Connect with us

SPORTS

३० वर्षपछि मिस्टर भक्तपुर पावर हुने

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरमा ३० वर्षपछि दोस्रोपटक शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिताअन्तर्गत मिस्टर भक्तपुर पावर हुने भएको छ । प्रतियोगितामा महिलातर्फ समेत पहिलो मिस भक्तपुर पावरको स्पर्धासमेत हुने भएको छ ।
भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका ९ वडा खेलकुद समितिले आउँदो चैत ९ गते उक्त प्रतियोगिता गर्ने भएको हो ।
यसअघि २०४५ साल साउन १२ गते प्रथम मिस्टर भक्तपुर पावर भएको थियो । ३० वर्ष रोकिएको मिस्टर भक्तपुर यस वर्ष गर्न लागिएको प्रतियोगिताका संयोजक एवं फिटनेस संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।
उनले प्रतियोगितामा पुरुषतर्फ ६२ केजीमुनि र ६२ केजीमाथि गरी दुई तौल समूहमा स्पर्धा गराइने बताए । महिलातर्फ भने खुला हुने उनको भनाइ थियो ।
‘प्रत्येक तौल समूहका खेलाडीले तीन चरणमा बेन्च प्रेस, स्क्वाट र डेड लिफ्टतर्फ बारबेल उठाउनुपर्ने नियम बनाएका छौं’, उनले भने, ‘खेलाडीले यी तीनवटामध्ये जुनमा बढी तौल सफलतापूर्वक उठाए, त्यसैलाई मान्यता दिइनेछ ।’
आयोजक समितिका अध्यक्ष राजेश प्रजापतिले खेलाडीहरुले तीनवटै चरणमा अनिवार्य भाग लिनुपर्ने नियम बनाइएको जानकारी दिए । पहिलो चरणमा कम्तीमा ५० केजी तौल उचाल्नुपर्नेछ । दोस्रो चरणमा भने कम्तीमा दुई किलो बढाएरमात्रै बारबेल उठाउन दिइनेछ ।
‘दोस्रो र तेस्रो चरणमा खेलाडीले उठाउने तौल निर्णायकलाई गोप्य रुपमा बुझाउनुपर्नेछ’, अध्यक्ष प्रजापतिले भने, ‘खेलाडीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन नदिन यस्तो व्यवस्था गरिन्छ ।’
उनले पुरुषतर्फ ५० र महिलातर्फ २० जना शारीरिक सुगठनका खेलाडीहरु सहभागी हुने अनुमान गरिएको बताए । उनका अनुसार चैत ९ गते फाइनल हुनुअघि चैत ८ गते प्रिजजिङ राउण्ड हुनेछ ।
प्रतियोगिताअन्तर्गत राखिएको बेन्च प्रेसमा खेलाडीले बेन्चमा उत्तानो परेर भारसहितको बारबेललाई आफ्नो छातीसम्म ल्याई दुवै हात सीधा हुने गरेर माथि उचाल्नु पर्नेछ । त्यस्तै स्क्वाटमा खेलाडीले भारसहितको बारबेललाई आफ्नो काँधमा राखेर हात पूरा तन्काएर माथि लानुपर्छ ।
डेड लिफ्टमा भने खेलाडीले सीधा उभिएर भारसहितको बारबेललाई हातले कम्मर माथिसम्म उठाएर पुनः जमिनमा छोड्नुपर्छ ।
३० वर्षअघि भएको मिस्टर भक्तपुर पावरको उपाधि विनेश जोन्छेले जितेका थिए । उनले बेन्च प्रेसमा ११५.५ केजी, स्क्वाटमा १२० केजी र डेड लिफ्टमा १३२ केजी गरी कूल ३६७.५ केजी उचालेर भक्तपुरकै बलियो पुरुष सावित गरेका थिए ।
प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल र प्रमाणसहित आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक मानन्धरले बताए । प्रतियोगिता भक्तपुर नपा ९ स्थित दत्तात्रय क्षेत्रमा खुला रुपमा गर्ने उनको भनाइ थियो ।

