Connect with us

SOCIAL

लकडाउनले डोलेश्वर महादेव मन्दिरलाई पुजारी पाल्न सकस

Avatar

Published

on

सूर्यविनायक नपा ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसर ।

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई पुजारी पाल्नै धौ धौ भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा पुजारीलाई पाल्न मन्दिरलाई सकस परेको हो ।
मन्दिरमा चार पुजारी रहेका छन् । जसमा मूल पुजारी बच्चुराम जंगम, पुजारी विजय जंगम र सहायक पुजारीद्वयमा नारायण प्याकुरेल र प्रश्रित अधिकारी रहेका छन् । डोलेश्वर महादेव मन्दिर भक्तपुरकै सबैभन्दा बढी भेटी संकलन हुने मन्दिर हो ।
लकडाउनअघि मन्दिरले वार्षिक कम्तीमा ४५ लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो तर लकडाउन सुरु भएपछि मन्दिरको आम्दानी शून्य जस्तै भएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए ।
‘पहिले मासिक सरदर चार लाख आम्दानी भएको थियो’, उनले भने, ‘तर चैत ११ यता आम्दानी शून्य बराबर छ ।’
उनले लकडाउन लम्बिँदा पुजारीसँगै गाईगोठ हेर्ने दुई जना, एकजना भान्छे, समितिको प्रशासन हेर्ने तीन जना र एक सफाइ कर्मचारी गरी १२ जनालाई पाल्न समितिलाई सकस भएको बताए ।
उनका अनुसार मन्दिरका पुजारीसहित १२ जनालाई समितिले मासिक एक लाख ६८ हजार रुपैयाँ पारिश्रमिक दिनुपर्छ तर लकडाउन बढेपछि मन्दिरको आम्दानी शून्यजस्तै भएपछि ६ जना कर्मचारीलाई कटौती गरेको उनको भनाइ थियो ।
६ जना कर्मचारीलाई कटौती गर्दा पनि मन्दिरले मासिक ८० हजार रुपैयाँ व्यहोर्नुपरेको उनले सुनाए ।
‘अहिले चार जना पुजारी र गाईगोठ हेर्ने दुई जनाबाहेक बाँकी ६ जनालाई कटौती गरेका छौं’, अध्यक्ष चालिसेले भने, ‘उहाँहरुलाई आवश्यक परे बोलाउँछौं भनेका छौं । मन्दिरको अप्ठ्यारो उहाँहरुले बुझ्नुभएको छ ।’
यता पुजारीहरुले भने आफूहरुलाई समितिले कममात्रै पारिश्रमिक दिने गरेको गुनासो गरेको छ । मन्दिरको आम्दानीअनुसार आफूहरुको पारिश्रमिक पनि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।
पछि पारिश्रमिक बढाएपछि पुजारीहरुको दरबन्दी कायम गरी पारिश्रमिकसँगै अन्य सेवासुविधा निर्धारण गरिएको उनी बताउँछन् । तर अन्य सेवा सुविधा भने काटिएको पुजारीहरुले गुनासो गरेका छन् । पहिले पुजारीहरुलाई मन्दिरमै खाना तथा खाजा खाने व्यवस्था थियो । तर अहिले उक्त व्यवस्था काटिएको छ ।

मन्दिर पुग्न थाले भक्तजन

यसैबीच श्रावणी मेलाअन्तर्गत साउनको पहिलो सोमबार डोलेश्वर महादेव मन्दिरमा पुग्ने भक्तजनको संख्या बढेको छ । गएरातिदेखि परेको वर्षा छिचोलेर सोमबार डोलेश्वर महादेव मन्दिरमा भक्तजन पुगेका छन् ।
भक्तजन पुगेसँगै मन्दिरको आम्दानी हुने समितिले विश्वास लिएको छ । समितिले मन्दिरको उत्तरढोकामात्रै खोलेको छ तर भक्तजनले मन्दिरभित्रै पुगेर पूजा गर्न दिएको छैन ।
सरकारले घोषणा गरेको लकडाउन साउन ७ गतेसम्म लम्बिएको छ । त्यसपछि सरकारले गर्ने निर्णयानुसार समितिले सर्वसाधारणलाई मन्दिर भित्र पूज ागर्न दिने नदिने निर्णय गरिने समितिका अध्यक्ष चालिसेले जानकारी दिए ।
सोमबार डोलेश्वर महादेवसँगै भक्तपुर नपा ९ तचपालस्थित दत्तात्रय मन्दिर, सूर्यविनायक नपाकै अनन्तलिंगेश्वर महादेव, सुवर्णेश्वर महादेव, आशापुरी महादेव र चाँगुनारायणको यातु महादेव, ज्योतिर्लिंगेश्वर महादेवलगायतका शिव मन्दिरमा भक्तजनहरु पुगेका छन् ।
स्थानीय तहहरुले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न यसअघि मन्दिरमा पूजाआजा निषेध गरेका थिए । सर्वसाधारण मन्दिरमा जान नदिन प्रत्येकजस्तो मन्दिरमा तालाबन्दी गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com