Connect with us

SOCIAL

भैरवनाथको रथ निर्माण धमाधम

Avatar

Published

on

बिस्का जात्राको लागि भैरवनाथको रथ बनाउँदै सिकर्मी । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथको रथ निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिका ५ टौमढीस्थित भैरवनाथ तथा पाँचतले मन्दिर परिसरमा चारजना सिकर्मीहरु भैरवनाथको रथ निर्माणमा जुटिरहेका हुन् ।
अघिल्ला वर्षहरुमा फागुनको अन्तिमतिर भैरवनाथको रथ निर्माण सुरु गरिन्थ्यो तर यस वर्ष फागुनको पहिलो सातादेखि नै रथ निर्माण काम अघि बढेको छ । रथ निर्माणको ठेक्का अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि सिकर्मी प्रेमलाल शिल्पकारले पाएका छन् । गत वर्ष ठेकेदार शिल्पकारले सिकर्मी अभाव झेलेका थिए । जसले गर्दा गत वर्ष बनाउन नपाएको रथको नयाँ पांग्रा यस वर्ष बन्ने भएको छ । अहिले ठेकेदार शिल्पकारसहित चारजना सिकर्मीहरु नयाँ पांग्राको काम गरिरहेका छन् ।
सिकर्मीसँगै समय अभावले गर्दा अघिल्ला वर्षहरुमा हतारमा रथ निर्माण गरिन्थ्यो । हतारमा रथ निर्माण गरिँदा रथ चाँडै बिग्रने समस्या थियो । त्यसैले यस वर्ष बढी समय लगाएर बलियो एवं टिकाउ रथ निर्माण गर्न लागिएको सिकर्मीहरु बताउँछन् ।
उनीहरुले रामो र काठको मुंग्रो लिएर सालको काठमा धमाधम खोपिरहेका छन् । जसले गर्दा टौमढी क्षेत्रमा एकोहोरो ट्वाक, ट्वाक आवाज गुञ्जायमान भइरहेको छ ।


बिस्का जात्रा आठ दिन नौ रात मनाइन्छ । यस वर्ष आउँदो चैत २७ गतेदेखि बिस्का जात्रा सुरु हुँदैछ । जात्राको मुख्य आकर्षण काठैकाठले बनेको तीन तले अजंगको भैरवनाथको रथ तान्नु हो ।
यो रथलाई काष्ठकलाको उत्कृष्ट नमुना मानिन्छ । बडेमानका चार पांग्रामाथि बन्ने रथलाई अगाडि र पछाडि गरी आठ वटा मोटा डोरीले तानेर रथलाई जात्राअनुसार गन्तव्यमा पु-याउनु बिस्का जात्राको प्रमुख आकर्षण हो ।
भैरवनाथको रथ जीर्ण बन्दै आएको छ । पुरानो पांग्रा नबनाई भएको छैन । रथको छानामा राखिने पाताहरु पनि नयाँ बनाउनुपर्ने अवस्थामा रहेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य बताउँछन् ।
‘यस वर्ष रथका बुट्टेदार टुँडाल, झ्यालका चौकोसहरुसमेत नयाँ बनाउनुपर्ने छ’, उनले भने, ‘बेतसिं (बेताल देवता विराजमान हुने घुमाउरो काठ) र काँसी (बेतसिंलाई दुईतिरबाट च्याप्ने काठ) पनि नयाँ बनाउनुपर्ने भएकाले चाँडै रथ निर्माण सुरु गरिएको हो ।’
उनले रथलाई आवश्यक सम्पूर्ण काठको जोहो भइसकेको छ । त्यसैले फटाफट काम भए महिनादिनमै रथ निर्माण हुने उनले दावी गरे ।
‘भक्तपुर नपाले चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्दैछ’, प्रमुख कर्माचार्यले भने, ‘हाम्रो लक्ष्य महोत्सवको लागि भैरवनाथको रथ तयार गर्ने हो ।’


लक्ष्य पूरा भए भैरवनाथको रथ भक्तपुर महोत्सवको प्रमुख आकर्षण हुने उनको भनाइ थियो । त्यसैले भैरवनाथको रथ निर्माणबारे भक्तपुर नपासँग पनि समन्वय गर्ने भक्तपुर गुठी प्रमुख कर्माचार्यले सुनाए ।
उनले यस वर्षको बिस्का जात्रा सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । बिस्का जात्रामा सबैभन्दा बढी रथ बनाउन नै बढी खर्च हुने गर्दै आएको छ । जसअनुुसार यस वर्ष करिब २५ लाख रुपैयाँ भैरवनाथ र भद्रकालीको रथ निर्माण गर्न खर्च हुने अनुमान गरिएको प्रमुख कर्माचार्यले जानकारी दिए ।
भैरवनाथको बलियो रथ दक्ष सिकर्मीहरुले मात्रै बनाउन सकिने विश्वास गरिन्छ । प्राचीन समयमा रथ बनाउँदा एउटा किलासमेत प्रयोग नहुने बताइन्छ । काठकै चुकुलले रथलाई मजबुत बनाइन्छ । जसले गर्दा दुईतिर सयौं जात्रालुले तानातान गरे पनि रथमा कुनै क्षति पुग्दैन ।
तर आजभोलि जबरजस्ती रथ तान्ने गर्दा रथ तानेको भोलिपल्टै बिग्रन थालेको छ । रथ बिग्रन नदिन फलामका पाता, किला, पेचकसलगायतको प्रयोग गरिँदा पनि रथ एकदिनभन्दा बढी सग्लो नदेखिने सिकर्मीहरु बताउँछन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com