BUSINESS

भक्तपुरमै अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालन

Avatar

Published

on

By

शनिबारदेखि सञ्चालनमा ल्याइएको भादगाउँ स्पोर्टस् एण्ड लिजरको स्वीमिङ पुल । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासमेत गर्न सकिने गरी भादगाउँ स्पोर्टस् एण्ड लिजरले उक्त स्वीमिङ पुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।
उक्त पोखरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५० फिट चौडाइ र ८० फिट लम्बाइ रहेको छ । भादगाउँले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा एक करोड ८० लाख लगानीमा उक्त स्वीमिङ पुल निर्माण गरेको थियो ।
भादगाउँ स्पोर्टस् एण्ड लिजरका अध्यक्ष रविनारायण कायस्थले मनोरञ्जनसँगै प्रतियोगितासमेत गर्ने लक्ष्य लिएर स्वीमिङ पुल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘एक हप्ताको परीक्षणपछि शनिबारदेखि स्वीमिङ पुल सर्वसाधारणको लागिसमेत खुला गरेका छौं’, उनले भने, ‘स्वीमिङ पुलको लागि पानी शुद्धीकरण प्रणाली जडान गरेका छौं । जसले गर्दा पौडी खेल्दा आँखा पोल्ने तथा एलर्जी हुनेछैन ।’
उनका अनुसार पौडी पोखरीमा एकैपटक दुईसय जनासम्मले मनारेञ्जन लिन सक्छन् । जहाँ तीन देखि आठ फिटसम्मको गहिराइ छ । त्यस्तै डेढ फुट गहिराइ भएको बच्चाहरुको छुट्टै पौडी पोखरीको व्यवस्था गरिएको छ ।
‘पौडी पोखरीसँगै ज्याकुजी, साउना बाथ र स्टीम बाथको व्यवस्था गरेका छौं’, भादगाउँका सञ्चालक उत्तम थुसाले थपे, ‘यहाँ पौडी खेल्ने आउनेहरुको सुविधाको लागि स्वीमिङ कस्टम, ट्युबलगायत सबै पाइने व्यवस्था गरेका छौं ।’
पौडी पोखरी सञ्चालनमा ल्याउनुअघि नै भादगाउँले लनटेनिस र ब्याडमिन्टनका दुईदुईवटा कोर्ट सञ्चालनमा ल्याइसकेको छ । दुवै कोर्ट रात्रीकालीन समयमा समेत सञ्चालनमा ल्याउन सकिने गरी बत्तीको व्यवस्था गरिएको अध्यक्ष कायस्थले जानकारी दिए ।


लन टेनिस वा ब्याडमिन्टनका खेलाडीहरुको मागअनुसार पौडी पोखरी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
उसले सर्वसाधारणको लागि प्रतिदिन चार सय रुपैयाँ शुल्क राखेको छ । १२ वर्षमुनिका बालबालिकाको लागि भने तीनसय रुपैयाँ लाग्नेछ । त्यस्तै स्कुलका विद्यार्थीहरुको लागि एकसय पचास रुपैयाँमा पौडीको मज्जा लिन सकिने व्यवस्था गरिएको भादगाउँले जनाएको छ ।
करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको भादगाउँ स्पोर्ट एण्ड लिजरमा बालबालिकाको लागि फनपार्कसँगै सेमिनार हलसहितको रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याइएको छ । भादगाउँमा अध्यक्ष कायस्थका अनुसार करिब दुईसय जना क्षमताको सेमिनार हलसहितको रेस्टुरेन्ट सञ्चालनमा आइसकेको छ ।
उनले अबको ६ महिनाभित्र होटलसमेत सञ्चालनमा ल्याइने जानकारी दिए ।
‘भवनसहित थप नौ रोपनी क्षेत्रफल जग्गा भाडामा लिने सम्झौता भइसकेको छ’, उनले भने, ‘उक्त भवनमा ४० वटा कोठा व्यवस्था गर्दैछौं । जहाँ पार्किङको लागि प्रशस्त ठाउँ रहेको छ ।
सुरुमा दुई करोड रुपैयाँबाट लगानी सुरु गरिएको भादगाउँ स्पोर्ट एण्ड लिजर अहिलेसम्म नौ करोड पुगेको बताइएको छ ।

