Connect with us

SOCIAL

भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गर्न ल्याएकी बालिकामा कोरोना संक्रमण

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रियाको लागि भर्ना भएकी १४ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको वीर अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएकी उनको भक्तपुर क्यान्सर अस्पतालले परीक्षण गर्दा पोजिटिभ आएको हो ।
भक्तपुर क्यान्सर अस्पतालका अनुसार गएको जेठ २७ गते वीरमा उनको स्वाब संकलन भएको थियो । पीसीआर परीक्षणको लागि लिइएको उक्त स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
सिन्धुपाल्चोक घर भई हाल मध्यपुर थिमि नगरपालिकामा डेरा गरी बस्ने ती बालिकामा ब्रेन ट्युमर भएको थियो । ब्रेन ट्युमरको शल्यक्रिया गर्न सुरुमा उनलाई वीर लगिएको थियो तर वीरमा खर्च बढ्ने देखिएपछि उनलाई भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा उनलाई भक्तपुर ल्याइएन । घरपरिवारसँगै रहेकी उनलाई असार ११ गते मंगलबार भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो । अस्पतालले पनि भर्ना लियो । उनलाई अस्पतालको एनेक्स भवनको न्यूरो वार्डमा राखियो ।
अस्पतालका चिकित्सकले शल्यक्रिया गर्न उनको पुनः कोरोना भाइरस परीक्षण गर्न भने । उनका अभिभावकले वीरमा जँचाएकै रिपोर्ट देखाए तर स्वाब लिएको १५ दिन नाघिसकेको थियो ।
‘कोरोना भाइरसको इन्कुबेसन पिरियड १४ दिन मानिन्छ’, ती चिकित्सकले भने, ‘त्यसैले पुनः कोरोना परीक्षण गर्न सुझाएको थिएँ । परिणाम पनि पोजिटिभ नै आयो । धन्न शल्यक्रिया गरेनौं ।’
भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीले मंगलबार नै ती बालिकाको स्वाब संकलन गरेको थियो । उनको स्वाब पाटन अस्पताल पठाइएको ती चिकित्सकले जानकारी दिए । जसको रिपोर्ट शनिबार रातिमात्रै आएको अस्पतालले जनाएको छ । उक्त रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नै ती बालिकालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनले भक्तपुर क्यान्सर अस्पतालको ती बालिका रहेको वार्डसँगै अस्पताललाई निसंक्रमण गर्ने कार्य भइरहेको बताए ।

५ चिकित्सकसहित ४३ जना आइसोलेसनमा

उनका अनुसार संक्रमित बालिकाको कन्ट्याक्ट ट्रेसिङ भएका ४३ जनालाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । अस्पतालका पाँच चिकित्सक, १२ नर्स र ती बालिका रहेको वार्डका १३ जना बिरामी र १३ जना नै बिरामी कुरुवालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।
उनीहरुको कोरोना संक्रमण परीक्षणको लागि स्वाबसमेत संकलन गरिएको छ ।
भक्तपुरमा शनिबारमात्रै चार वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको थियो ।
मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्दै आएकी ती बालिकाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले गरेको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।
उनलाई पेट दुखेर उपचारका लागि केएमसी लगिएको थियो । बालिकामा एपेन्डिसाइटिस भएको अस्पतालले जनाएको छ । त्यसैले शल्यक्रियाको लागि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
उनलाई पनि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।
ती बालिकाको कुनै यात्रा विवरण छैन । संक्रमित बालिकाको घर र उनी बस्ने टोलमा सिल गरिएको उनले बताए ।

भक्तपुरमा संक्रमितको संख्या २४

यससँगै भक्तपुरमा संक्रमितको संख्या २४ पुगेको छ । यो संख्या स्वास्थ्य मन्त्रालयले भक्तपुर जनाएर सार्वजनिक गरेको हो । भक्तपुरका स्थानीय भने पाँच जनामात्रै रहेका छन् । जसमध्ये ९ जना कुवेतबाट फर्किएका, ४ जना यूएईबाट फर्किएका र बाँकी ६ जना जिल्ला बाहिरका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com