Connect with us

SOCIAL

फरार अभियुक्तहरु धमाधम पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुर प्रहरीले चोरी तथा बैंकिङ कसुरमा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न सफल भएको छ ।
भक्तपुर प्रहरीले गएको एकसातामा मात्रै तीनजना चोरी मुद्दा र एकजना बैंकिङ कसुर मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बिहीबारमात्रै दुईजना चोरी मुद्दाका फरार अभियुक्त सुजन दाहाल र मिलन पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले सञ्जय ठिमीको जाहेरीले चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असार ११ गते एक वर्ष ६ महिना कैद र दुई लाख सत्ताइस हजार एक सय रुपैयाँ जरिवाना फैसला भएका दाहाल र पाण्डे फरार रहँदै आएको बताए ।
भक्तपुरको सूर्यविनायक नपा ५ सुवर्णचोक बस्ने २५ वर्षीय दाहाल र सूर्यविनायक नपाकै वडा नं. ६ बनाचौर बस्ने ३२ वर्षीयलाई परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार भक्तपुरबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
त्यस्तै परिसरबाटै खटिएको प्रहरी टोलीले चोरी मुद्दामै फरार काभ्रेपलाञ्चोकको नाग्रेगगर्चे गाविस ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पनि पक्राउ गरेको छ ।
उनलाई साउन ६ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी प्रेमलाल भँडेल, अमिता ब्याञ्जु, मनमाया माकजूको जाहेरीमा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत १५ गते ६ वर्ष ९ महिना २५ दिन कैद र चौहत्तर हजार एक सय सन्तानब्बे रुपैयाँ जरिवाना फैसला भई फरार रहँदै आएका थिए ।
यसैबीच कृष्णगोपाल राजलवटको जाहेरीले बैकिङ कसुर मुद्दामा ललितपुरको पाटनस्थित उच्च अदालतबाट २०७५ चैत २४ गते २ महिना कैद र ५० लाख रुपैयाँ जरिवाना फैसला भएर फरार भक्तपुरको सूर्यविनायक नपा ५ वासुटोल निवासी भुपेन्द्र गोराजूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका चारैजनालाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि चारैजनालाई काठमाडौंको सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाउने आदेश दिएको छ । सोहीअनुसार उनीहरु सबैलाई केन्द्रीय कारागार पठाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com