Continue Reading

SPORTS

आयोजक सैनिकद्वारा उपाधि रक्षा

Avatar

Published

on

By

सैनिक कप अन्तरविद्यालय रनिङ फुटबलको विजेता सैैनिकलाई पुरस्कार वितरण गरिँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालयले भक्तपुरमा आइतबार सम्पन्न अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको उपाधि आफ्नै पोल्टामा पारेको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा आइतबार भएको फाइनलमा ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जेल्सलाई २–१ गोलले पन्छाउँदै उपाधि रक्षा गरेको हो ।
आयोजक सैनिकले उपाधिसँगै नगद तीस हजार रुपैयाँसमेत आफ्नै बनाएको छ । उपविजेतामा सीमित लिटिल एञ्जेल्स भने नगद बीस हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको थियो ।
फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टीमबाट उत्तिकै आक्रमण र रक्षा गरेको खेलको दोस्रो हाफको आठौं मिनेटमा आयुष कुँवरले गोल गर्दै सैनिकलाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि मुनाल थापाले गोल गर्दै लिटिल एञ्जेल्सलाई बराबरीमा ल्याए ।
अत्यन्तै प्रतिस्र्धात्मक दोस्रो हाफको ३३ औं मिनेटमा पुनः आयुषले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै पुनः सैनिकलाई अग्रता दिलाए । उक्त गोलपछि दबाबमा परेको लिटिल्स एञ्जेल्सले आक्रामक खेल खेलेको थियो । जसको फलस्वरुप लिटिल एञ्जेल्सले बाहिरी डी एरियानजिकै दुईपटक फ्री किक पाए तर उक्त मौकालाई सदुपयोग गर्न नसक्दा सैनिकलाई नतिजा सुम्पन लिटिल एञ्जेल्स बाध्य भयो ।
प्रतियोगितामा सैनिकका आयुष कुँवर उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सैनिककै सन्तोष विष्ट उत्कृष्ट रक्षक बने । उनी सैनिकका कप्तानसमेत हुन् । सैनिककै पवन तामाङ उत्कृष्ट गोलकिपर र विमर्श थापा उदीयमान खेलाडी बने । लिटिल एञ्जेल्सका विषम पुन सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर नौ गोल गरेका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुलले शिल्ड, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काभ्रेसहित उपत्यकाका १४ विद्यालयको सहभागिता रहेको थियो । अठारौं संस्करणअघिसम्म आयोजक सैनिकले १३ पटक उपाधि उचालिसकेको छ । त्यस्तै सिद्धार्थ वनस्थलीले दुईपटक र एसओएस हर्मन माइनर तथा बेलर इन्टरनेसनलले एकएकपटक प्रतियोगिताको उपाधि जितेका थिए ।

