Connect with us

HEALTH

‘सञ्चारकर्मीहरुको प्रश्नले तनाव भइसक्यो’

Avatar

Published

on

खरिपाटीस्थित क्वारेन्टाइनतर्फ हेरेर आफ्नो गन्तव्यतर्फ जाँदै एक स्थानीय । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीका स्थानीयले दुनियाँथरिका सञ्चारकर्मीहरुले गर्ने प्रश्नले आफूहरुलाई घरमा बस्नै गा-हो भइसकेको गुनासो गरेका छन् । सञ्चारकर्मीहरुको प्रश्नले आफूहरुलाई तनाव भइसकेको सुनाउँदै उनीहरुले भने, ‘सञ्चारकर्मीहरुको प्रश्नले हामीलाई तनाव भइसक्यो । अब तपाईंहरुलाई गाली गर्ने बेला आएको छ । एकदम धेरै भइसक्यो । सहनुको पनि सीमा हुन्छ नि ?’
यहाँका स्थानीय अहिले सञ्चारकर्मीहरुदेखि आक्रोशित हुन थालेका छन् । अब त सञ्चारकर्मीहरुले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन् । युट्युब र अनलाइनका पत्रकारहरुले आफूहरुलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरुको गुनासो थियो ।
‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखेको छ, के तपाईहरुलाई पनि संक्रमण हुन्छ कि ?’, ती महिलाले भने, ‘यस्तो नि प्रश्न हुन्छ ? वाहियात प्रश्न ?’
घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाई सरे भन्दा आफूहरुलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे ।
उनले आफ्नो घरपरिवारका कुनै पनि सदस्यले घर नछोडेको जानकारी दिए ।
‘दिउँसो घरमा ताल्चा लाग्दैमा घर छाडेर भागेको हुन्छ ?’, उनले प्रतिप्रश्न गरे, ‘दिउँसो हामी काम परेर कतै जान हुँदैन ? खेतबारी पनि जान नपाउने, भोजमा जान नपाउने ?’
सरकारले कोरोना भाइरस संक्रमण नभएको ल्याएको र चीनबाट पनि स्वस्थ मान्छेमात्रै पठाएको देखिसकेपछि संक्रमण हुन्छ भनी डराउनुपर्ने कुनै कारण नभएको महाजू बताउँछन् ।
उनले सञ्चारमाध्यममा आए जस्तो खरिपाटीका सयौं घरपरिवारले घर नछाडेको स्पष्ट पारे ।
त्यस्तै एक अर्की स्थानीय महिलाले आफूहरु मरे पनि खरिपाटीमै मर्ने तर घर नछाड्ने सुनाइन् । २०७२ सालको भूकम्पमा समेत घर नछाडेका आफूलाई अहिले स्वस्थ मान्छे ल्याएको बेला घर छाड्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

११ घरकाले छाडे खरिपाटी

स्थानीयका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको उत्तर र पूर्वी दिशामा रहेका ११ घरका स्थानीयले घर छाडेका छन् । यसरी घर छाड्नेमध्ये कोही विदेशमा रहेका आफ्ना छोराछोरी भेट्न गएका छन् । कोही तराईमा रहेका आफन्तको घरमा गएको स्थानीय महाजूले सुनाए । त्यस्तै कोही आफ्नो पुख्र्यौली घर र कोही भक्तपुरकै अन्य क्षेत्रमा रहेका आफन्तका घरमा गएको स्थानीय बताउँछन् ।

प्रजिअ आफै सर्वसाधारणलाई माक्स बाँड्दै


प्रहरीका अनुसार तालिम केन्द्र वरिपरि करिब चार सय घरपरिवार बसोबास गर्छन् । स्थानीयमा त्रास नफैलियोस् भनेर जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरले घरघर पुगेर परामर्शसँगै स्वास्थ्य सुरक्षाको लागि सर्वसाधारणलाई माक्स वितरण गर्दै आएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानलगायतका सुरक्षा प्रमुखले नै सर्वसाधारणको घरघर गएर परामर्श गर्दै र माक्स बाँड्दै स्थानीयको स्वास्थ्य अवस्था बुझिरहेका छन् ।
उक्त अवसरमा प्रजिअ पाण्डेले डराउनुपर्ने अवस्था नभएको र स्वास्थ्य सचेतता अपनाउन सर्वसाधारणहरुलाई आग्रह गरेकी छन् । कथं केही समस्या भए प्रहरी प्रशासनलाई तत्काल जानकारी दिनसमेत उनले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।
सञ्चारमाध्यममा आएजस्तो खरिपाटी क्षेत्रमा त्रासको वातावरण देखिँदैन । सर्वसाधारण आफ्नो दैनिकीमै व्यस्त छन् । सर्वसाधारणहरु तालिम केन्द्रस्थित क्वारेन्टाइनको वरपर नै हिँड्डुल गर्दै आफ्नो गन्तव्यमा पुग्दै आएका छन् ।
मजदुरहरु आआफ्नो काममै व्यस्त देखिन्छन् । तालिम केन्द्रको पर्खालै छेउमा निर्माण मजदुरहरु एक हप्तादेखि नयाँ घर निर्माणको कार्य गरिरहेका छन् । त्यस्तै क्वारेन्टाइन गरिएको भवनकै मुनि जग्गा प्लटिङ धमाधम भइरहेको छ ।
खरिपाटीस्थित तालिम केन्द्रमा चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका एकसय ७५ जना विद्यार्थीलगायतलाई क्वारेन्टाइन गरिएको छ । उनीहरु स्वस्थ रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सकहरुले बताइसकेका छन् । अस्पतालका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँचपछि प्रयोगशाला परीक्षणको लागि उनीहरुको खकार, -याल, पसिना लगायतको नमुना संकलन गरेर लगेका छन् । उक्त जाँचको रिपोर्ट तीनचार दिनमा आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
उनका अनुसार यसबाहेक क्वारेनटाइनमा रहेको स्वास्थ्य टोलीले उनीहरुको निगरानी राखेको छ । त्यस्तै चीनबाट उद्धार गरिएकाहरुको दैनिक दुईपटक शरीरको तापक्रम जाँच गरेर लगफर्ममा भर्ने कार्य हुँदै आएको छ । सोमबारसम्म कुनै पनि व्यक्ति अस्वस्थ नदेखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com