Connect with us

SOCIAL

प्रहरी अधिकृत जवानको संयुक्त मेस सुरु

Avatar

Published

on

प्रहरी अधिकृत तथा जवानको संयुक्त मेसको उद्घाटन गर्दै महानगरीय प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले देशभर प्रहरी जवानको मेस खान लायक बनाइने बताएका छन् । प्रहरीका उच्च पदस्थ अधिकारीको तुलनामा तल्लो दर्जाका प्रहरी जवानहरुको मेस ‘खान लायक’ नभएको उनको भनाइ थियो ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा स्थापना भएको प्रहरी अधिकृत तथा जवानको संयुक्त मेसको आइतबार सुभारम्भ गर्दै डीआईजी पोखरेलले अब प्रहरी संगठनभित्रका सबै तहले एउटै मेसमा खाना खाने व्यवस्था गरिने बताएका हुन् ।
उनले प्रहरी संगठनभित्रको तीन तहको मेसको व्यवस्था तोडिने जिकिर गरे ।
प्रहरीभित्र दर्जाअनुसारको मेस छ । जुनियर अधिकृत, सिनियर अधिकृत र जवानहरुको छुट्टाछुट्टै मेस रहेका छन् ।
‘हिजो जवानको मेसको स्तर खान लायक थिएन’, उनले भने, ‘वरिष्ठ अधिकृतहरुको मेसको स्तर भने विशिष्ट हुन्थ्यो । अब सबको स्तर बराबरमात्रै होइन मेस नै एउटै हुनेछ ।’
डीआईजी पोखरेलले तल्लो तहका प्रहरी कर्मचारीहरुको मनोबल बढाउन पहिलो चरणमा मेस सुधार अभियान चलाइने स्पष्ट पारे ।
तीन तहको मेस सञ्चालन गर्दै आउँदा प्रहरी संगठनभित्र धेरै कुरामा क्षति गर्दै आएको उनको भनाइ थियो ।
‘पटकपटक मेस सुधारको प्रयास गर्दा पनि सफल हुन सकेन’, डीआईजी पोखरेलले भने, ‘तर अब सबै तहको मेसलाई विलय गराएर स्तरीय एवं सामूहिक मेस बनाउने अभियान अघि बढाएका हौं ।’
सामूहिक मेसले सबै प्रहरी कर्मचारीहरुलाई हामी एक हौं भन्ने भावना जागृत हुने उनले विश्वास व्यक्त गरे ।
‘यसले प्रहरी कर्मचारीहरुको मनोबल बढ्ने र काममा प्रभावकारिता आउने छ’, उनले थपे, ‘यसले प्रहरीहरुबीच अपनत्व बढाउनेछ ।’
उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अभियान दू्रत गतिमा सञ्चालन गरिनेछ । काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरुमा दस दिनभित्र एउटै सामूहिक मेस बनाइसक्ने डीआईजी पोखरेलले जानकारी दिए । यस अभियानलाई क्रमशः देशभर सञ्चालन गरिने उनले सुनाए ।


मेस उद्घाटनपछि डीआईजीले ठिमी वृत्तका जुनियर अधिकृत तथा जवानहरुसँग बसेर सामूहिक भोजन गरेका थिए ।
प्रहरी संगठनभित्र सबै दर्जाको एउटै सामूहिक मेस सञ्चालनले प्रहरीको सेवामा धेरै प्रभाव पर्ने वरिष्ठ प्रहरी अधिकृतहरु बताउँछन् । उनीहरुले सामूहिक मेस सञ्चालनले प्रहरी संगठनभित्र धेरै सकारात्मक परिवर्तन ल्याउने दावी गरे ।
वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले एउटै मेसको व्यवस्थाले जवानहरुले खाने खानाको स्तरमात्रै बढ्ने होइन, उनीहरुको काम गर्ने मनोबलसमेत उच्च हुने दावी गरे ।
त्यस्तै अर्की वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले एउटै मेसको व्यवस्थाले सबै सुरक्षाकर्मीले एउटै स्तरको स्वस्थ र गुणस्तरीय खाना खान पाउने बताइन् ।
‘मेसमात्रै सुध्रिएको छैन । खानाको गुणस्तर पनि बढेको छ’, महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले भने, ‘यसले काम गर्ने मनोबल बढेको छ । काम गर्ने जाँगर र उत्साह बढेको छ ।’
संयुक्त मेसले आफूहरु उत्साहित भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी जवानहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले हिजोको मेस र आजको मेसमै आकाश जमिनको फरक भएको सुनाए ।
हिजो मेसको अवस्थाले आफूहरु अपहेलित महसुस हुने अवस्था रहेकोमा आज एउटै मेसको व्यवस्थाले आफूहरुलाई जिम्मेवारी पूरा गर्न थप हौसला मिलेको उनीहरुको भनाइ थियो ।
वृत्तमा सञ्चालनमा ल्याइएको मेसमा साप्ताहिक खाना तथा खाजाको तालिकासमेत टाँस गरिएको छ । त्यस्तै संयुक्त मेसको १७ बुँदे अनुशासन र प्रहरीलाई चाहिने क्यालरीको सूची जारी गरिएको छ । प्रहरीको मेसमा पाइने ४७ थरिका खानेकुराको मूल्यसूचीको समेत व्यवस्था गरिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com