Continue Reading

SPORTS

काठमाडौंका नरेशलाई उपत्यका श्रीको उपाधि

Avatar

Published

on

By

नरेश मालाकारलाई प्रथम उपत्यका श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधिले पुरस्कृत गर्दै सांसद महेश बस्नेत । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । काठमाडौंस्थित न्यू फ्लेक्स एण्ड फिटनेसका नरेश मालाकारले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यका श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि उचालेका छन् ।
ख्वप शारीरिक सुगठन तथा फिटनेस एसोसियसनद्वारा आयोजित प्रतियोगिताको ग्रायण्ड फिनालेमा पाँच जना स्वर्ण पदकधारीहरुलाई पछि पार्दै नरेशले उपाधि उचालेका हुन् ।
प्रतियोगिताको ७५ केजीभन्दा माथिको तौल समूहका स्वर्ण पदक विजेता नरेशले उपाधिसँगै एकलाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
त्यस्तै भक्तपुरको फिट स्टपका अमितकुमार मण्डल दोस्रो भए । ७० केजी तौल समूहका विजेता मण्डल उपविजेता बन्दै ३० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भए । प्रतियोगिताका निर्णायकहरुलाई नरेश र अमितबीच च्याम्पियन छान्न हम्मेहम्मे भएको थियो । दुवै जनाको प्रस्तुत र शारीरिक बनावट उस्ता उस्तै देखिएपछि निर्णायकहरुले उनीहरु दुई जनाबीचमात्रै थप स्पर्धा गराइएको थियो । जसमा हसमुख देखिएका र बढी तौलका कारण शरीर आकर्षक देखिएका नरेश बाजी मार्न सफल भए ।
प्रतियोगितामा काठमाडौंकै मसल वल्र्ड जिम एण्ड फिटनेसका सुदर्शन डंगोल तेस्रो भए । ७५ केजी तौल समूहका स्वर्ण पदकधारी सुदर्शनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
सेपस् २ फिटनेस एण्ड जिमका राजीव थापा चौथो भए । उनी ६० केजी तौल समूहका विजेता हुन् । त्यस्तै ६५ केजी तौल समूहका विजेता थ्रीस्टार फिटनेसका रामकाजी श्रेष्ठ पाँचौं हुँदा ५५ केजी तौल समूहका विजेता फ्लेक्स जिम एण्ड मसलका कामिन शेर्पा छैटौं भए ।
चौथौ, पाँचौं र छैटौं भएका राजीव, रामकाजी र कामिनले क्रमशप् १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।


प्रतियोगिताअन्तर्गत नै भएको खुला पुरुष फिजिक्सको उपाधि काठमाडौंको अर्किड फिटनेसका रवि गुरुङले उचाले । एक दर्जन बढी प्रतियोगीहरुलाई उछिनेका उनले उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।
त्यस्तै काठमाडौंकै पावर हाउसका गिरिराज रोक्का दोस्रो र मसल वल्र्डका जेनिस श्रेष्ठ तेस्रो भए । गिरिराज र जेनिसले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
प्रतियोगिताका विजेताहरुलाई भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
आयोजक ख्वप शारीरिक सुगठन तथा फिटनेस एसोसियसनका अध्यक्ष पदमलाल शिलकारले प्रतियोगितामा काठमाडौं उपत्यकाका ४२ जना शारीरिक सुगठकहरुको सहभागिता रहेको जानकारी दिए ।
उनले यस वर्ष सुरु गरिएको उपत्यका श्री शारीरिक सुगठन प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगिताको मुख्य निर्णायकमा राजेन्द्ररत्न तुलाधर रहेका थिए ।

Continue Reading

SPORTS

सैनिक र लिटिल एञ्जेल्स फाइनलमा

Avatar

Published

on

By

बलको लागि घम्साघम्सी गर्दै सैनिक र बुढानिलकण्ठका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सैनिक आवासीय महाविद्यालय र लिटिल एञ्जेल्स भिड्ने भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएका सेमिफाइनलमा खेलमा जीत हात पार्दै सैनिक र लिटिल एञ्जेल्सले उपाधि होड तय गरेका हुन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक सैनिकले बुढानिलकण्ठ स्कुललाई ट्राईब्रेकरमा ३–२ गोलले पन्छाएको हो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत खेलको निर्णय लिइएको थियो । जसमा बुढानिलकण्ठका तीन खेलाडीको पेनाल्टी प्रहार असफल हुँदा सैनिक भाग्यमानी ठहरिएको हो । बुढानिलकण्ठका एक खेलाडीको प्रहार गोलपोस्ट बाहिर जाँदा दुई खेलाडीको प्रहार गोलपोस्टमा ठोक्किएको थियो ।
सैनिकका दुई खेलाडीको पेनाल्टी प्रहारले पनि गोलपोस्टको जाली चुम्न पाएन । दुइटै प्रहार गोलपोस्टभन्दा बाहिर गएको थियो ।
दोस्रो सेमिफाइनलमा लिटिल एञ्जेल्सले काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुललाई ४–१ गोलले हराएको थियो । खेलको चौथो मिनेटमै समीर बनको गोलले अग्रता लिएको नेपाल प्रहरीले त्यसपछि कुनै गोल गर्न सकेन ।
उल्टै लिटिल एञ्जेल्स हावी भएको थियो । लिटिल एञ्जेल्सको लागि विशन पुनले दुई, सशांक गुरुङ र मुनाल थापाले एकएक गोल गरे ।
काठमाडौं उपत्यकाका १४ स्कुलको सहभागिता रहेको प्रतियोगिताका विजेताले उपाधिसँगै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले २० हजार नगद पुरस्कार पाउने आयोजक सैनिक आवासीय महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण जेठ १९ गते हुनेछ ।

