Connect with us

SOCIAL

रोटरी क्लव अफ भक्तपुरकी अध्यक्षमा घिमिरे

Avatar

Published

on

सपथ ग्रहण गर्दै रोटरी क्लव अफ भक्तपुरको लागि सन् २०२०–२१ को लागि निर्वाचित पदाधिकारीहरु । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । सन् २०२०–२०२१ को लागि रोटरी क्लव अफ भक्तपुरकी अध्यक्षमा भवानी घिमिरे निर्वाचित भएकी छन् । क्लवकी उपाध्यक्षमा गंगालक्ष्मी अवाल, सचिवमा डा. ज्ञानेन्द्रनारायण धौभडेल र कोषाध्यक्षमा प्रभातराज राई रहेका छन् । त्यस्तै बोर्ड निर्देशकहरुमा चीरञ्जीवी लामिछाने, दशरथ प्रजापति, शिशिर वाग्ले, कृष्णेश्वरी हाडा र श्रीशंकर प्रधानाङ रहेका छन् ।
क्लवको आगामी अध्यक्षमा उदयराम श्रेष्ठ र भावी अध्यक्षको लागि विनिता हाडा मनोनीत भएका छन् ।
त्यस्तै क्लवको सचेतकमा सुन्दरप्रताप राणा, प्रशिक्षकमा प्रा.डा. उत्तमकृष्ण कर्माचार्य, क्लब मेन्टरमा ओमकृष्ण श्रेष्ठ र सम्पादकमा राजकुमार सुवाल रहेका छन् । क्लवका विभिन्न विभागको संयोजकहरुमा रञ्जित मारिखू, राजेश त्वानाबासू, प्रेमलाल ध्वजू, सुन्दर बोहजू र हरिचन्द्र सत्याल रहेका छन् ।
सन् २०२०–२१ को लागि निर्वाचित रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरुलाई सहायक डिस्ट्रिक्ट गभर्नर कौशलेन्द्रकुमार दासले सपथ खुवाएका थिए । त्यस्तै तीनजना नयाँ सदस्य वीरेन्द्र वैद्य, सुनिल ठकुरी र पर्लबिगा कार्कीलाई पनि दासले सपथ खुवाउँदै रोटरी क्लवमा स्वागत गरेका थिए । सन् २०१९–२० का अध्यक्ष भानुभक्त जोन्छेले नयाँ अध्यक्ष घिमिरेलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

रोटरी मनका धनीहरुको क्लव हो : गभर्नर पोखरेल

यसैबीच रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजीव पोखरेलले रोटरी क्लव पैसाले नभई मनका धनीहरुको क्लव भएको स्पष्ट पारेका छन् ।
तर सर्वसाधारणमा रोटरी क्लव भन्नेबित्तिकै पैसाका धनीहरुको संस्था भन्ने छाप परेको उनको भनाइ थियो ।
रोटरी क्लव अफ भक्तपुरको १७ औं पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पोखरेलले भने, ‘रोटरी धनीहरुको क्लव होइन । मनका धनीहरुको संस्था हो । त्यसैले यसका सम्पूर्ण सदस्यहरु रोटरीको गरिमालाई थप उँचो बनाउन क्रियाशील हुनुपर्छ ।’
उनले जहाँ समस्या छ र सहयोग आवश्यक छ भने त्यहाँ रोटरी पुग्दै आएको जिकिर गरे ।
‘रोटरीका सम्पूर्ण सदस्य यसका राजदूत हुन्’, गभर्नर पराजुलीले थपे, ‘त्यसैले रोटरी सदस्यहरुबारे समाजमा सकारात्मक छाप पर्नुपर्छ । सदस्यहरु इमानदार हुनुपर्छ । सहयोगी हुनुपर्छ ।
गएको वर्ष रोटरी इन्टरनेसनलबाट नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको परियोजना सञ्चालन भएको उनले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको लागि करिब २ अर्ब रुपैयाँको लागि ५२ वटा परियोजना माग भएको छ ।

मेधा माविलाई ११ लाख २० हजार सहयोग

त्यस्तै रोटरी क्लव अफ भक्तपुरले भूकम्पले क्षति पु-याएको भक्तपुर नपा ३ स्थित मेधा माध्यमिक विद्यालयको भवन निर्माण गर्न रोटरी इन्टरनेसनलबाट प्राप्त रकमको दोस्रो किस्ता हस्तान्तरण गरिएको छ ।
डिस्ट्रिक गभर्नर पोखरेलले दोस्रो किस्तावापतको रकम ११ लाख २० हजार रुपैयाँको चेक मेधाका प्रधानाध्यापक गंगाधर हाडालाई हस्तान्तरण गरेका हुन् । अघिल्लो वर्ष पहिलो किस्तावापतको ११ लाख २० हजार रुपैयाँ नै हस्तान्तरण गरिएको थियो ।
२०७२ सालको भूकम्पले क्षति पु-याएको मेधाको भवन अहिले पुनर्निर्माण भइरहेको छ । उक्त भवन निर्माणको लागि पुनर्निर्माण प्राधिकरणले करिब एक करोड ७ लाख, भक्तपुर नपाले २० लाख र रोटरी क्लवले २२ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com