Connect with us

SOCIAL

दुर्घटनामा मोटरसाइकल चालक र स्कुटी पछाडि बस्नेको मृत्यु

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुरमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नपा १० कमलविनायक भत्क्यापाटी र मध्यपुर थिमि नपा ९ बोडेमा भएका दुई सवारी दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
चाँगुनारायण नपा ७ खरिपाटीबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प १४५५ नम्बरको मोटरसाइकल आइतबार साँझ भक्तपुर नपा १० कमलविनायक भत्क्यापाटीमा आफै अनियन्त्रित भई नालीमा खस्न जाँदा चालक १७ वर्षीय रञ्जित माहाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर नपा १० कमलविनायक निवासी माहाजुलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सम्बन्धित चिकित्सकले घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना भएको मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको छ ।
त्यस्तै मध्यपुर थिमि नपा ९ बोडेमा बा ५ ख ४३११ नम्बरको पानी ट्याङ्कर र बा ९२ प ७०७७ नम्बरको स्कुटी एकाफसमा ठोक्किँदा स्कुटी पछाडि सवार काठमाडौंको कागेश्वरी बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
उनका अनुसार सुरुमा ठक्करबाट गम्भीर घाइते कार्कीलाई तत्काल मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएकोमा त्यहीं उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार दुवै सवारीसाधन र ट्याङ्कर चालक रामेछापको मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षीय राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको छ । दुइटै घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com