Connect with us

SOCIAL

जबरजस्ती करणी गरेको वर्षदिनपछि पक्राउ

Avatar

Published

on

Web Picture

भक्तपुर । सत्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको एक वर्षपछि एक युवालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका ९ घर भई भक्तपुरको मध्यपुर थिमि नपा ४ मध्यपुर अस्पताल अगाडि मासुपसल गर्दै आएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भण्डारीले २०७६ साल जेठ २७ गते पत्रिकाको ग्राहक बनाउने क्रममा १७ वर्षीया बालिकालाई आफ्नै डेरा कोठामा लगी डर, धाकधम्की दिई जबरजस्ती करणी गरेका थिए । भण्डारीले जबरजस्ती करणी गरेपश्चात गर्भवती भई ती बालिकाले २०७६ साल माघ २६ गते छोराको जन्म दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
जबरजस्ती करणीबाट गर्भ बसेर छोराको समेत जन्म भएपछि बालिकाले आफूलाई बलात्कार गर्ने भण्डारीलाई खोज्दा फेला नपरेको भन्दै उनलाई खोजतलास गरी कारबाही गरी पाउन असार १४ गते महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन् । बालिकाको जाहेरी परेपछि प्रहरीले भण्डारीलाई खोजतलास गर्दै जाँदा बुधबार फेला पारेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
भण्डारीलाई नियन्त्रणमा लिएपछि कानुनबमोजिम जिल्ला अदालत भक्तपुरमा पेस गरी थप अनुसन्धानको लागि सात दिनको म्याद थप भएको उनले बताए ।
उनका अनुसार घटना वर्षदिनसम्म गुपचुप हुँदा बलात्कारी फरार रहँदै आएको थियो । वर्षदिनसम्म जबरजस्ती करणी गर्ने भण्डारी फेला नपरेपछि पीडित बालिका प्रहरीकहाँ पुगेकी थिइन् ।
जबरजस्ती करणी मुद्दाको कसुरबमोजिम एकवर्षे हद म्याद भए ता पनि कोभिड १९ संक्रमणको कारण देशभर २०७६ चैत ११ गतेबाट बन्दाबन्दी भएको र उक्त बन्दाबन्दीको अवधिलाई शून्य समय मानिने सर्वोच्च अदालतको निर्णयानुसार जबरजस्ती करणी मुद्दाको एक वर्षे हद म्याद बाँकी नै रहेको मानेर जबरजस्ती करणसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक गिरीले स्पष्ट पारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com