Connect with us

SOCIAL

भक्तपुर क्यान्सर अस्पतालभित्रै कोरोना संक्रमण

Avatar

Published

on

भक्तपुर नपा १ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल ।

भक्तपुर । भक्तपुरमा पछिल्लो कोरोना भाइरस संक्रमण पुष्टि भएकी ३५ वर्षीया महिला भक्तपुर क्यान्सर अस्पतालकी सफाइ कर्मचारी रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार काभ्रे घर भएकी उनलाई अस्पतालमै संक्रमण भएको हो । अस्पतालमा शल्यक्रियाको लागि भर्ना भएकी काभ्रेकै १४ वर्षीया बालिकामा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती बालिकामा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधामार ती सफाइ कर्मचारीको पनि पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण भएको थियो । सोही परीक्षणको मंगलबार आएको रिपोर्ट पोजिटिभ भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार उनीसँगै स्वाब पठाइएका अन्य ४२ जनाको रिपोर्ट भने आएको छैन । अस्पतालका पाँच चिकित्सक, १२ नर्स तथा कर्मचारी, ती बालिका रहेको वार्डका १३ जना बिरामी र १३ जना नै बिरामी कुरुवाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि उनीहरु सबैलाई अस्पतालमै आइसोलेसन गरेर राखिएको थियो ।
मंगलबार संक्रमण पुष्टि भएकी महिलालाई उपचारको लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएको छ ।
यससँगै भक्तपुरमा संक्रमितको संख्या २६ पुगेको छ । सोमबारमात्रै कुवेतबाट फर्किएका चाँगुनारायण नगरपालिका ४ चाँगुनारायण निवासी ३० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
कुवेतबाट फर्किएपछि मध्यपुर थिमिको एक होटलमा सेल्फ क्वारेन्टाइनमा बसेका उनलाई उपचारको लागि पाटन अस्पतालको आइसोलेसनमा लगिएको प्रमुख मिजारले जानकारी दिए ।
भक्तपुरका संक्रमितमध्ये आठजना कोरोना जितेर घर फर्किसकेका छन् । भक्तपुर जनिएर संक्रमण पुष्टि गरिएका चितवन निवासी एकजना पुरुषले ज्यान गुमाएका छन् । १७ जना उपचारको लागि आइसोलेसनमा छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com