Connect with us

SPECIAL

भक्तपुरको होली : साहसी महिलाको कथा

Avatar

Published

on

भक्तपुर नपा ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमा होलीको अवसरमा प्रदर्शनमा राखिएको पुरुष यौन अंग रुपी काठ । तस्बिरहरु : ईश्वरकाजी खाइजू

ईश्वरकाजी खाइजू

भक्तपुर । होली सुरु भएपछि भक्तपुरको एउटा कथालाई दोहो¥याइन्छ । सबै यसैमा रमाउन्छन्, सन्तुष्टि लिन्छन् र सञ्चारमाध्यम पनि यसै कथाले भरिन्छन् ।
त्यो कथा हो, होली सुरु हुनु सातदिनअघि देखि पूर्णिमासम्म भक्तपुर नपा ९ दत्तात्रयस्थित भीमसेनको मन्दिरमा झुण्ड्याउने पुरुषको यौन अंग रुपी काठको । काठलाई पुरुषको यौन अंगको रुप दिइएको छ । जसलाई आजभोलि भीमसेनको यौन अंग भनेर अत्यधिक प्रचार गरिएको छ ।
यहीं अंगसँग जोडिएर आउँछ, काठ छोप्न प्रयोग गरिने रातो कपडा । रातो कपडामा उक्त काठ छिर्ने गरी महिलाको यौन अंग रुपी प्वालसमेत पारिएको छ । जसलाई पछिल्लो समय द्रोपतीको यौन अंग नामाकरण गरिएको छ । जुन तोडमोड गरिएको मनगढन्ते कथामात्रै भएको संस्कृतिविद्हरु बताउँछन् ।
उनीहरुका अनुसार भक्तपुरको होली भने साहसी महिलाको कथा हो र सोही महिलाको वीरताको प्रतीक हो ।
अहिले प्रचारमा आएजस्तो भक्तपुरको होली अश्लील नभई श्लील पर्व भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘भक्तपुरको दत्तात्रयको भीमसेन मन्दिरमा होलीका अवसरमा हुने क्रिया अश्लील होइन, श्लील हो’, उनले भने, ‘कालान्तरमा यस क्रियालाई तोडमोड गरेर अश्लील बनाइयो । मानिसहरु यसमै रमाउन थाले र यो नै होली पर्व हुन थाल्यो ।’
उनका अनुसार भीमसेन मन्दिरमा होलीका सन्दर्भमा हुने क्रियाको छुट्टै कथा (किम्बदन्ती) रहेको छ । जुन किम्बदन्तीले महिलाको साहसलाई उजागर गरेको छ ।

यस्तो छ किम्बदन्ती

मानिसहरुलाई खानलाउन समस्या नभएको समय थियो । दुःख र मेहनत धेरै गर्न नपर्ने भएकाले मानिसहरु भोगविलासमा ढल्कँदै गरेको अवस्था थियो । त्यस समय एक पुरुष सा¥है नै कामुक हुन थाल्यो । उनी यति कामातुर हुन थाले कि दैनिक काम वासना तृप्त गर्नुपर्ने अवस्था आयो । हुँदाहुँदा उनले देखेका केटी तथा महिला जति उनको काम वासनाको शिकार हुन थाले । महिलामाथि जबरजस्तीको घटना नियन्त्रण बाहिर गयो । सबैतिर त्राहिमान । कमैमात्रै महिला होलान् उनीबाट बचेका । यत्तिकै एक महिलाले साहस गरेर ती पुरुषलाई सजाय दिने सोचिन । उनले दृढ निश्चय गरिन् कि ती पुरुषलाई ठीक पारेरै छाड्छु । आफू दृढ निश्चयी भएपछि ती महिलाले कामातुर पुरुषलाई यौन सम्बन्धको प्रस्ताव गर्छिन् । महिलाको प्रस्तावबाट मोहित भएर ती पुरुष कामातुर भएर उनीसामु जान्छन् ।
जसै पुरुष कामातुर भएर आफ्नो सामुन्ने आउँछन्, त्यहीं समय महिलाले पुरुषको यौन अंग च्वाट्टै काटिदिन्छिन् । ती महिलाले पहिले आफ्नो साथमा हतियार तयार राखेको ती पुरुषले पत्तै पाउँदैनन् र आफ्नो यौन अंग गुमाउँछन् । यसरी काटिएको कामातुर पुरुषको यौन अंग यहीं हो भनी देखाउन नगर परिक्रमा गराइन्छ । महिलाहरुले पनि कामातुर पुरुषबाट छुटकारा पाएको खुसीयाली मनाउँछन् ।
यसरी महिलाको साहस उजागर हुने होली पर्व अहिले उल्टै महिलाको साहस तुहाउने पर्वमा रुपान्तरित भएको संस्कृतिविद् धौभडेल बताउँछन् ।
अरु पुरुषहरुलाई समेत महिलामाथि जबरजस्ती गरे यसरी नै यौन अंग काटिइन्छ भन्ने देखाउन वर्सेनि क्त लिंगको प्रदर्शनको व्यवस्था गरिएको हुनसक्ने उनी बताउँछन् ।
तर यो प्रदर्शन विभिन्न कालखण्डमा मोडिएर हालको अवस्थामा आएको हुनसक्ने उनले अनुमान लगाए । महिलाले गरेको साहसको खुसीयालीमा मनाइने होली अहिले महिलाले उल्टै डरत्रास पाल्नुपर्ने र महिलामाथि पुनः जबरजस्ती र दमन हुने स्थिति आउनु विकृति भएको उनको भनाइ थियो ।
उनका अनुसार मल्ल राजा जगतप्रकाशले सत्रौं शताब्दीमा आएरमात्रै भीमसेन मन्दिर निर्माण गराएका थिए तर होलीकोे चलन भने त्योभन्दा धेरै पहिलेदेखि थियो । ‘त्यसैले भीमसेन मन्दिर निर्माणपछि मात्रै होली पर्व मोडिएर आएको हुनसक्छ’, उनले भने ।

