Connect with us

SPORTS

सैनिक र महेन्द्र बहुमुखी क्याम्पस फाइनलमा

Avatar

Published

on

भक्तपुर बीबीए फुटबल) सैनिक र नेपाल कमर्स क्याम्पसबीच भएको सेमिफाइनल खेलका म्यान अफ द म्याच सैनिकका विजय घलेलाई पुरस्कृत गरिँदै । तस्बिर : इन डेप्थ

बीबीए कप फुटबल

भक्तपुर । भक्तपुरको सैनिक आवासीय महाविद्यालय र सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस भक्तपुरमा जारी बीबीए कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएका सेमिफाइनल खेलमा जीत दर्ता गर्दै सैनिक र महेन्द्र बहुमुखी उपाधि नजिक पुगेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने देशभरका २३ कलेजहरुको सहभागिता रहेको प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा सैनिकले काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसलाई १–० गोलले पन्छाएको हो ।
सैनिकको लागि खेलको ५० औं मिनेटमा विजय घलेले गोल गरेका थिए । खेलको निर्णायक गोल गरेका घले उक्त स्पर्धाका म्यान अफ दी म्याचसमेत घोषित भए ।
त्यस्तै अर्को सेमिफाइनलमा महेन्द्र बहुमुखीले काठमाडौंकै शंकरदेव क्याम्पसलाई ३–२ गोलले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
विजेता महेन्द्रको लागि खेलको ३४ औं मिनेटमा खवाङ्ह राई, ५२ औं मिनेटमा सुदीप गुरुङ र ६५ औं मिनेटमा पेम्बा तामाङले एकएक गोल गरेका थिए ।
शंकरदेवको लागि ४० औं मिनेटमा कुमार अधिकारी र ७० औं मिनेटमा सविन कार्कीले एकएक गोल गरेका थिए । उक्त स्पर्धामा महेन्द्रका खवाङ्ह राई म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण पुस २८ गते हुने प्रतियोगिताका संयोजक एवं भक्तपुर बहुमुखी क्याम्पसमा सहायक प्रमुख लक्ष्मीसुन्दर लवजूले जानकारी दिए ।
प्रतियोगिताका विजेताले ७५ हजार नगद पुरस्कार हात पार्दा उपविजेताले ३५ हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।
प्रतियोगितामा विजेता र उपविजेता टीमसँगै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिल्डफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टीमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ । अघिल्लो वर्ष कास्कीको पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको उपाधि भक्तपुर बहुमुखी क्याम्पसले जितेको थियो ।
प्रतियोगिता भक्तपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको संघका सदस्य इन्द्रभक्त राजलवटले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com