Connect with us

SOCIAL

भक्तपुर-काठमाडौं ६ लेन सडककै चल्दैन सीसीटीभी क्यामेरा

Avatar

Published

on

Web Picture

भक्तपुर । भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरा महिना दिनदेखि चलेका छैनन् । अरनिको र बीपी राजमार्ग भई आउने सम्पूर्णजसो सवारीसाधन यहीं बाटो भएर राजधानी छिर्छन् तर उक्त सडकको महत्वपूर्ण चोक तथा स्थानका सीसीटीभी क्यामेरा मर्मत हुन सकेको छैन ।
ती सीसीटीभी क्यामेरा मर्मत नहुँदा सडक सुरक्षा तथा सडक दुर्घटना हुँदा अनुसन्धान कार्य प्रभावित हुँदै आएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले मध्यपुर थिमि नपा क्षेत्रअन्तर्गत पर्ने भक्तपुर–काठमाडौं ६ लेन सडकका मुख्य पाँच ठाउँका सीसीटीभी क्यामेराले काम नगरेको बताए ।
उनका अनुसार राधे राधे, नयाँ ठिमी–शंखधर चोक, गट्ठाघर, कौशलटार र लोकन्थलीका सीसी टीभी क्यामेरा चलेका छैनन् ।
उक्त सडकको एसएस चोक र चार दोबाटोमा जडान भएका सीसीटीभी क्यामेरामात्रै चलेको प्रहरी नायब उपरीक्षक कोइराला बताउँछन् ।
‘सडक दुर्घटनाका दृष्टिले राधेराधे, शंखधर चोक, गट्ठाघर, कौशलटार र लोकन्थली पाँचै ठाउँ संवेदनशील एवं दुर्घटना भइरहने स्थान हुन्’, उनले भने, ‘तर यहींका सीसीटीभी क्यामेरा नचल्दा भएका दुर्घटनाको अनुसन्धान प्रभावित हुँदै आएको छ ।’
मध्यपुर थिमि नगरपालिका, स्थानीय उद्योगी व्यवसायीको सहयोगमा वृत्तले जडान गरेका यी सीसीटीभी क्यामेरा नचलेकाले ठिमी प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट जडित सीसीटीभी क्यामेराको फुटेजको आधारमा अपराध अनुसन्धान गर्दै आएको छ । तर रानीपोखरीबाट सीसीटीभी क्यामेराको फुटेज पाउने प्रक्रिया लामो हुने हुँदा अपराध अनुसन्धान प्रभावित हुने गर्दै आएको वृत्तका अनुसन्धान अधिकारीहरु बताउँछन् ।
‘वृत्तबाट जडित सीसीटीभी क्यामेरा काठमाडौंतर्फ फर्काइएका छन् भने रानीपोखरीबाट जडित भक्तपुरतर्फ फकाईएका छन्’, ती अनुसन्धान अधिकारीले भने, ‘त्यसैले कति दुर्घटनाका दृश्य रानीपोखरीका सीसीटीभीबाट कभर हुँदैन । त्यसमाथि रानीपोखरीबाट सीसीटीभीको फुटेज पाउने प्रक्रिया लामो हुँदा अनुसन्धान प्रभावित हुँदै आएको छ ।’
भक्तपुर–काठमाडौं ६ लेन सडकमा जडान भएकामात्रै होइन भक्तपुर सल्लाघारी हुँदै काठमाडौंको पेप्सीकोला जोड्ने पुरानो बाटोका ठाउँ ठाउँमा जडान भएका सीसीटीभी क्यामेरासमेत मर्मत हुन नसकेको वृत्तले जनाएको छ । वृत्तका अनुसार मध्यपुर थिमि नगर क्षेत्रमा जडान भएका २८ वटा सीसीटीभी क्यामेरामध्ये १२ वटामात्रै चालू अवस्थामा रहेको छ । सबै सीसीटीभी क्यामेराको कन्ट्रोल रुम वृत्तमा रहेको छ । मध्यपुर नगर क्षेत्रमा हुने आपराधिक घटना तथा सडक दुर्घटना नियन्त्रण एवं न्यूनीकरण गर्न तथा घटना हुनेबित्तिकै प्रहरी परिचालन गर्न सहज हुने गरी जडित सीसीटीभी क्यामेरा मर्मत नहुँदा ठिमी प्रहरी अहिले दृष्टिविहीनजस्तै भएको वृत्तको भनाइ छ ।
कति चलेका सीसीटीभी क्यामेराको दृश्य स्पष्ट नभएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक कोइरालाले बताए । उनले मध्यपुर थिमि क्षेत्रमा जडान भएर बिग्रेका सीसीटीभीको मर्मतसँगै थप २६ स्थानमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्नेबारे नगरपालिकाको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
‘मध्यपुर थिमि नपाका प्रतिनिधि एवं प्राविधिकसहितको टोलीले सीसीटीभी जडान गर्नुपर्ने नयाँ २६ स्थानको पहिचान गरिसकेको छ’, प्रहरी नायब उपरीक्षक कोइरालाले थपे, ‘यसको लागि करिब ३० लाख रुपैयाँ लाग्ने इस्टिमेट निकालिएको छ ।’
मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रहरी समुदाय साझेदारीअन्तर्गत नगरभर कम्तीमा ५० वटा सीसीटीभी जडान गरिने बताए । यसको लागि ठाउँको पहिचान भइसकेकाले आउँदो बिस्का जात्रासम्ममा ती सीसीटीभी क्यामेरा जडान भइसक्ने उनको भनाइ थियो ।
‘पहिले जडान भएका सीसीटीभी क्यामेराको मर्मतलाई पनि निरन्तरता दिँदै आएका छौं’, नगर प्रमुख श्रेष्ठले भने ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com