Connect with us

SOCIAL

लुँ ध्वाकाका मूर्तिका प्वाल ठूलो हुँदै

Avatar

Published

on

भक्तपुर दरबार क्षेत्रस्थित लुँ ध्वाका र पचपन्न झ्याल दरबार । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित लुँ ध्वाका (सुन ढोका–स्वर्णद्वार) जीर्ण बन्दै आएको छ । संरक्षण अभावमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले पूरा गरेको लुँ ध्वाका जीर्ण बनेको हो ।
सुनलाई नेपालभाषामा लुँ र ढोकालाई ध्वाका भनिन्छ । त्यहीं लुँ ध्वाका सुन ढोका, स्वर्णद्वार हुँदै अहिले गोल्डेन गेटले परिचित हुँदै आएको छ ।
लुँ ध्वाकामा रहेका भैरव र भद्रकालीको मूर्ति प्वाल परेर कुरुप बनेका छन् । भैरवको मूर्तिको धेरै ठाउँमा प्वाल परेको छ । गणेशको आशन पनि जीर्ण बनेको छ ।
लुँ ध्वाकाको भित्री भाग काठ, ढुंगा र ढलोटले बनेको छ । उक्त काठ र ढुंगामाथि पित्तलको पाताले मोडिएको छ । जसमा सुनको जलप लगाइएको छ । सुनको जलप लगाइएकोले यसलाई लुँ ध्वाका भनिएको हो । पित्तलको पाता धेरै ठाउँमा प्वाल परेर कुनै पनि बेला उप्किन सक्ने सम्भावना बढेको छ । लुँ ध्वाकाभित्रको काठसमेत कतैकतै मक्किन थालेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार लुँ ध्वाकामा खापा अड्याउन राखिएको ठाउँमा बढी जीर्ण भएको छ ।
‘२० वर्षअघि रौबराबरको प्वाल भएको भैरव र भद्रकाली मूर्तिमा अहिले औंला नै छिर्ने भइसके’, मूल नाइके जोशीले भने, ‘सुरुदेखि लुँ ध्वाकाको संरक्षण गर्न भन्दै आएको अहिलेसम्म हुन सकेको छैन ।’
लुँ ध्वाकामा रहेका मूर्ति तथा आकृतिहरुमा हरियो ढुसी लाग्दा भने पुरातत्व विभागले दुईतीनपटक सफा गरिसकेको उनी बताउँछन् तर लुँ ध्वाका कुरुप हुने गरी भएको प्वाल टाल्ने गरी संरक्षणको काम नभएको उनले गुनासो गरे ।

नेपाल ध्वाका बन्यो लुँ ध्वाका

लुँ ध्वाका भएर भक्तपुरको तलेजु प्रवेश हुन्छ । मल्ल राजाहरुको इष्ट देवता तलेजु मानिन्छ । त्यसैले आफ्नो इष्ट देवता तलेजु पुग्ने प्रमुख बाटोमा मल्ल राजाहरुले प्रवेशद्वार बनाएका थिए । पहिले यस द्वारलाई नेपाल ध्वाका (द्वार) भनिने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
मल्ल राजाहरुको चार पुस्ताको प्रयासपछि मात्रै लुँ ध्वाका पूरा भएको इतिहास रहेको उनको भनाइ थियो । उनका अनुसार लुँ ध्वाका पूरा गर्ने रणजीत मल्लका जीजु बाजे जगतप्रकाश मल्लले यो ढोका बनाउन पहल गरेका थिए । पर्याप्त सुन नभएपछि जगतप्रकाश मल्लको पहल अघि बढेन । जगतप्रकाशपछि उनका छोरा जीतामित्र र नाति भूपतीन्द्र मल्लले नेपाल ध्वाकामा सुनको जलप लगाउने केही काम गरे ।
‘तर नेपाल संवत् ८७४ अर्थात वि.सं. १८११ मा रणजीत मल्लको पालामा नेपाल ध्वाकाको सबै भागमा सुनको जलप लगाउने काम पूरा भयो’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसपछि लुँ ध्वाका नामले पुज्न थालियो ।’
लुँ ध्वाकाको तोरणमा रहेको तलेजु भवानीको पञ्चमुखी र दस भुजा भएको आकर्षक मूर्ति सुनले नै बनाइएको विश्वास गरिन्छ । साथै भक्तपुर तलेजुको यो नै आधिकारिक मूर्ति भएको मानिन्छ । जुन सिम्रौनगढबाट ल्याइएको थियो ।
लुँ ध्वाकाको तोरणमा तलेजु भवानीले महिषासुर वध गरिरहेको छ । त्यसको दायाँबायाँ गंगाजमुनाको मूर्तिसमेत रहेका छन् । त्यस्तै तोरणमुनिको चौकोशमा महाकाली, गणेश, कुमारसँगै भैरव, भद्रकालीको मूर्ति रहेका छन् । सबैभन्दा तल दायाँबायाँ कलश र कलशमुनि पिवः (द्वारे) को मूर्ति रहेका छन् ।
लुँ ध्वाकाको माथिल्लो भागमा तीनवटा गजुर रहेका छन् । तीन गजुरको माथि फेरि अर्को गजुर बनाइएको छ । त्यससँगै दायाँबायाँ नेपालको झण्डा फहराइएका छन् । झण्डासँगै दायाँबायाँ पछाडिका दुई खुट्टा टेकेर अगाडिको खुट्टा उचालेर उड्न खोजेको आशनमा दुई पखेटा भएका सिंहको मूर्ति रहेका छन् । सिंह सँगसँगै सुँड उचालिरहेको हात्तीको मूति रहेको छ ।
संस्कृतिकर्मी विनोदराज शर्माले लुँ ध्वाका प्रवेशद्वारमात्रै नभई सिंगो मन्दिर रुप भएको बताउँछन् ।
‘मन्दिरमा हुनुपर्ने सम्पूर्ण अंग र विधि विधान लुँ ध्वाकामा रहेको छ’, उनले भने ।
त्यसैले सर्वसाधारणले तलेजुभित्र नगइकनै यसैमा पूजा गर्ने प्रचलन बढेको उनको भनाइ थियो । यसरी पूजा गर्ने क्रममा अधिक मानव स्पर्शका कारण यसमा रहेको भैरव र भद्रकालीको मूर्तिमा परेको प्वाल झन् झन् ठूलो हुँदै आएको छ । जसले लुँ ध्वाका कुरुपसमेत बनेको छ ।

कोरोनाले जीर्णोद्धार प्रभावित

पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लुँ ध्वाका जीर्णोद्धार प्रभावित भएको बताएको छ । कार्यालयका अनुसार लुँ ध्वाका जीर्णोद्धार गर्न चालू आर्थिक वर्षमा विभागले ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न सरकारले लकडाउन घोषण गरेपछि जीर्णोद्धारको काम गर्न नपाइएको कार्यालयकी प्रमुख सरस्वती सिंहले बताइन् ।
‘सरकारले चैत १५ अघि काम सुरु नभएका कुनै योजना अघि नबढाउन निर्देशन दिएपछि लुँ ध्वाका जीर्णोद्धार गर्न पाइएन’, उनले भनिन्, ‘बजेट फिर्ता गएको छ ।’
उनले लुँ ध्वाका जीर्णोद्धार गर्न विज्ञहरुसँग छलफल र बैठक गरेर एउटा टुंगोमा पुग्नुपर्नेमा जोड दिइन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com