‘चीर स्वायगु’ अर्थात ‘यौन समागम’

काठमाडौं उपत्यकामा तिथिअनुसार पूर्णिमाको सातदिनअघि ‘चीर स्वायगु’ भनेर होली सुरु भएको जनाउ दिइन्छ । ‘चीर स्वायगु’ को शाब्दिक अर्थ पनि ‘यौन समागम’ हुने संस्कृतिकर्मी धौभडेल बताउँछन् ।
‘योअनुसार भीमसेन मन्दिरमा काठको लिंगलाई रातो कपडाको बीचमा रहेको प्वालमा पसाउने कार्य पनि प्रतीकात्मक रुपमा ‘यौन समागम’ नै हो’, उनी भन्छन् ।
उनका अनुसार काठमाडौंको बसन्तपुरमा गरिने ‘चीर स्वायगु’ पनि प्रतीकात्मक रुपमा ‘यौन समागम’ नै हो । ‘लिंग रुपी काठलाई सप्तरंगी कपडाका टुक्राहरु बाँधेर योनी रुपी प्वालमा ठड्याउनु पनि यौन समागमकै कार्य हो’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘यो गुप्त कार्य हो, जसले गर्दा अश्लील लाग्दैन तर भक्तपुरको भीमसेन मन्दिरमा हुने कार्य खुला हुन गयो र यो अहिले अश्लील बन्न थाल्यो ।’
उनका अनुसार भीमसेन मन्दिरमा पहिले काठको लिंगमात्रै थियो । पछि कपडाले छोपियो र त्यही कपडामा पछि बीचमा प्वाल पारियो ।

होली : यौन शिक्षा दिने माध्यम

संस्कृतिविद्हरुका अनुसार होली अश्लील पर्व नभई यौन शिक्षा दिने पर्व हो । संस्कृतिका अध्येता हरिशरण राजोपाध्यायका अनुसार होली पर्व वसन्त ऋतुको आगमनको मौसममा मनाइन्छ ।
‘यो मौसम उराठलाग्दो, गर्मी अलिअलि चढ्दै आएर दिन उखरमाउलो हुन्छ । धार्मिक रुपले पनि यो मौसममा कामदेव र रतीको क्रियाकलाप बढ्छ भनिन्छ’, उनले भने, ‘त्यसैले जवानी चढेका युवतीहरुलाई तोरीको फूलमात्रै देख्दा पनि पोइलो जाऊँ जस्तो हुन्छ रे ! युवाहरुलाई पनि मस्त जवानी फुलेकी युवती देख्नेवित्तिकै भगाई लैजाऊँ जस्तो हुन्छ रे !’
यस्तो मौसममा युवायुवतीहरुले कुनै नकाम नगरुन् भनेर युवायुवतीहरुलाई मनोरञ्जनमा लिप्त बनाउन होली पर्व मनाइने गरिएको उनले सुनाए ।
उनले होलीमा गीतसंगीतमार्फत युवायुवतीहरुमा मायाप्रेम अभिव्यक्त गराइने स्पष्ट पारे ।
जस्तैः
होलीया मेला, मय्जूङ मस्युला !
अविरं छंगु ख्व हिसी दयेक बिई !!
अर्थात्,
होलीको मेला, मैंयालाई थाहा छैन र !
सिन्दूरले तिम्रो सिउँदो रंग्याइदिऊँ कि !!
होलीमा गीतसंगीत बजाएर टोलटोलमा घुम्ने प्रचलन अद्यापि छँदै छ । यो कार्य आफू सुहाउँदो महिलाको खोजी गर्नु भएको संस्कृतिकर्मी राजोपाध्याय थप्छन् । ‘अरु बेला त्यत्तिकै टोलटोलमा घुम्न गए चोर्न आएको हो कि, चेलीबेटी जिस्क्याउन आएको हो कि भनेर टोलवासीले लखेटेर पठाउन पनि सक्छन्’, उनले भने, ‘तर होलीका दिन गीतसंगीतको साथमा जाँदा शंका गर्ने ठाउँ हुँदैन र आफूलाई मनपर्ने केटीलाई गीतमार्फत मायाप्रेमको प्रस्ताव गर्ने तथा व्यक्त गर्ने मौका मिल्छ ।’
जस्तैः
झ्याले दंकंः तुकंः मा
व हे ल्यासे जिता मा
व ल्यासे मदेकः
जा हे मनया ।
अर्थात्,
झ्यालभरि तोरीको माला
मलाई त्यही तरुनी चाहिन्छ
त्यो तरुनी नपाएसम्म
भातै खान्न ।
यसरी होलीमा गीतसंगीतमार्फत यौन शिक्षा दिएर युवायुवतीहरु कुबाटोमा जानबाट रोक्छ । तर अहिले होलीका नाउँमा विकृति र विसंगति बढेको संस्कृतिविद्हरुको गुनासो छ ।
यो समयमा कृषि पेसामा संलग्न उपत्यकावासी केही फुर्सदिला हुन्छन् । मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तथा काम वासनामा ढल्कने हुन्छन् ।
तत्कालीन समयमा मनोरञ्जनको साधनमा गीतसंगीतबाहेक अरु थिएन । त्यसैले गीतसंगीतमार्फत सुन्दरी युवतीको खोजीमा निस्कने परम्पराको विकासस्वरुप होलीमा बढी यौनरसयुक्त गीतसंगीत गुञ्जने गरेको संस्कृतिविद्हरु बताउँछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com