Connect with us

SOCIAL

शाली नदीमा शनिबार पुगे चार लाख भक्तजन (भिडियो तथा फोटो फिचरसहित)

Avatar

Published

on

काठमाडौंको साँखुस्थित शाली नदीमा मेला भर्न शनिबार पुगेका भक्तजन । तस्बिरहरु तथा भिडियो : ईश्वरकाजी खाइजू

साँखु (काठमाडौं) । एक महिने माधवनारायण एवं श्री स्वस्थानी व्रत सञ्चालन भइरहेको काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित शाली नदीमा मेला भर्न शनिबार अहिलेसम्मकै सर्वाधिक भक्तजन पुगेका छन् ।
माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले शनिबार शाली नदीमा मेला भर्न अहिलेसम्मकै सर्वाधिक करिब चार लाख भक्तजन पुगेको जनाएको हो ।
समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले व्रत सकिने दिन नजिकिएसँगै शाली नदी पुग्ने भक्तजनहरुको संख्या दिनानुदिन बढिरहेको बताए । यहीं माग २६ गते एक महिने कठिन माधवनारायण एवं श्रीस्वस्थानी व्रत सकिँदैछ । माघ २५ गते पर्ने अर्को शनिबार पनि यहीं संख्यामा भक्तजन पुग्ने अनुमान गरिएको वरिष्ठ उपाध्यक्ष सिंहले बताउँछन् ।

Posted by ईश्वरकाजी खाइजू on Sunday, February 2, 2020

‘शनिबार अहिलेसम्मबै सर्वाधिक करिब चार लाख भक्तजनले शाली नदीमा मेला भरेको अनुमान गरेका छौं’, उनले भने, ‘शनिबार लाइनमा बसेको करिब चार घन्टापछि मात्रै भक्तजनले माधवनारायणको दर्शन तथा पूजा गर्न पाएका थिए ।’
शनिबार साँखु बजारदेखि नै भक्तजनहरुको भीड लागेको थियो । जसले भक्तजनलाई साँखुबजारबाट शाली नदी पुग्न करिब दुईघन्टा लागेको थियो । शाली नदी प्रवेशद्वार छिचोल्न भक्तजनलाई हम्मेहम्मे परेको थियो । भक्तजनलाई पाइला टेक्ने ठाउँ थिएन । जहाँदेखि स्नान गर्ने शाली नदीस्थित कुण्ड पुग्नै आधाघन्टा बढी लागेको भक्तजनहरु बताउँछन् । साँखुबजारदेखि शाली नदीसम्म भक्तजनको ठेलमठेल थियो ।
स्नान गर्ने ठाउँमा भीड भएपछि भक्तजनहरुले शाली नदीको पानीले मुखमात्रै धोएर माधवनारायण तथा श्रीस्वस्थानी माताको दर्शन गरेको उनीहरुको भनाइ थियो । माधवनारायणको दर्शन तथा पूजाआजा गर्न बसेको भक्तजनको लाइन श्रीस्वस्थानी माताको मन्दिरसम्म पुगेको थियो ।

Posted by ईश्वरकाजी खाइजू on Sunday, February 2, 2020

शाली नदीबाट नवराजको मूर्ति हुँदै चन्द्रवती तथा गोमाको कुटी पुग्ने बाटोमा समेत भक्तजनहरुको ठेलमठेल थियो । उक्त बाटोका दायाँबायाँ भएका पसलमा सरसामान किन्ने भक्तजनहरुको भीडले पनि उक्त बाटो छिचोल्न धेरै समय लाग्ने गरेको भक्तजनहरु बताउँछन् ।
समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले अरु दिनभन्दा शनिबार र बिदाका दिनमा शाली नदी पुग्नेहरुको संख्या बढ्ने गरेको जानकारी दिए ।
गत वर्ष नबनेको काठमाडौं चाबहिल जोरपाटी साँखु सडक यस वर्ष लगभग बनिसकेकाले यस वर्ष बढी भक्तजन शाली नदी पुगेको उनको भनाइ थियो । त्यस्तै भक्तपुरको चाँगुनारायण, तेलकोट र नगरकोट, सिन्धुपाल्चोकको भोटेचौरबाट पनि शाली नदी पुग्न सहज भएको छ । उनले यस वर्ष करिब चालीस लाख भक्तजन शाली नदी पुग्ने अनुमान गरे ।
त्यस्तै शाली नदी पुगेकाहरु काठमाडौंकै बज्रयोगिनी, नाङ्लेभारे, कात्तिके, सिन्धुपाल्चोकको भोटेचौर र भक्तपुरको नगरकोट, तेलकोट र चाँगुनारायणसम्म पुग्न सक्छन् ।

दुई सय १५ व्रतालु

यस वर्ष दुई सय १५ जनाले शाली नदीमा माधवनारायणको कठिन एकमहिने व्रत बसेका छन् । जसमा १४ जना पुरुष रहेको समितिका वरिष्ठ उपाध्यक्ष सिंहले बताए ।
स्वस्थानी व्रत कथाअनुसार शाली नदी क्षेत्र ऐतिहासिक एवं पौराणिक स्थान हो । त्यसैले व्रत अवधिभर लाखौं भक्तजन शाली नदी पुग्ने गरेका छन् । यहाँ पुग्ने भक्तजनले शाली नदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ । त्यस्तै व्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता रहेको छ । त्यसैले यहाँ विगतमा राज्य प्रमुखसमेत पुगेर व्रतालुलाई गच्छेअनुसार दान दिने गरेका थिए ।
माधवनारायण एवं स्वस्थानी माताको व्रत बस्दा व्रतालुले प्रत्येक दिन शाली नदीमा स्नान गर्नुपर्छ । त्यसैले व्रतालुलाई स्नान गर्न सहज हुने गरी शाली नदीमा पक्की बाँध बाँधेर कुण्ड बनाइएको छ ।
गत वर्षसम्म व्रतालुलाई स्नान गर्न शाली नदीमा बालुवा भरिएको बोराले पानी छेक्दै आएको थियो तर यस वर्ष भने पक्की बाँध निर्माण गरिएको छ । नदीको दुई किनारबाट पानी जाने गरी पक्की बाँध निर्माणसँगै स्नान गर्ने ठाउँ व्यवस्थित भएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com