Connect with us

SPECIAL

फसी देगभित्र अन्यत्रकै दक्षिणामूर्ति प्रतिस्थापन

Avatar

Published

on

वल्डफिल्डले १९१० सालमा स्थलगत भ्रमणपछि कोरेको भक्तपुर दरबार क्षेत्रस्थित फसी देग, दक्षिणामूर्ति र भक्तपुरको दिगु तलेजु रहेको भवन (रातो घेरा लगाइएको) सहितको चित्र ।

ईश्वरकाजी खाइजू

फसी देगमा प्रतिस्थापन गरिएको दक्षिणामूर्तिको मूर्ति ।

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित सिलु महादेव रहेको फसी देग मन्दिर पुननिर्माण भइरहेको छ । २०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर पुरानै ग्रन्थकुट शैलीमा पुनर्निर्माण भइरहेको हो । पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको उक्त मन्दिरभित्र अन्यत्रकै दक्षिणामूर्तिको मूर्ति प्रतिस्थापन गरिएको भन्दै विरोध गरिएको छ ।
फसी देगको बीचमा उत्तराभिमुख महादेवको शिवलिङ्ग रहेको छ । उक्त शिवलिङ्गको पश्चिममा अन्यत्रकै मन्दिरको दक्षिणामूर्तिको मूर्ति प्रतिस्थापन गरिएपछि विरोध भएको हो । दक्षिणामूर्तिको मूर्ति फसी देगको नभएको संस्कृतिकर्मी विनोदराज शर्माले जानकारी दिए ।
उनले उक्त दक्षिणामूर्तिको मूर्ति फसी देगकै पूर्वमा रहेको तत्कालीन गुठी संस्थान भक्तपुरको कार्यालय बसेको भवनस्थित मन्दिरको भएको स्पष्ट पारे ।
उक्त भवनको भूईतलामा दक्षिणामूर्तिको मन्दिर र सबैभन्दा माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुको मन्दिर रहेको उनको भनाइ थियो ।
छुट्टै मन्दिर हुँदाहुँदै दक्षिणामूर्तिलाई फसी देगभित्र प्रतिस्थापन गरिएकोमा उनले आपत्ति जनाए ।
‘वि.सं. १८९० सालको भूकम्पले उक्त भवनमा क्षति पु-यायो’, संस्कृतिविद् शर्माले भने, ‘उक्त भूकम्पले भक्तपुरका धेरै सम्पदाहरुलाई माटोमा मिलाएको थियो । जुन सम्पदाहरुले अहिलेसम्म जीवन पाएको छैन ।’
त्यस्तै सन् १९९० मा आएको अर्को महाभूकम्पले उक्त भवनमा थप क्षति पु-यायो । दिगु तलेजु मन्दिर पूर्ण नष्ट भयो । दक्षिणामूर्ति मन्दिरलाई भने यथावत रहेको उनले सुनाए ।
भूकम्पले क्षति पु-याएको उक्त भवनमा मर्मतसम्भार गरेर शाह तथा राणाकालमा छेंभडेल अड्डा राखिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले सुनाए । नेपालमा प्रजातन्त्र आएपछि उक्त भवनमा तहसीलदार कार्यालय राखिएको उनको भनाइ थियो । पञ्चायतका आएर उक्त भवनमा गुठी संस्थानको भक्तपुर शाखा राखिएको थियो । २०४५ सालको भूकम्पले उक्त भवनमा पूर्ण क्षति पु-याएको थियो । उक्त भूकम्पले भवनको भूई तलामा रहेको दक्षिणामूर्ति मन्दिरलाई समेत पूर्ण रुपमा क्षति पु-याएको संस्कृतिविद् शर्मा बताउँछन् ।
भूकम्पले क्षति पु-याएपछि दक्षिणामूर्तिको चोरी हुनबाट जोगाउन नजिकै रहेको फसी देगमा राखिएको उनले स्पष्ट पारे ।
‘२०४५ सालको भूकम्पले मन्दिर भत्काएपछि मूर्ति जोगाउन दक्षिणामूर्तिलाई फसी देगमा राखिएको थियो’, उनले भने, ‘फसी देगमा राखिएकै आधारमा अहिले त्यहीं प्रतिस्थापन गर्न पाइँदैन । दक्षिणामूर्ति पहिले जहाँ थियो त्यहीं प्रतिस्थापन गर्नुपर्छ ।’
तर उक्त मूर्ति रहेको गुठी भवन अहिलेसम्म बन्न सकेको छैन । भवन पुनर्निर्माण गर्न गुठी संस्थानले २०४८ सालमै उक्त भवन जगैसम्म भत्काएको थियो । गुठीले गएको वर्ष उक्त भवन पुनर्निर्माण गर्न भनी भक्तपुर नपामा नक्सा पेस गरेको थियो तर पहिलेकै स्वरुपमा नभएको भन्दै नपाले उक्त नक्सामा आपत्ति जनायो ।