Continue Reading

SPORTS

सैनिक, नेपाल प्रहरी, लिटिल एञ्जेल्स र बुढानिलकण्ठ सेमिमा

Avatar

Published

on

By

१८ औं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबलमा बलको लागि घम्साघम्सी गर्दै बुढानिलकण्ठ र साइपालका खेलाडी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । आयोजक सैनिक आवासीय महाविद्यालय, नेपाल प्रहरी स्कुल, लिटिल एञ्जेल्स र बुढानिलकण्ठ स्कुल भक्तपुरमा जारी अठारौं सैनिक कप अन्तरविद्यालय रनिङ फुटबल प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताको क्वार्टरफाइनल खेलमा जीत दर्ता गर्दै सैनिक, नेपाल प्रहरी, लिटिल एञ्जेल्स र बुढानिलकण्ठले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो क्वार्टरफाइनलमा आयोजक सैनिकको ए टीमले जेम्स स्कुललाई ३–० गोलले पन्छाएको हो । सैनिकको लागि मनोज खड्का, आयुष कुँवर र मनिष थापाले एकएक गोल गरेका थिए ।
त्यस्तै अर्को क्वार्टरफाइनलमा नेपाल प्रहरी स्कुलले नेपाली सेनाको रिपुमर्दिनी स्कुललाई १–० गोलले हराएको छ । नेपाल प्रहरीको लागि समीर वनले एकमात्रै निर्णायक गोल गरेका थिए ।
अर्को खेलमा बुढानिलकण्ठले साइपाल एकेडेमीलाई २–० गोलले पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । विजेता बुढानिलकण्ठको लागि दुइटै गोल विकास भण्डारीले गरेका थिए । यस जीतसँगै बुढानिलकण्ठले सेमिफाइनलमा आयोजक सैनिक ए टीमको सामना गर्ने भएको छ ।
प्रतियोगिताअन्तर्गतको अन्तिम क्वार्टरफाइनलमा लिटिल एञ्जेल्सले आयोजक सैनिकको बी टीमलाई ६–१ गोलको भारी अन्तरले पन्छाएको छ । विजेता लिटिल एञ्जेल्सको लागि विषम पुन र युनल थापाले दुईदुई तथा सुशांक गुरुङ र आदित्य कार्कीले एकएक गोल गरेका थिए ।
त्यस्तै सैनिक बीको लागि पारस मगरले एकमात्र सान्त्वना गोल गरे ।
उक्त जीतसँगै लिटिल एञ्जेल्सले सेमिफाइनलमा नेपाल प्रहरी स्कुलको सामना गर्ने भएको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनलका दुई खेल हुने आयोजक सैनिक स्कुलका खेलकुद इञ्चार्ज रञ्जित राणाले जानकारी दिए । उनका अनुसार आइतबार भने फाइनल तथा पुरस्कार वितरण हुनेछ ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १४ स्कुलको सहभागिता रहेको छ ।

Continue Reading

Trending

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU