Connect with us

SPORTS

त्रिवि बीबीए कप फुटबल भक्तपुरमा हुने

Avatar

Published

on

पुस १८ गतेदेखि हुने त्रिवि बीबीए कप फुटबलबारे आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्ने कलेजहरुको फुटबल प्रतियोगिता यहीं पुस १८ गतेदेखि भक्तपुरमा हुने भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा हुने उक्त प्रतियोगितामा देशभरका २३ कलेजहरुको सहभागिता रहने भएको हो । जसमा काठमाडौं उपत्यकाका १६ र उपत्यका बाहिरका ७ वटा कलेज रहेको क्याम्पसले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगिताका संयोजक भक्तपुर बहुमुखी क्याम्पसमा सहायक प्रमुख लक्ष्मीसुन्दर लवजूले उपत्यकाबाहिर कास्कीका दुई वटा क्याम्पससँगै बाँके, दाङ, चितवन, सुनसरी र मोरङका एकएक क्याम्पसको सहभागिता रहेको बताए ।
उनका अनुसार प्रतियोगिताका विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पार्नेछन् ।
प्रतियोगिताको नियमानुसार जसले उपाधि जित्छ सोही क्याम्पसले प्रतियोगिताको आयोजना गर्नुपर्छ । अघिल्लो वर्ष कास्कीको पोखरीस्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको प्रतियोगिताको उपाधि भक्तपुर बहुमुखी क्याम्पसले जितेको थियो ।
प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक लवजूले जानकारी दिए ।
उक्त बजेटमध्ये प्रतियोगितामा सहभागी हुने क्याम्पसतर्फ उपत्यकाभित्रकालाई दर्ता शुल्क ३५ हजार र उपत्यका बाहिरकालाई २० हजार रुपैयाँ उठाइएको छ ।
प्रतियोगितामा विजेता र उपविजेता टीमसँगै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिल्डफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टीमलाई नगदसहित पुरस्कृत गरिने भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति दिनेश खड्गीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिता भक्तपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुनेछ ।
मंगलबार प्रतियोगिताबारे पत्रकार सम्मेलनसँगै टाइसीट निर्माण गरिएको थियो । जसअनुसार सहभागी २३ क्याम्पसहरुलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटको आधारमा दुई समूहका विजेता सीधै फाइनलमा पुग्नेछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com