अहिले नक्सा संशोधन भएर नपाबाट पुरातत्व विभाग पुगेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए ।
उनले उक्त भवनमा पहिले के के मन्दिर थियो आफूलाई जानकारी नभएको तर गुठीले आफ्नै कार्यालय भवनको रुपमा उक्त भवन बनाउन नक्सा पेस गरेको सुनाए ।
उक्त भवन र फसी देगमा प्रतिस्थापन गरिएको दक्षिणामूर्तिको मूर्तिबारे पुरातत्व विभागले समेत अनभिज्ञता जनाएको छ । विभागकी निमित्त महानिर्देशक सौभाग्य प्रधानाङले गुठी भवन र दक्षिणामूर्तिको लगत नभेटिएसम्म केही भन्न सकिने बताइन् ।
उनले दक्षिणामूर्ति गलत ठाउँमा प्रतिस्थापन गरिएको भए पहिलेकै स्थानमा राख्न विभागले पहल गर्ने स्पष्ट पारिन् ।
‘गुठी भवन बन्दैछ । दक्षिणामूर्ति त्यहाँको हो भने त्यहाँ नै राख्छौं’, निमित्त महानिर्देशक प्रधानाङले भनिन्, ‘एक ठाउँको मूर्ति अर्को ठाउँमा राख्न मिल्दैन । प्रमाण जुटेसम्म जहाँको हो, त्यहीं राख्नुपर्छ ।’

जगैसम्म भत्काएर खाली रहेको दक्षिणामूर्तिको मन्दिरसहितको गुठी भवन रहेको जग्गा (रातो घेरा लगाइएको) ।

उनले फसी देगमा प्रतिस्थापन गरिएको दक्षिणामूर्तिको ढुंगे मूर्ति प्राचीन स्वरुपको नभएको बताइन् । उनका अनुसार दक्षिणामूर्तिको मूर्ति र मूर्ति विराजमान भएको कमलको आशनको ढुंगा फरकफरक छन् । आशनको ढुंगा प्राचीन शैलीको देखिने तर दक्षिणामूर्तिको ढुंगा प्राचीन नदेखिएको उनको भनाइ थियो ।
विभागले तयार गरेको भक्तपुर नगर क्षेत्रको सम्पदाहरुको इन्भेन्ट्रीमा भने गुठी भवन र दक्षिणामूर्तिको लगत उल्लेख छैन ।

को हुन् दक्षिणामूर्ति ?

संस्कृतिविद् शर्माका अनुसार दक्षिणामूर्ति पशुपति महादेवका गुरु हुन् । त्यसैले काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि दक्षिणामूर्तिको मन्दिर रहेको छ ।
‘दक्षिणामूर्ति पशुपति महादेवका पनि गुरु हुन् । उनी ऋषि हुन् तर सप्तऋषिभित्र नपर्ने भएकाले दक्षिणामूर्ति त्यति चर्चामा छैन’, उनले भने, ‘उनी गोप्य ऋषि मानिन्छ । तान्त्रिक पूजाआजा तथा तन्त्रमन्त्रको प्रयोग हुने ठाउँमा दक्षिणामूर्तिको नाम लिइन्छ ।’
धेरै प्रचार गरिँदा आफ्नो सिद्धि खिइन्छ भन्ने विश्वासले दक्षिणामूर्तिलाई गोप्य राख्दै आएको शर्मा स्पष्ट पार्छन् ।
दक्षिणामूर्तिको प्रत्येक वर्ष गुरु पूर्णिमाको दिन एकदिनमात्रै पूजाआजा हुने उनले जानकारी दिए ।
उनका अनुसार भूपतीन्द्र मल्लभन्दा पाँचपुस्ता अघि भक्तपुरमा दक्षिणामूर्तिको मन्दिर निर्माण गरिएको हुनसक्छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com