिफेन्डर र औसत थापा उत्कृष्ट स्ट्राइकरले पुरस्कृत भए ।
सर्वाधिक गोलकर्तामा पिपल्स क्याम्पसका धीरज केसी बने । उनले प्रतियोगिताभर दस गोल गरेका छन् । अनुशासित टीमको पुरस्कार भने के एण्ड के कलेजले हात पारे ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरका २३ कलेजहरुको सहभागिता रहेको प्रतियोगिताका विजेता र उपविजेता कलेज तथा उत्कृष्ट खेलाडीहरुलाई भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ । अघिल्लो वर्ष कास्कीको पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको उपाधि भक्तपुर बहुमुखी क्याम्पसले जितेको थियो । यस पटकको संस्करण जितेको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले अर्को संस्करणको प्रतियोगिता सञ्चालन गर्नेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com