Connect with us

SOCIAL

गोदामबाट इलेक्ट्रोनिक्स सामान चोरी

Avatar

Published

on

कम्पनीको गोदामबाट टीभीसहितका इलेक्ट्रोनिक्स सामान चोरीमा संलग्न अभियुक्तहरु । तस्बिर : इन डेप्थ

चार मजदुर र दुई सुरक्षा गार्डसहित आठ पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले आफूले काम गर्ने पसलको गोदामबाट ६० थान टेलिभिजनसहित विभिन्न इलेक्ट्रोनिक्स सामानहरु चोरी गर्ने चार मजदुर र दुई सुरक्षा गार्डसहित आठ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका अनुसार उनीहरुले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ बालकुमारीस्थित मिलिनिया ग्लोबल प्रालिको गोदामबाट ती इलेक्ट्रोनिक्स सामानहरुको चोरी गरेका थिए ।
वृत्तले चोरी कार्यमा संलग्नलाई बुधबार सार्वजनिक गरेको हो । जसअनुसार प्रालिका कामदारहरुमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ बस्ने २० वर्षीय सुरज बस्नेत र २० वर्षीय कैलाश कार्की, दोलखाको बिगु गाउँपालिका ४ का १९ वर्षीय सागर विश्वकर्मा (लामिछाने) र अर्का एक १७ वर्षीय युवक रहेका छन् ।
त्यस्तै गोदामका सुरक्षा गार्डद्वय भक्तपुरको सूर्यविनायक नगरपालिका ७ बस्ने ६३ वर्षीय शम्भु खड्का र सोही नपाको ४ वडा बस्ने ५४ वर्षीय शम्भु केसीलाई चोरी आरोपमा प्रहरीले सार्वजनिक गरेको छ ।
चोरी गर्न उनीहरुलाई सहयोग गर्ने रामेछाप मन्थली नगरपालिका २ बस्ने २२ वर्षीय प्रमोद अधिकारी र ओखलढुङ्गाको लिखु गाउँपालिका ९ बस्ने २२ वर्षीय शंकर खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले मिलिनिया ग्लोबल प्रालि आफ्नो गोदामबाट विभिन्न कम्पनीका ६० थान टेलिभिजनलगायतका इलेक्ट्रोनिक्सका सामानहरु हराएको भनी वृत्तमा उजुरी दिएपछि अनुसन्धानको क्रममा गएको माघ १५ गते चार जना मजदुरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
नियन्त्रणमा लिएका मजदुरहरुको बयानको आधारमा कम्पनीका दुई जना सुरक्षागार्ड र उनीहरुलाई सघाउने अन्य दुईजनालाई पक्राउ गरिएको उनको भनाइ थियो ।
उनका अनुसार उनीहरुले गोदामबाट चोरेर बिक्री वितरण गरेकोमध्ये ३५ थान टीभी, २ थान भ्याकुम क्लिनर, अर्पाट ब्रान्डको हिटर ५ थान, मिक्चर ५ थान र अजन्ता कम्पनीको भित्ते घडी एक थान बरामद गर्न प्रहरी सफल भएको छ ।
पक्राउ परेका आठै जनालाई जिल्ला अदालतमा प्रस्तुत गरी म्याद थप गरिसकिइएको वृत्तले जनाएको छ । वृत्तका अनुसार उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान कार्य अघि बढाइएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com